२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’ नेपालका लागि उपलब्धिमूलक रहेको बताएका छन्।

कोरियाको सिओलमा बुधबार आयोजना भएको ११औं ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा उनले डिजिटल नेपाल र डिजिटल ट्रान्सफरमेसनका लागि लिडरसिप फोरम उपलब्धिपूर्ण र फलदायी भएको उल्लेख गरे। उनले भने, “डिजिलट लिडरसिप फोरम एकदमै उपलब्धिपूर्ण र सफल भएको छ यसले आगामी दिनमा डिजिटल नेपालको अवधारणमा आधारित भएर डिजिटल नेपालको रुपमा अगाडि बढाउन तथा एआईमैत्री नेपाल बनाउन फोरम फलदायी भएको छ।”

सञ्चारमन्त्री खरेलले नेपालले डिजिटल तथा एआई ट्रान्सफरमेसनसम्बन्धी नीति बनाएर संरचनागत रुपमा काम अगाडि बढाएको उल्लेख गरे। “नेपालले विशेषगरी डिजिटल तथा एआई ट्रान्सफरमेसनको सन्दर्भमा एआई नीति बनाएको छ। राष्ट्रिय एआई केन्द्र सञ्चालनमा आएको तथा एआई काउन्सिल पनि गठन गरिरहेको छ। डिजिटल नेपालको रोडम्यापको मस्यौदा तयार गरिएको जानकारी फोरमलाई गराइएको छ‚” उनले भने।

खरेलले कोरियन सरकार, विश्व वैंकलगायत अन्य विभिन्न साझेदार संस्थाहरुसँग नेपाल सरकारका तर्फबाट आगामी दिनमा सहकार्य गर्ने प्रस्ताव फोरममा राखिएको जानकारी दिए। उनले विशेषगरी कोरियन सरकार र विश्व वैंकलगायत साझेदार संस्थाका तर्फबाट पनि नेपाल सरकारसँग डिजिटल र एआई ट्रान्सफरमेसनका लागि आगामी दिनमा सहकार्य र साझेदारीसाथ अघि बढ्ने समझदारी बनेको छ।

उनले भने, “डिजिटल र एआई विषयमा साझेदारी भन्नाले विभिन्न आर्थिक साझेदारी क्षमता अभिवृद्धि गर्न, एक्सपोजर भिजिट, नलेज सेयरिङलगायतमा आगामी दिनमा साझेदारी गर्ने र नेपाललाई सहयोग गर्ने कुराकानी भएको छ।” समूहगत सत्रको छलफलमा पनि सञ्चारमन्त्री खरेलले नेपालको प्राथमिकता, साझेदार संस्थासँगको आगामी सहकार्य एवं साझेदारीका विषयमा धारणा राखेका छन्। त्यसक्रममा कोरिया सरकार र त्यहाँको नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) ले पनि नेपाललाई कसरी सहकार्य गर्न सकिन्छ, आपसी साझेदारीका विषयमा पनि परामर्श भएको छ।

फोरममा दक्षिण कोरिया लागि नेपालका राजदूत शिवमाया तुम्बाहाङ्फेलगायत सहभागी थिए। फोरममा सहभागी हुन सञ्चारमन्त्री खरेल मंगलबार कोरिया गएका हुन्। कोरियाको विज्ञान र आईसीटी (एमएसआईटी) मन्त्रालय तथा नेसनल इनफर्मेसन सोसाइटी एजेन्सी (एनआईए) सँगको संयुक्त आयोजनामा सिओलमा आईसीटी लिडरसिप फोरम आयोजना गरिएको हो।

फोरममा डिजिटल र एआई ट्रान्सफर्मेसन : स्ट्राटिजिस एन्ड च्यालेन्ज र ग्लोबल को-अपरेसन फर सस्टेनेबल डिजिटल फ्युचर विषयमा दुई सत्र सञ्चालन भएका छन्। डिजिटल र एआई ट्रान्सफर्मेसन : एसडीजीहरु र दिगो विश्वव्यापी भविष्य हासिल गर्ने विषयअन्तर्गत फोरममा एचिभिङ द एसडीजी एन्ड ए फ्युचर विषयक फोरममा नेपालसहित विभिन्न देशका मन्त्री, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार, सरकारी प्रतिनिधि तथा एसिया प्रशान्तका लागि संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक आयोग र अन्य अन्तर्राष्ट्रिय संस्थाको सहभागिता छ।