काठमाडौँ
००:००:००
३० असार २०८३, मंगलवार

नेपाल प्रिमियर लिग

४९ करोडको पारापिट र ४७ करोडको फ्लडलाइट तर शौचालयकै राम्रो व्यवस्था नहुँदा सबैलाई सास्ती

३ मंसिर २०८२
एनपीएल सञ्चालन भइरहेको त्रिवि रंगशाला। तस्बिर : नेपालन्युज
अ+
अ-

कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान यसपटक ‘गुलजार’ देखिन्छ। ‘फ्लडलाइट’ को उज्यालोसँगै सोमबारदेखि सुरु भएको एनपीएल (नेपाल प्रिमियर लिग-२)ले अहिले सबैको ध्यान आफूतर्फ खिचिरहेको छ। पारापिटमा खचाखच दर्शक, ठूलो आवाजमा घन्किरहेको संगीत र रात्रिकालीन खेलप्रति दर्शकहरूको लगाव वर्णन गरिसाध्य छैन।

तर, मैदानभित्र देखिएको त्यो उज्यालो, सबैतिर उस्तै प्रकारले चम्कन सकिरहेको छैन। यसले क्रिकेटप्रेमीलाई खिन्न बनाएको छ। हो, नेपालमा फ्रेन्चाइज क्रिकेटको उत्साह चुलिँदो छ। तर, व्यवस्थापकीय दक्षता पुरानै ढर्राको हुँदा राज्यको लगानी बालुवामा पानी हुने खतरा बढेको छ।

सोमबार डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज्‌बीच खेल हुँदा डिजिटल स्कोरबोर्ड झ्याप्प-झ्याप्प निभ्ने समस्याले खेललाई खल्लो तुल्यायो। जुन समस्या अहिले पनि यथावत् देखिन्छ। लाखौँको बजेट, डिजिटल विज्ञापन र ठूला दाबीबीच स्कोरबोर्डजस्तो आधारभूत प्रविधि स्थिर हुन नसक्दा समर्थक निराश देखिन्छन्।

“मैदान यस्तो सुन्दर बनेको छ। तर, स्कोरबोर्डको समस्या हेर्दा ‘इभेन्ट टेस्टिङ’ जस्तै लाग्यो,” कीर्तिपुरस्थित बाघभैरवबाट खेल हेर्न आएका सन्दीप सिंह भन्दै थिए।

खोइ प्रविधि?

आधुनिक क्रिकेटमा डिजिटल स्कोरबोर्डलाई अंक देखाउने साधारण बोर्ड मात्र मानिँदैन, खेलको धड्कन मानिन्छ। दर्शकहरूले खेलको गति, रनरेट, दबाब, रणनीतिलगायत सबै कुरा यही स्कोर्डबोर्डबाट थाहा पाउँछन्। तर, एनपीएलमा यही आधारभूत पक्षले सुरुदेखि नै धोका दिएको छ। जसले खेलको सम्पूर्ण रोमाञ्चकतालाई ओझेल पारिरहेको छ।

एनपीएल हेर्न रंगशालामा उपस्थित दर्शक। तस्बिर : बिक्रम राई

स्कोरबोर्ड कहिले चल्ने, कहिले नचल्ने अवस्थाले दर्शकलाई भ्रमित मात्र बनाएको छैन, फ्रेन्चाइज क्रिकेटले दिएको प्रिमियम अनुभूति पनि हराएको छ। परिणामत: मैदानभित्रको ‘फ्लडलाइट’ र रमाइलो वातावरणलाई धूलिसात् बनाएको छ। “आधुनिक क्रिकेटमा डिजिटल स्कोरबोर्डको सञ्चालनलाई सामान्य मानिन्छ। तर, एनपीएलमा त्यही पक्ष ठूलो बन्न पुगेको छ। त्यसैले हामीले अनलाइनमा स्कोर हेरेर चित्त बुझाउनुपरिरहेको छ,” सिंह भन्छन्।

क्यानले मैदानका चारैतिर विज्ञापन देखाउन चतुर उपाय अपनाएको छ। ठूल्ठूला होर्डिङ बोर्डमा विभिन्न ब्रान्डको प्रचार गरिएको छ, त्यो पनि त्रिवि गेटदेखि नै। तर, खेलको स्कोरकार्ड देखाउन क्यान हच्किएजस्तो देखिन्छ।

एनपीएलको प्रचारप्रसार अघिल्लो महिनादेखि नै जोडतोडका साथ गरिएको थियो। तर, प्रचार गरिएजस्तै आधुनिक प्रविधिको प्रयोग उद्घाटनको दिनदेखि नै भएको देखिँदैन। क्यानले ‘स्पिड गन’, छक्काको दूरी मापन गर्ने उपकरण, डिजिटल बाउन्ड्री, बुग्गी क्यामेरालगायत प्रविधि प्रयोग हुने आश्वासन दिएको थियो। यसले अन्तर्राष्ट्रियस्तरको फ्रेन्चाइज क्रिकेटको अनुभव दिने कुरामा दर्शकहरू पनि ढुक्क थिए। तर, मैदानमा ती सबै प्रविधिको नामोनिसान भेटिँदैन।

फ्रेन्चाइज क्रिकेटमा प्रविधि भनेको सजावटको विषय मात्र होइन। खेलको वास्तविकतालाई दर्शकसम्म पुर्‍याउने, रणनीति बुझाउने र प्रत्येक क्षणको महत्त्वलाई जीवन्त बनाउने आधार पनि हो। स्पिड गनले बलको गति देखाउँछ, डिजिटल बाउन्ड्रीले खेलाडीको प्राविधिक कुरा उजागर गर्छ, बुग्गी क्यामेरा र छक्का मापनले खेलको उत्साह दर्शकमा पुर्‍याउने गर्छ। यी सबैले खेलको अनुभवलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउँछन्। तर, यी सबै घोषणा प्रचारमा मात्र सीमित बन्दा क्रिकेटप्रेमी खिन्न छन्।

त्रिवि क्रिकेट रंगशालाको गेट नम्बर ४ मा तैनाथ सुरक्षा निकाय। तस्बिर : बिक्रम राई

“मैले पहिलोपटक एनपीएल हेर्दा ठूलो उत्साह थियो। तर, प्रविधि र जानकारीको कमीले वास्तविक मजा लिनै सकिनँ,” अर्की दर्शक आयुशा पाण्डे भन्छिन्, “फ्लडलाइट बल्दा जिउँदै स्वर्ग देखेजस्तै लाग्यो। तर, छक्काको दुरी, बलको गति, खेलाडीको प्रदर्शनजस्ता विवरण नहुँदा खल्लो लाग्यो।”

सास्ती कायम

मैदानबाहिर सुरक्षा व्यवस्था कडा छ। क्यान आफैँले पहिलो घेरामा निजी सुरक्षाकर्मी राखेको छ। दोस्रो घेरामा जनपदसहित सशस्त्र प्रहरी परिचालित छन्। तर, भीड व्यवस्थापनमा अनुशासन देखिँदैन। प्रवेशद्वारमा धक्कामुक्की, टिकट काउन्टरमा अव्यवस्थित लाइन र बाहिरको ट्राफिक जामले दर्शकको अनुभवलाई भारी बनाइदिन्छ। अनलाइन टिकट लिए पनि शारीरिक रूपमा स्क्यान गर्नुपर्ने भएको कारण समर्थक खेल हुनुभन्दा एक घन्टाअगावै लाइन बस्न बाध्य छन्। अझ उद्घाटनको दिन त ४ बजे सुरु हुने खेल हेर्न १ बजे नै दर्शक मैदानमा पुगिसकेका थिए।

एनपीएल हेर्न रंगशाला पुगेका दर्शकको जाँच गरिरहेको सुरक्षा टोली। तस्बिर : बिक्रम राई

रात्रिकालीन खेलको दिन कीर्तिपुरसम्म पुग्नु आफैँमा साहसको काम हुन्छ। विश्वविद्यालयको साँघुरो बाटो र शैक्षिक गतिविधि एकैपटक हुँदा आवतजावतमै समस्या पर्दै आएको छ।

क्यानले भिड नियन्त्रण गर्न सात वटा जोन छुट्टाएको छ। जोन ‘पी’ मा पिच एक्सेस दिइएको छ। त्यसपछि क्रमशः प्लेयर्स, म्याच अफिसियल, ब्रोडकास्टिङ, टिम तथा स्पोन्सर, क्यान व्यवस्थापक तथा प्रिमियम स्पोन्सर र जोन ५ मा मिडिया र खेलाडीका परिवारलाई पहुँच दिइएको छ। दर्शक छिर्ने बाटो भनेर जोन ‘६’ मात्रै छुट्याइएको छ। यो जोनबाट सामान्य पारापिटतर्फ १० हजार दर्शक जान्छन्। त्यसो हुँदा अत्यधिक भिड देखिन्छ।

“म आधा घन्टा अगाडि नै आएको थिएँ। तर, लामो लाइनका कारण भित्र छिरिसक्दा खेल सुरु भइसकेको रहेछ,” चितवन राइनोजका समर्थक विनम्र अधिकारी भन्छन्। अझ सिजनल पास लिएर पुगेका दर्शकलाई भने ठूलो पीडा छ। एक महिनाको प्याकेज १५ हजार रुपैयाँ तिरेर खेल हेर्न ‘साउथ भीआईपी जोन’ पुगेका दर्शकलाई स्कोरबोर्डले नराम्रो अनुभूति गराइरहेको छ। उक्त जोनकै अगाडि ठूलो स्कोरबोर्ड हुँदा मैदानको भाग नै छेकिन्छ।

सरकारले पारापिट बनाउन ४९ करोड २५ लाख र फ्लडलाइट जडानका लागि ४७ करोड ३७ लाख रुपैयाँ खर्च गरेको थियो। तर, यति धेरै खर्च भएको मैदानमा १० जना अट्ने क्षमताको शौचालयको व्यवस्था नहुँदा सबैलाई सास्ती छ।

एउटा गेटकै कुरा गर्ने हो भने लगभग तीन हजार दर्शक अट्नसक्ने बताउँछ, क्यान स्वयम्। तर, ‘इनिङ्स ब्रेक’ का क्रममा शौचालय जाँदा थामिनसक्नु भिड हुन्छ। त्यसैले कति त महिलाका लागि व्यवस्था गरिएको शौचालयमा पुग्छन् भने कतिले बाहिरै पिसाब फेरिरहेको देखिन्छ। त्यस्तै अनुभव सुनाउँछन्, पत्रकार मनोज श्रेष्ठ।

‘केटाहरू बाहिर ह्वारह्वारती निस्किए। तिनीहरूलाई प्रहरीले खेदाए। अब शौचालय अलिक धेरै अट्ने भए पो बाहिर गर्दैनथे। विकल्प खोइ? त्यही ग्रुप खाने स्टलमा गयो, त्यहाँ पनि एउटा मात्रै पसल। त्यहाँ किनेर खान्छु भन्दा नपाएपछि सबै लुटेर भागे। अब गरिखाने कसरी?’ आफ्नो सामाजिक सञ्जालमा उनले लेखेका छन्।

एनपीएलको ट्रफी। तस्बिर : बिक्रम राई

हरेक खेलको नतिजा आउनेबित्तिकै पोस्ट-म्याच कन्फरेन्स हुन्छ। यो अन्तर्राष्ट्रिय अभ्यास नै हो। तर, सोमबारको उद्घाटन खेलमा काठमान्डुले पाँच विकेटको जित निकालेपछि पोस्ट-म्याच कन्फरेन्समा उपस्थित भएका कप्तान करण केसी करिब ५० जना सञ्चारकर्मीसामु लज्जित बने। अघिल्लो दिनसम्म उनले मैदानको गुनगान गाएका थिए। तर, पोस्ट-म्याच कन्फरेन्समा बोल्ने क्रममा बत्ती झ्याप्पै निभ्यो। उज्यालो मैदानमा खेलर आएका उनले अन्तिम क्षण व्यंग्य कस्दै भने, “अब यहाँ पनि फ्लडलाइट राख्नुपर्छ कि क्या हो?”

हुन त अँध्यारोको महसुस उनले मात्रै गरेका होइनन्। पहिलो दिन सोही खेलको रिपोर्टिङ गर्न गएका सञ्चारकर्मीले पनि गरेका थिए। अधिकांश समय बत्ती र इन्टरनेटजस्ता आधारभूत कुराबाट वञ्चित रहेर काम गरिरहेका सञ्चारकर्मीले करणको उक्त कुरालाई सामान्य रूपमै लिए।

तर, एनपीएल सिजन-२ मा देखिएको यो यथार्थ सामान्य पक्कै होइन। क्यानका लागि एनपीएल खेल मात्र होइन, विश्वास पुनर्निर्माणको अवसर पनि हो।