एजेन्सी। टर्कीले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनको सरकारका वरिष्ठ अधिकारीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।
गजामा नरसंहार र मानवताविरूद्धको अपराध गरेको आरोपमा इस्तानबुल सार्वजनिक अभियोजकको कार्यालयले इसराइली प्रधानमन्त्री नेतन्याहूसहित ३७ जना अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो।
अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार प्रधानमन्त्री नेतन्याहूसहित रक्षामन्त्री इसराइल कात्ज, राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन गभिर, र सेनाप्रमुख इयाल जामिरविरूद्ध नरसंहार र मानवताविरूद्धको अपराधमा मुद्दा दर्ता भएपछि पक्राउ आदेश जारी भएको हो।
इजरायलले यसको कडा विरोध गरेको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले आफ्नो देशले उक्त आरोपको कडा निन्दा गर्ने बताए । उनले भने, ‘यो टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान नामका तानासाहको नयाँ अभ्यास हो।’
टर्कीले यी अधिकारीहरूमाथि ‘नरसंहार र मानवता विरुद्धको अपराध’ गरेको आरोप लगाएको छ। इजरायलले गाजामा ‘योजनाबद्ध तरिकाले नरसंहार’ गरेको टर्कीको दाबी छ।