काठमाडौँ। नेपाली कांग्रेसको महाधिवेशनका लागि क्रियाशील सदस्यताका लागि १९ जिल्लाबाट मात्र नवीकरण पूरा भएको छ।
महामन्त्री गगनकुमार थापाले मंगलबार केन्द्रीय कार्यसमितिमा पेस गरेको विवरणअनुसार १९ जिल्लामा एक लाख ६३ हजार ८०८ क्रियाशील सदस्यमध्ये १ लाख १८ हजार ७९४ सदस्यता नवीकरण भई केन्द्रीय कार्यालयमा इमेलमार्फत विवरण प्राप्त भएको हो।
महामन्त्री थापाले हालसम्म ६२ जिल्लामा वडा तहबाट नवीकरण सिफारिस भई तहगत प्रक्रिया पूरा गरी विवरण पठाउने क्रममा रहेको पनि जानकारी दिए। महामन्त्री थापाले २७ जिल्लाका केही वडाबाहेक तहगत नवीकरण भई एक लाख ९० हजार ४६० सदस्यता केन्द्रमा बुझाउने क्रममा रहेको पनि जनाए।
“अर्थात् ४६ जिल्लाबाट तीन लाख नौ हजार २५४ सदस्यता नवीकरणको विवरण प्राप्त भएको छ र सिस्टममा इन्ट्री गर्न बाँकी छ। १६ जिल्लामा (केही वडाबाहेक) वडामा नवीकरण भई तहगत प्रक्रियामार्फत जिल्लामा संकलन हुने क्रममा छ‚” महामन्त्री थापाले विवरण पेस गर्दै भने।
केन्द्रीय समितिमा पेस गरिएको विवरणअनुसार पर्सा, काभ्रे, मकवानपुर, कास्की, बाँके, बर्दिया र कञ्चनपुर गरी ६ जिल्लामा आन्दोलन र आगजनीका कारण क्रियाशील सदस्यता नवीकरणमा ढिलाइ भएको छ।
‘कैलाली (क्षेत्र नं. १,२ र ४), रुपन्देही (क्षेत्र नं. ४) मुस्ताङ, बारा (१ र २), सिरहा (क्षेत्र ३), सप्तरी, धनुषा (क्षेत्र नं. ३ र ४), कञ्चनपुर (क्षेत्र ३), सिन्धुपाल्चोक, नुवाकोट, बाँके (क्षेत्र ३), सुर्खेत (क्षेत्र २), डडेल्धुरा, खोटाङ (सभापति रिक्त भएको कारण) सर्लाही (सभापति रिक्त भएका कारण) लगायत केही जिल्लामा विभिन्न कारणले नवीकरणमा समस्या उत्पन्न भएको छ‚” उनले भने‚ “६७४३ वडामध्ये विभिन्न कारणले नवीकरण बाँकी रहेका मात्र २६८ वडामध्ये हाल २२७ वटा वडामा नवीकरणको प्रक्रियामा छ। तीनवटा निर्वाचन क्षेत्र (बारा १ र २, रुपन्देही ४ मर्चवारी गाउँपालिका ४ सहित) लगायत ४१ वटा वडामा नवीकरण सुरु हुन सकेको छैन।’