काठमाडौँ। विशेष महाधिवेशनको माग गरी ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेको समूहले नेपाली कांग्रेसका नेता शेखर कोइरालासँग भेटवार्ता गरेको छ। पार्टी केन्द्रीय समितिको बैठकमा बहस चलिरहेका सन्दर्भमा सोमबार नेता कोइरालासँग भेट गरी चार वर्षे कार्यकालभित्रै १५औँ महाधिवेशन वा विकल्पमा विशेष महाधिवेशनको कार्यतालिका ल्याउन माग गरिएको नेता गुरुराज घिमिरेले जानकारी दिए।
भेटघाटका क्रममा नियमित वा विशेष महाधिवेशनबाट समयसापेक्ष नीति तर्जुमासहित केन्द्रीय समितिको निर्वाचन अहिलेको एक मात्र बाटो रहेको नेता कोइरालाले बताएका थिए। नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने कोइरालाले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए।
नियमित महाधिवेशन नहुने अवस्थामा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले पार्टीको विधानबमोजिम हस्ताक्षर बुझाउँदा पनि विधान पालना नभए आत्मघाती हुनसक्नेतर्फ पनि नेता कोइरालाको ध्यानाकर्षण गराइएको उनले बताए।