काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

पूर्वाधार

कोलकाताबाट विराटनगर आइपुगेको कार्गो रेलले ढुवानी लागत घटाउने र नयाँ बजारसँग जोड्ने उद्योगीको अपेक्षा

६ श्रावण २०८३
विराटनगरस्थित नेपाल कस्टम यार्डमा ४ साउन आइपुगेको कार्गो रेल। सबै रेल : अनिल श्रेष्ठ
अ+
अ-

विराटनगर भारतको कोलकाता बन्दरगाहबाट ४० वटा कन्टेनर बोकेर आएको कार्गो रेल ४ साउन दिउँसो २ बजे विराटनगर-१८ स्थित नेपाल कस्टम यार्डमा प्रवेश गर्‍यो। भोलिपल्ट नेपाल र भारतका सरकारी निकायका प्रतिनिधि सहभागी व्यापार सहजीकरण कार्यक्रमपछि क्रेनको सहायताले कन्टेनर उतारेर सामान सम्बन्धित उद्योगसम्म पुर्‍याइयो। पहिलो खेपमा रेलले स्वस्तिक आयल इन्डस्ट्रिजले आयात गरेको कच्चा पदार्थ बोकेको थियो।

करिब तीन वर्षअघि पनि परीक्षणका लागि कार्गो रेल विराटनगर आएको थियो। तर, झन्झटिलो प्रक्रिया र समन्वय अभावका कारण त्यसले निरन्तरता पाएको थिएन। यसपटक तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ लिएर आएको रेललाई विराटनगरका उद्योगी तथा व्यवसायी नियमित कार्गो सेवा सञ्चालनतर्फको महत्त्वपूर्ण सुरुआतका रूपमा लिएका छन्।

अहिलेसम्म रेल कार्गो सुविधा मुख्यतः वीरगन्ज नाकामा केन्द्रित थियो। विराटनगरसम्म सेवा विस्तार हुँदा पूर्वी नेपालका उद्योगको ढुवानी लागत र समय घट्ने तथा आयातनिर्यात सहज हुने व्यवसायीको अपेक्षा छ।

विराटनगरस्थित नेपाल कस्टम यार्डमा आएको कार्गो रेलबाट ५ साउनमा क्रेनको सहायताले कन्टेनर उतारिँदै।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल जेठ २०८० मा भारत भ्रमणमा जाँदा नेपाल र भारतबीच नयाँ पारवहन सन्धि भएको थियो। तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका भारतीय समकक्षी पीयूष गोयलबीच भएको सहमतिअनुसार सन्धि अघि बढाइएको थियो।

तर, सन्धिले विराटनगर आईसीपीस्थित नेपाल कस्टम यार्डसम्म तेस्रो मुलुकबाट आयात गरिएका सबै वस्तु रेलमार्फत ल्याउने बाटो खोलेको थिएन। त्यसमा सिमेन्ट, क्लिंकर, रासायनिक मल र कोइला गरी चार प्रकारका वस्तु मात्र ल्याउन सकिने व्यवस्था थियो।

कच्चा पदार्थसहित अन्य वस्तु रेलबाट ल्याउन नपाइने यही व्यवस्थाका कारण विराटनगरसम्म नियमित कार्गो सेवा सञ्चालनको वातावरण बनेन। पछि पारवहनसम्बन्धी व्यवस्था संशोधन गर्दै सबै प्रकारका वस्तु रेलमार्फत ल्याउन सकिने बाटो खोलिएको हो।

विराटनगरस्थित नेपाल कस्टम यार्डमा आएको कार्गो रेल अवलोकन गर्दै सर्वसाधारण।

त्यसपछि मात्र कोलकाता बन्दरगाहबाट कच्चा पदार्थ बोकेको कार्गो रेल विराटनगर आइपुगेको हो। नयाँ पारवहन सन्धि भएको करिब दुई वर्षपछि विराटनगरमा तेस्रो मुलुकबाट आयातित सामान बोकेको कार्गो रेल पाएको छ। मर्स्क लाइनका कन्टेनर रहेको रेलमा ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (ईसीटीएस) जडान गरिएको छ। यस प्रणालीबाट कन्टेनरको स्थान र सुरक्षाबारे विद्युतीय रूपमा जानकारी लिन सकिन्छ।

कोलकाताबाट २४ घण्टामा विराटनगर

नेपाल उद्योग वाणिज्य महासंघ, कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउत आईसीपीसम्म सिधै कार्गो रेल ल्याउने विषय पूर्वी नेपालका उद्योगीको लामो समयदेखिको माग भएको बताउँछन्।

“पहिले जोगबनी नाका हुँदै सडकमार्गबाट सामान ल्याउँदा धेरै समय र पैसा खर्च हुन्थ्यो,” उनी भन्छन्, “जाम र भन्सार प्रक्रियाका कारण ५/६ घण्टाको बाटो पार गर्न पनि दुईतीन दिन लाग्थ्यो। अब कोलकाताबाट २४ घण्टाभित्र सुरक्षित रूपमा सामान विराटनगर आइपुग्न सक्छ।”

कन्टेनर ढुवानी गर्न विराटनगर भन्सार परिसरमा लामबद्ध मालवाहक गाडी।

रेल सेवाले ढुवानी लागत घटाउनुका साथै सडक दुर्घटना, चोरी, चुहावट र बीच बाटोमा हुने जोखिम कम गर्ने राउत बताउँछन्। तर, सेवा सुरु हुनुभन्दा यसको नियमितता महत्त्वपूर्ण भएको उनको भनाइ छ। “सेवा सुरु हुनु मात्र ठूलो कुरा होइन, यसलाई नियमित बनाउनु मुख्य चुनौती हो,” उनी भन्छन्, “बर्खा याममा सामान जोगाउन यार्डको उचित व्यवस्थापन गर्नुपर्छ र रेलमार्गको अन्तिम गन्तव्य कटहरीसम्मको काम तत्काल पूरा गर्नुपर्छ।”

हालको ‘सीआईएफ कोलकाता’ अर्थात् सामानको मूल्यमा कोलकातासम्मको ढुवानी र बिमा खर्चसमेत समेटिने व्यवस्था विराटनगरसम्म विस्तार गर्नुपर्ने उनको माग छ। ठूला सिपिङ लाइनका सम्पर्क कार्यालय पनि विराटनगरमै खोल्न उनी सुझाउँछन्।

नेपाल-भारत रेल सम्पर्कमार्फत व्यापार सहजीकरण गर्न विराटनगर भन्सारमा आयोजित कार्यक्रममा सहभागी नेपाल र भारतका सरकारी निकायका प्रतिनिधि।

ढुवानी खर्च घट्ने अनुमान

पूर्वी नेपालका उद्योगी तथा व्यवसायी रेलमार्फत सामान ल्याउँदा सडक ढुवानीको तुलनामा ३० देखि ४० प्रतिशतसम्म खर्च जोगिने अनुमान गर्छन्।

नेपाल उद्योग परिसंघ (सीएनआई), कोसी प्रदेशका अध्यक्ष पवनकुमार शारडा कार्गो रेलले विराटनगरका उद्योगलाई वीरगन्ज र भैरहवाका उद्योगसँग प्रतिस्पर्धा गर्न आधार दिने बताउँछन्।

पवनकुमार शारडा।

“उद्योगका लागि एकदुई प्रतिशत नाफा पनि महत्त्वपूर्ण हुन्छ,” उनी भन्छन्, “यहाँ ढुवानी खर्च ३० प्रतिशतसम्म घट्ने देखिन्छ। महँगो ढुवानीका कारण हामी वीरगन्ज र भैरहवाका उद्योगसँग प्रतिस्पर्धा गर्न सकिरहेका थिएनौँ। अब हाम्रा उत्पादन देशभर प्रतिस्पर्धी मूल्यमा पुर्‍याउन सकिन्छ।”

रेलबाट ढुवानी गर्दा सामानको गुणस्तर कायम राख्न पनि सहज हुने उनको भनाइ छ। “चिनी वा अन्य कच्चा पदार्थ ट्रकमा ल्याउँदा धुलो र ओसको जोखिम हुन्थ्यो,” उनी भन्छन्, “अब सिधै रेलबाट सुरक्षित रूपमा आएपछि गुणस्तरमा सम्झौता गर्नुपर्दैन।”

गार्मेन्ट, चाउचाउ र बिस्कुट जस्ता नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यात गर्न पनि यो सेवा उपयोगी हुने शारडा बताउँछन्।

ह्यान्डलिङ शुल्क घटाउन माग

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी कार्गो रेल सेवालाई मोरङ-सुनसरी औद्योगिक करिडोरका लागि महत्त्वपूर्ण उपलब्धि मान्छन्। रेल ढुवानी सडकमार्गको तुलनामा सस्तो हुने भएकाले उत्पादन लागत घटाउन र नेपाली वस्तुको प्रतिस्पर्धात्मक क्षमता बढाउन मद्दत गर्ने उनी बताउँछन्।

नन्दकिशोर राठी।

तर, अनलोडिङ र ह्यान्डलिङ शुल्क महँगो भएको उनको भनाइ छ। “अहिलेको मुख्य समस्या अनलोडिङ र ह्यान्डलिङ शुल्क हो,” राठी भन्छन्, “इन्टरमोडल यातायात विकास समितिले निर्धारण गरेको दर केही महँगो छ। यसलाई परिमार्जन गरेर वीरगन्जको दरसँग प्रतिस्पर्धी बनाउनुपर्छ।”

उनका अनुसार कार्गो रेलबाट सामान ल्याउन चारदेखि पाँच र्‍याक बुकिङ भइसकेको छ। यसले उद्योगीहरू सेवा प्रयोग गर्न तयार रहेको देखाउने उनी बताउँछन्।

‘सीआईएफ विराटनगर’ को बाटो खुल्ने अपेक्षा

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ कार्गो रेल सञ्चालनलाई नेपाल-भारत व्यापार सहजीकरणको महत्त्वपूर्ण कदम मान्छन्। उनका अनुसार भारतीय भन्सार, भारतीय रेलवे, भारतीय महावाणिज्य दूतावास र नेपाली निजी क्षेत्रको संयुक्त पहलबाट रेल सेवा सम्भव भएको हो।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ।

“यसले लजिस्टिक लागत करिब ४० प्रतिशतसम्म घटाउने हाम्रो अनुमान छ,” श्रेष्ठ भन्छन्, “अब व्यवसायीले ‘सीआईएफ विराटनगर’ को अवधारणामा सामान ल्याउन सक्छन्। सामानको ढुवानी र बिमासहितको मूल्य विराटनगरसम्मै तय हुँदा बीचका धेरै प्रक्रिया र झन्झट हट्छन्।”

भविष्यमा भारतको विशाखापट्टनम बन्दरगाहबाट पनि सिधै विराटनगरसम्म सामान ल्याउन सकिने सम्भावनाबारे अध्ययन भइरहेको उनी जानकारी दिन्छन्।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्मा यसअघि परीक्षणका लागि आएको रेलले निरन्तरता नपाएको अनुभवबाट पाठ सिक्नुपर्ने बताउँछन्।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी शर्मा।

“करिब तीन वर्षअघि पनि परीक्षणका लागि रेल आएको थियो तर झन्झटिलो प्रक्रियाका कारण एक पटक आएपछि फेरि आएन,” उनी भन्छन्, “अहिलेको मुख्य चुनौती सेवा फेरि बन्द हुन नदिनु हो।”

रेलवे, भन्सार, सिपिङ कम्पनी र व्यवसायीबीच समन्वय गर्न विराटनगरमा सम्पर्क वा जनसम्पर्क कार्यालय आवश्यक रहेको उनी बताउँछन्।

ट्रक ढुवानीका क्रममा हुने चोरी, सामान चुहावट र अनावश्यक विलम्ब रेल सेवाले घटाउने उनको विश्वास छ।

लक्ष्य कटहरीसम्मको

भारतको बथनाहादेखि विराटनगरको आईसीपी रेलवे स्टेसनसम्मको दूरी करिब आठ किलोमिटर छ। यस खण्डमा कात्तिक २०७५ मै परीक्षण गरिएको थियो। प्राविधिक र प्रक्रियागत समस्याका कारण नियमित कार्गो ढुवानी हुन सकेन। १८ जेठ २०८० मा पुनः परीक्षण गरिएको थियो।

बथनाहा-विराटनगर-कटहरी रेलमार्गको कुल लम्बाइ १८.१ किलोमिटर छ। सन् २०११ मा सुरु भएको परियोजना भारत सरकारको तीन अर्ब ७३ करोड भारतीय रुपैयाँ बराबरको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको छ।

विराटनगरस्थित नेपाल कस्टम यार्डमा आएको कार्गो रेलअगाडि नेपाल र भारतका सरकारी निकायका प्रतिनिधि सामूहिक तस्बिर खिचाउँदै।

भारतीय कम्पनी इरकोनले निर्माणको जिम्मा लिएको रेलमार्गमध्ये करिब १३ किलोमिटर नेपाल र पाँच किलोमिटर भारततर्फ पर्छ।

कार्गो रेलको आगमनसँगै यात्रुवाहक रेल सञ्चालनको सम्भावनाबारे पनि चर्चा सुरु भएको छ। तर, यात्रुवाहक रेल चलाउन कटहरीसम्मको बाँकी रेलमार्ग र अन्तिम स्टेसन निर्माण पूरा हुनुपर्छ।

कटहरी क्षेत्रमा केही स्थानको मुआब्जा विवादका कारण निर्माण प्रभावित भएको थियो। स्थानीय प्रशासनको पहलमा विवाद समाधानउन्मुख रहेको र कटहरीसम्म रेल पुर्‍याउने लक्ष्यअनुसार काम भइरहेको रेल विभाग जनाउँछ।

उद्योगीहरू कार्गो रेल नियमित भए पूर्वी नेपालका उद्योगको लागत घट्ने, नेपाली उत्पादनको बजार विस्तार हुने र नयाँ लगानी आकर्षित गर्न मद्दत पुग्ने बताउँछन्। त्यसका लागि प्रतिस्पर्धी ह्यान्डलिङ शुल्क, पर्याप्त यार्ड, सरोकारवाला निकायबीच समन्वय र कटहरीसम्मको बाँकी निर्माण समयमै पूरा गर्नुपर्ने उनीहरूको जोड छ।