काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

कालोसूची र जोखिम भारको नियम पालना नगर्दा बैंकलाई राष्ट्र बैंकको कारबाही

२४ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाल राष्ट्र बैंकले कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई कारबाही गरेको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आव ०८२/८३ को प्रथम त्रैमास अवधिमा कुमारी र प्राइमलाई कारबाही गरेको हो। राष्ट्र बैंकको निर्देशन अनुपालना नगरेकोले पहिलो त्रैमासमा कुमारी बैंकलाई कारबाही गरिएको हो। कालोसूचीमा रहेका व्यक्ति तथा संस्थाको बैंकिङ कारोबार गरेकाले कुमारीलाई कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले कुमारीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन कानुनहरु पालना नगरेको कारण सचेत गराएको छ।

राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन ‘२०८१ को इ.प्रा. निर्देशन नं. १२/०८१ को बुँदा नं. ९ को उपबुँदा नं. २ (ङ) (५) मा उल्लेखित व्यवस्था ‘कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्नेबाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउने छैन।’ को अनुपालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) को व्यवस्था बमोजिम कुमारीलाई सचेत गराएको हो।

त्यस्तै, राष्ट्र बैंकको निर्देशनविपरीत प्राइम बैंकले कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिका आधारमा वर्गीकरण नगरेको पाइएको कारण सचेत गराएको छ।

निरीक्षणका क्रममा प्राइम कमर्सियल बैंक लिमिटेडले राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन २०८१ को इ.प्रा. निर्देशन नं. २/०८१ को बुँदा नं. १ (ख) बमोजिम केही कर्जाहरुलाई कर्जाको भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरेको, सोही निर्देशनको बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना गर्दा राष्ट्र बैंकबाट जारी क्यापिटल एडुकेसी फ्रेमवर्क-२०१५ बमोजिम जोखिम भार गणना गरेको नपाइएको हुँदा प्राइम कमर्सियल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।