काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
अ+
अ-

रौतहट। पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शनिबार दिउँसोदेखि अवरुद्ध भएको सडक खुलेको छ।

शुक्रबार चन्द्रनिगाहपुर–गौर सडकखण्डअन्तर्गत मोथियाही पुल नजिक भएको सवारी दुर्घटनाका मृतकका आफन्तले शनिबार चन्द्रनिगाहपुरमा आएर राजमार्ग अवरुद्ध गरेका थिए।

शुक्रबार गौरबाट चन्द्रनिगाहपुरतिर आउँदै गरेको ना४ख ६५४७ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ना३९प ४२४० नम्बरको मोटरसाइकल ठोक्किँदा वृन्दावन नगरपालिका–२ विश्रामपुरका ४० वर्षीय नागेन्द्र पटेलको मृत्यु भएको थियो।

बस मालिकले कानुनले तोकेको भन्दा बढी रकम नदिने अडान राखेपछि मृतकका परिवारले राजमार्ग ठप्प पारेका थिए। वृन्दावन नगरपालिकाका पूर्वनगर प्रमुख रामस्नेही रायले पीडित परिवारको अवस्था कमजोर भएकाले थोरै रकम थप्न अनुरोध गरेको बताए।

बसका चालक अमृतबहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङले राजमार्ग खुलाइएको जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा सयौँ सवारीसाधन अलपत्र परेका थिए।

मोटरसाइकलमा मृतक पटेलका दुई छोरा र एक छोरी चढेका थिए। प्रहरीका अनुसार मोटरसाइकलमा सवार मृतक पटेलका छोरा १२ वर्षीय युवराजको निधारमा चोट लागेको छ भने ११ वर्षकी छोरी आकृतिको खुट्टा र टाउकामा चोट लागेको छ। पटेलका १५ वर्षीय छोरा प्रिन्सकुमारको खुट्टा, हात र निधारमा चोट लागेको छ।