काठमाडौँ। डिफेन्डर अनन्त तामाङको गोलसँगै नेपाल मैत्रीपूर्ण खेलमा बंगलादेशसँग हारबाट जोगिएको छ।
ढाकास्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपालले घरेलु टोलीलाई २-२ को बराबरीमा रोकेको हो।
बंगलादेशका लागि दुवै गोल हम्जा चौधरीले गरे। नेपालका रोहित चन्द र अनन्त तामाङले गोल फर्काए। योसँगै नेपाल बंगलादेशविरुद्ध आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको छ। बंगलादेशले १७ नोभेम्बर २०२० यता नेपाललाई पराजित गर्न सकेको छैन। त्यसयता यी दुई टोली ६ पटक आमनेसामने भएका छन्।
खेलमा सुरुआती अग्रता भने नेपालले लिएको थियो। २९औं मिनेटमा सुमित श्रेष्ठको कटब्याकमा रोहितले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको बलले सिधै जाली चुमेको थियो।
तर, दोस्रो हाफमा भने नेपालले सो अग्रता कायम राख्न सकेन। खेल सुरु भएको चार मिनेटमै हम्जाले दुई गोल गर्दै बंगलादेशलाई खेलमा फर्काए।
४६औं मिनेटमा कप्तान जमल भुइयाँले दिएको फितलो पासमा सिक्स यार्डनजिक रहेका हम्जाले सुन्दर बाइसाइकल किकमार्फत गोल गरे। योसँगै बंगलादेशले खेल बराबरी गरेको थियो। लगत्तै सुमन श्रेष्ठले पेनाल्टी बक्सभित्र बंगलादेशी खेलाडीलाई लडाउन पुगे।
उक्त मौकामा हम्जा पुन: चम्किए। माल्दिभ र भारत हुँदै बंगलादेशको लिग खेल्न पुगेका किरण चेम्जोङलाई सहजै छक्काउँदै उनले गोल गरे। इङ्लिस क्लब लेस्टर सिटीमा खेल्दै आएका हम्जाको बंगलादेशी जर्सीमा यो चौथो गोल हो।
तर, इन्ज्युरी समयको चौथो मिनेटमा अनन्तले गोल फर्काए। कर्नरबाट आएको बललाई उनले हेडर गर्दै जाली चुम्दा नेपाल हारबाट जोगिएको थियो।