काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा ५ बमोजिम गठित लगानी बोर्डको ६७औँ बैठक प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष सुशीला कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको छ।

बोर्डको आज (बुधबार) को बैठकले बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत् परियोजना (४३९ मेगावाट) (अनुमानित लागत ९३ अर्ब ४० करोड ७६ लाख ३६ हजार रुपैयाँ) को लगानी स्वीकृत गरी परियोजना विकास सम्झौताका लागि वार्ता समिति गठन गर्ने निर्णय गर्यो।

बैठकले गत आव ०८१/०८२ को लगानी बोर्डको कार्यालयको प्रगति समीक्षा गर्दै चालु आव ०८२/८३ को वार्षिक कार्ययोजना स्वीकृत गर्यो। साथै तल्लो अरुण जलविद्युत परियोजना (६६९ मेगावाट) को उत्पादन अनुमतिपत्रको मस्यौदा स्वीकृत गरी अनुमतिपत्र जारी गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्यो।

यसैगरी बैठकले अरुण-३ जलविद्युत् परियोजना (९०० मेगावाट) को ‘डाइरेक्ट एग्रिमेन्ट’ को मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार मन्त्रिपरिषद्‌मा प्रस्ताव पेस गर्ने तथा पश्चिम सेती जलाशययुक्त जलविद्युत् परियोजना (८०० मेगावाट) को सर्वेक्षण अनुमतिपत्रको म्याद थप गर्ने निर्णय गर्यो। त्यसैगरी बैठकले परियोजना विकासकर्ता कम्पनी ब्लेजपिक ग्लोबल ग्रुप लिमिटेड, हङकङद्वारा आह्वान नगरिएको प्रस्तावका रुपमा पेस भएको अटो सर्भिस इको-इन्डस्ट्रियल पार्क परियोजना (अनुमानित लागत १६ अर्ब रुपैयाँ) को विकास तथा सञ्चालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयारी प्रयोजनार्थ समझदारी गरी सर्वेक्षण अनुमतिपत्र प्रदान गर्न लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई अख्तियारी प्रदान गर्ने निर्णय गर्यो।

लगानी बोर्डको कार्यालयका लागि चालु आव ०८२/८३ का लागि आवश्यक विभिन्न सेवा, समूह र श्रेणीका पदहरुको अस्थायी दरबन्दी स्वीकृत गर्न तथा सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को संशोधनको मस्यौदा स्वीकृतिका लागि नेपाल सरकार, मन्त्रिपरिषद्‌समक्ष पेस गर्ने निर्णय पनि भयो।

बैठकमा अर्थमन्त्री तथा बोर्डका उपाध्यक्ष रामेश्वरप्रसाद खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, गभर्नर विश्‍वनाथ पौडेल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयका सचिव राजकुमार श्रेष्‍ठलगायत अधिकारीको उपस्थिति थियो।