काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फोटो फिचर

३ मंसिर २०८२
अ+
अ-

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन दिवंगत पितृको सद्गतिको कामना गर्दै देशभरका शिवालयमा शतबीज छरिएको छ। मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाएका हुन्।

परिवारका दिवंगत सदस्यको चिरशान्तिको कामना गर्दै १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ। आज विधिपूर्वक शिवालय परिसर पशुपति क्षेत्रको मृगस्थलीमा शतबीज छरे दिवंगत पितृले मोक्ष पाउने जनविश्वास छ।

शतबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ।

बागमती किनारको मृगस्थलीमा भगवान् शिव मृगरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बीज छरेको र ती बीज उम्री हरिया भएपछि मृगहरू आउँदा सो बथानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको किम्वदन्ती छ।

सबै तस्बिर : नेपाल फोटो लाइब्रेरी