२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। समाजवादी मोर्चाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा अलग्गिएको छ। विप्लवले बुधबार वक्तव्य जारी गर्दै मोर्चाको औचित्य समाप्त भएको भन्दै मोर्चाबाट अलग्गिएको घोषणा गरे।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा नेपाल र विप्लव नेतृत्वको नेकपासहित मिलेर ४ असार २०८० मा समाजवादी मोर्चा गठन गरिएको थियो। मोर्चाको उद्देश्य वामएकता र साझा समाजवादी धार निर्माण गर्ने थियो।

तर हाल माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र बाबुराम भट्टराईबाट अलग्गिएका महेन्द्र राय यादव समूह मिलेर नयाँ ‘नेपाली कम्युनिस्ट पार्टी’ गठन गरेपछि मोर्चाको औचित्य हराएको विप्लवको भनाइ छ।

विज्ञप्तिमा उनले भनेका छन्‚ “२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ । राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्त्वपूर्ण कार्यक्रमहरू पनि गर्यो । तर जुन रफ्तारमा कामहरू बढाउनुपर्ने थियो त्यो सम्भव बनेन ।”

मोर्चामा आबद्ध चारमध्ये तीन पार्टीले नेपाली कम्युनिस्ट पार्टीसमेत बनाइसकेको अवस्थामा मोर्चाको औचित्य नभएको उनले उल्लेख गरेका छन् । “आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

१९ कात्तिकमा १० वाम घटकबीच नयाँ पार्टी घोषणा भए पनि पद बाँडफाँटमा सहमति नजुटेकाले विप्लव नेतृत्वको नेकपा अन्तिम समयमा एकतामा सहभागी भएन। उनी अहिले नयाँ एकता प्रयासमा छन्। माओवादी केन्द्रबाट अलग भएका जनार्दन शर्मा‚ एकीकृत समाजवादीबाट अलग भएका घनश्याम भुसालसँग नयाँ राजनीतिक सहकार्यको सम्भावनाबारे उनले छलफल चलाइरहेका छन्।