काठमाडौँ। राजधानीको ऐतिहासिक तथा सार्वजनिक क्षेत्र टुँडिखेलमा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले दुबो रोप्ने काम तीव्र रूपमा अघि बढेको छ। ‘टुँडिखेल हरियाली कार्यक्रम’ अन्तर्गत सञ्चालन भइरहेको अभियानमार्फत टुँडिखेललाई थप हराभरा, आकर्षक तथा वातावरणमैत्री बनाउने प्रयास गरिएको हो।
काठमाडौं महानगरपालिका तथा सम्बन्धित निकायको समन्वयमा सञ्चालन भइरहेको कार्यक्रमअन्तर्गत टुँडिखेलमा दुबो रोप्ने, हरियाली संरक्षण गर्ने तथा खुला क्षेत्रको सौन्दर्य अभिवृद्धि गर्ने काम भइरहेको हो।
टुँडिखेल ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्त्वपूर्ण खुला क्षेत्र मानिन्छ। यहाँ राष्ट्रिय दिवसका समारोह, विभिन्न सांस्कृतिक तथा सामाजिक कार्यक्रम, खेलकुद गतिविधि तथा सर्वसाधारणको दैनिक व्यायाम, घुमफिर र मनोरञ्जनका गतिविधि सञ्चालन हुँदै आएका छन्।
पछिल्ला वर्षमा टुँडिखेलको संरक्षण, सौन्दर्यीकरण तथा यसको मौलिक स्वरूप जोगाउने विषयमा विभिन्न सरोकारवाला निकाय तथा नागरिकस्तरबाट चासो व्यक्त हुँदै आएको छ।
