काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
फाइल तस्बिर।
अ+
अ-

जनकपुर। बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरले आर्थिक वर्ष २०८२/८३ मा ६ अर्ब ६ करोड ७८ लाख ८८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

आन्तरिक राजस्व कार्यालय जनकपुरका प्रमुख आनन्दकुमार गुप्ताका अनुसार विभिन्न अभियानमार्फत पुरानो बक्यौता असुली र बजार अनुगमनलाई तीव्रता दिएपछि लक्ष्यको ८८.४९ प्रतिशत राजस्व संकलन भएको हो। आव २०८२/८३ मा कार्यालयले अन्तशुल्कतर्फ दुई अर्ब ५५ करोड सात लाख ३० हजार रुपैयाँ, आयकरतर्फ दुई अर्ब ६ करोड ८२ लाख एक हजार र मूल्यअभिवृद्धि करतर्फ एक अर्ब २८ करोड ४० लाख ९९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

यस्तै ब्याजकरतर्फ सात करोड ७८ लाख तीन हजार रुपैयाँ, बहालकरतर्फ पाँच करोड २५ लाख ३७ हजार, स्वास्थ्य जोखिम करतर्फ चार लाख ३१ हजार र अन्यतर्फ तीन करोड ४० लाख ८७ हजार रुपैयाँ राजस्व संकलन भएको गुप्ताले बताए।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा चार अर्ब ८८ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकामा चार अर्ब ९० करोड रुपैयाँ संकलन गरेको थियो। गुप्ताका अनुसार आव २०८२/८३ मा ६ अर्ब ८५ करोड ७२ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य थियो। कार्यालयमा व्यक्तिगत र व्यावसायिकलगायत गरी एक लाख ७३ हजार ९६८ करदाता छन्।

करदाताको घरमा पुग्ने, टेलिफोन र एसएमएसमार्फत ताकेता गर्ने, कर छुटसम्बन्धी सुविधाबारे प्रचार गर्नेलगायत अभियान सञ्चालन गरी करिब १० करोड रुपैयाँभन्दा बढी पुरानो बक्यौता असुली भएको कार्यालय प्रमुख गुप्ताले बताए।