फलोअप
औषधिको बजेटमा अनियमितता गरेको छानबिन प्रतिवेदनको निष्कर्ष
विराटनगर। उदयपुरको आयुर्वेद स्वास्थ्य केन्द्रमा भएको सरकारी बजेट हिनामिना र अनियमिततामा मुछिएका कार्यालय प्रमुख डा. गम्भीर झा सरुवा भएका छन्।
उनी अनियमिततामा मुछिएको समाचार बुधबार नेपालन्युजमा प्रकाशित भएको थियो । कोसी प्रदेशको स्वास्थ्य मन्त्रालयले अनियमिततामा मुछिएका झासहित तीन कर्मचारीलाई हिजै सरुवा गर्ने निर्णय गरेको हो। प्रदेशका स्वास्थ्यसचिव डा. यदुचन्द्र घिमिरेका अनुसार कारबाहीस्वरूप कार्यालय प्रमुख डा. झालाई भोजपुरस्थित जिल्ला आयुर्वेद अस्पतालमा सरुवा गरिएको छ भने स्टोरकिपर दीपकला राईलाई खोटाङ र सूचना अधिकारी मुकेशकुमार सिंहलाई धनकुटा सरुवा गरिएको छ।
“बुधबार साँझ बसेको मन्त्रालयको बैठकले डा. झासहितका कर्मचारीलाई सरुवा गर्ने निर्णय गरेको हो,” सचिव घिमिरेले भने, “स्वास्थ्यमन्त्रीसहितको बैठकबाट निर्णय गरी सरुवाको सहमतिका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फाइल पठाएका छौँ।”
कोसी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राईले छानबिन प्रतिवेदनमा कैफियत देखिएकाले तत्कालका लागि उनीहरूलाई सरुवा गरिएको बताए। मन्त्री राईले सरुवा मात्र अन्तिम कारबाही नभएको स्पष्ट पारेका छन्।
“सरुवाले मात्रै पुग्दैन, छानबिन समितिको प्रतिवेदनका आधारमा उनीहरूलाई थप कारबाही पनि हुनेछ,” मन्त्री राईले भने, “अहिले तत्काललाई सरुवा गरिएको हो, तर आर्थिक हिनामिनाको विषयमा मन्त्रालयले थप कारबाही प्रक्रिया अगाडि बढाउनेछ।”

कोशी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राई
स्वास्थ्य निर्देशनालय धनकुटाका उपसचिव सोम अधिकारीको नेतृत्वमा गठित तीनसदस्यीय छानबिन समितिले झाको नेतृत्वमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ। समितिको प्रतिवेदनअनुसार झाले आर्थिक वर्ष २०८१/८२ को औषधिको बजेटमा अनियमितता गरेका थिए।
प्रतिवेदनअनुसार झाले एक लाख ११ हजार ८४८ रुपैयाँ बराबरको होमियोप्याथिक औषधि खरिद गरेको भन्दै सुनसरीको इटहरी-८ स्थित ‘माउन्ट एभरेस्ट होमियो मेडिको प्रालि’ को फर्जी बिल पेस गरेका थिए। उदयपुरको त्रियुगा नगरपालिका-१५ रानीबास माविमा सञ्चालित ‘निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर’ मा पनि झाले बदमासी गरेको पाइएको थियो।
शिविरका लागि विनियोजित दुई लाख ५० हजार रुपैयाँमध्ये ६० प्रतिशत रकम औषधि खरिदमा खर्च गर्नुपर्ने नियम छ। तर, झाले कार्यालयमा पहिल्यै रहेको निःशुल्क औषधि वितरण गरेर नयाँ औषधि खरिद गरेको भन्दै नक्कली बिल पेस गरेका थिए। कार्यालय परिसरमा जडीबुटी रोप्न विनियोजित ४५ हजार रुपैयाँमा झाले आँप, लिची, कटहर र मेवाजस्ता फलफूलका बिरुवा खरिद गरेको बिल बनाएका थिए। खरिद गरिएको भनिएका ती फलफूलका बिरुवासमेत कार्यालय परिसरमा नरोपेर अन्यत्रै लगिएको छानबिनमा फेला परेको छ।