काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ कार्तिक २०८२
फाइल तस्बिर। नागढुंगा-मुग्लिन सडकखण्ड
अ+
अ-

चितवन। वर्षासँगै चाडपर्वका कारण सामान्य काम मात्रै भएको मुग्लिन–मलेखु सडकको स्तरोन्नतिले तीव्रता पाउन थालेको छ। असारपछि सडक स्तरोन्नतिको काम सुस्त भएको थियो।

नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्ड मुग्लिन–मलेखु सडकका इन्जिनियर विजय दरैका अनुसार कामलाई तीव्रता दिन थालिएको छ। पुलको पहुँच सडकको काम सुरु गरिएको छ। चारवटा पुलको पहुँच सडकको काम गर्न लागिएको हो। पुल र अन्य भागमा बेरियर राख्ने काम थालिएको छ र ड्रेनको काम पनि सुरु गरिएको छ।

उनका अनुसार दुई/तीन दिनमा कालोपत्रको काम थाल्ने तयारी गरिएको छ। सो खण्डको ३८.८६ किलोमिटरमध्ये आठ किलोमिटर सडक कालोपत्र गरिसकिएको छ। थप पाँच किलोमिटर सडक कालोपत्रका लागि अन्तिम तयारी गरिएको छ।

दरैका अनुसार अन्तिम तयारीमा पुगेको ठाउँमा कालोपत्र गर्न लागिएको हो। यससँगै अन्य ठाउँमा कालोपत्रका लागि तयारीको काम गरिने छ। उक्त सडकखण्डमा पर्ने अन्य दुई पुलमध्ये चरौदी खोलको पुलको एउटा फाउन्डेसन हालिएको छ। अर्कोतर्फको गरिँदै छ भने हुग्दी खोलाको पुलको दुवै फाउन्डेसन तयार भइसकेको छ।

दरैका अनुसार हालसम्म सडक स्तरोन्नति ३५ प्रतिशत सम्पन्न भएको छ। यस खण्डमा २.२ किलोमिटर ६ लेनको बन्नेछ, जुन मलेखु, बेनीघाट र मुग्लिन खण्डमा पर्छ। ७.२ किलोमिटर सडक चार लेन हुनेछ। चार लेन रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझिमटार, चरौँदी र विशालटार क्षेत्रमा पर्ने जनाउँदै दरैले उकालो–ओरालो खण्डमा तीन लेनको ‘क्लाइम्बिङ’ मार्ग बनाइने बताए। उनका अनुसार ‘क्लाइम्बिङ’ मार्ग २.३ किलोमिटरको हुनेछ भने बाँकी सडक दुई लेनको हुनेछ।

विसं २०७९ पुस १५ गते तीन वर्षमा सम्पन्न गर्नेगरी यो सडक ठेक्का लगाइएको थियो। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नागढुंगा खण्डलाई तीन चरण बनाएर बोलपत्र आह्वान गरिएको हो। यो तेस्रो चरणअन्तर्गत पर्दछ। आगामी पुस १५ मा म्याद यसको सकिँदै छ। म्याद थपका लागि प्रक्रिया अघि बढेको दरैले बताए।

डिजाइन परिमार्जनलगायतका कारण केही महिना निर्माण कम्पनीले म्याद थप पाउने उनको भनाइ छ।

शर्मा–जेडआईसीजीले रु चार अर्ब ८० करोड ५९ लाखमा यस खण्ड स्तरोन्नतिको ठेक्का लिएको हो। सडकका विभिन्न क्षेत्रमा कालोपत्रसँगै नाला बनाउने, पहिरो रोकथामका लागि संरचना निर्माण, भित्तो काट्ने, पर्खाल लगाउने, सडक सुरक्षालगायत काम बाँकी छ।

यो सडक विश्व बैंकको सहयोगमा बनाउन लागिएको हो। काठमाडौँ प्रवेश गर्ने र बाहिरिने मुख्य नाकाका रूपमा यो खण्ड रहेको छ। सडकमा सवारीसाधनको उच्च चाप र कच्चा पदार्थ पाउन कठिन हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ।