काठमाडौँ। अघिल्लो साताभर घटेको नेप्से यो साताको पहिलो र दोस्रो कारोबार दिनमा पनि लगातार घट्यो। आज साताको तेस्रो दिन मंगलबार भने सेयरबजारमा एकल अंकको करेक्सन आएको छ। साताको पहिलो कारोबार दिन आइतबार २१.४८ अंकले घटेको नेप्से सोमबार ३.०२ अंकले घटेको थियो । मंगलबार भने ७.३९ अंकले बढेर नेप्से २६१४.०७ विन्दुमा अडिएको छ। मंगलबार नेप्से ०.२८ प्रतिशतले बढ्यो।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि ०.३० अंकले बढेर ४४७.०५ विन्दुमा रोकिएको छ। आज ३३१ कम्पनीको ६२ हजार ६६५ पटकको कारोबारमा ७८ लाख ४२ हजार ८४ कित्ता सेयर किनबेच भए। जसमा आज तीन अर्ब ७५ करोड ५० लाख २७ हजार ७९५ रुपैयाँबराबरको कारोबार भयो। आइतबार पाँच अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ रुपैयाँबराबरको कारोबार भएको थियो भने हिजो (सोमबार) चार अर्ब ६६ करोड ९५ लाख ४८ हजार ७४२ रुपैयाँको कारोबार भएको थियो।

नेप्सेमा आज चारवटा समूहको सूचक घट्यो भने बाँकी नौवटा समूहको सूचक हरियाली बने। दिनभर उतारचढावमा रहेको सेयर बजारमा मंगलबार १४८ कम्पनीको मूल्य बढ्दा १०१ को घट्यो भने नौवटा कम्पनीको सेयरमूल्य स्थिर रह्यो।
आज स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। जसको अन्तिम सेयर मूल्य १५८९.५० रुपैयाँ रह्यो। आज सबैभन्दा बढी हिम ऊर्जा कम्पनी लिमिटेडका लगानीकर्ताले सेयरमूल्य गुमाए। यसैगरी आज पनि सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको सेयर कारोबार भएको छ। ङादीको ३१ करोड ९२ लाख ६ हजार ७१३ रुपैयाँबराबरको सेयर कारोबार भयो। जसको अन्तिम सेयर मूल्य ४०९.५० रुपैयाँ कायम रह्यो। हिजो (सोमबार) पनि ङादीको ५५ करोड ८६ लाख ६७ हजार ८७४ रुपैयाँको सेयर कारोबार भएको थियो।
कारोबार भएका सेयर सङ्ख्याका आधारमा पनि ङादी ग्रुप पावर लिमिटेडको नै अगाडि रह्यो। यसको सात लाख ६८ हजार ६५ कित्ता सेयर किनबेच भयो। हिजो (सोमबार) ङादीको १३ लाख ४८ हजार ८६१ कित्ता किनबेच भएको थियो।