काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

एमाले महाधिवेशन

ओली समूहका उम्मेदवारमा अन्धसमर्थक हाबी, पोखरेल समूहमा आलोचनात्मक दृष्टिकोण राख्नेहरूको बाहुल्य

एमालेको ११औँ महाधिवेशनमा अध्यक्षका दुई उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल
अ+
अ-

नेकपा (एमाले)को ११औँ महाधिवेशनको चुनावी प्रतिस्पर्धामा एउटा रोचक संयोग जुरेको छ। अध्यक्षमा प्रतिस्पर्धा गरेका केपी शर्मा ओली समूहका अधिकांश पदाधिकारीमा एमालेका अनुदारवादी अनुहार समेटिएका छन्। पोखरेलको प्यानलमा चाहिँ आलोचनात्मक चेत भएका र सुधारवादीहरूको बाहुल्य देखिन्छ।

अध्यक्षका प्रतिस्पर्धी ओली र पोखरेलबीच नेतृत्व शैलीमा ठूलो भिन्नता छ। पार्टी अध्यक्ष हुनुअघिसम्म ओली आफ्नो समूहका मात्र नेता थिए भने पार्टी संस्थापनका आलोचक थिए। यसविपरीत पोखरेल चाहिँ एमालेको संस्थापन समूहमै सक्रिय थिए। अहिलेसम्म पोखरेल पार्टीको संस्थागत निर्णयको पक्षमा उभिने गरेका छन्। एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी, महासचिव माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओलीसमेत पार्टी प्रमुख हुँदा पोखरेलले साथ दिए। उनी यसपालि पहिलोपटक एमाले अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन्।

पोखरेलले एमालेमा ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकालको व्यवस्थाको पक्षमा आफूलाई उभ्याए। यो पनि एमालेको संस्थागत निर्णय थियो। ओलीकै प्रस्तावमा एमालेले लागु गरेको यो प्रावधान ओलीले आफ्नै लागि उल्टाएपछि पोखरेलले त्यसको विरोध गरेका हुन्। पछिल्लोपटक एमालेको दशौँ विधान महाधिवेशनले गरेको एमाले पदाधिकारीको संख्या घटाउने निर्णय ओलीले २९ मंसिरमा उल्टाए। पोखरेलले त्यसको पनि विरोध गरेका छन्।

ओली समूहले उपाध्यक्षमा अघि बढाएका विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीमध्ये पौडेल र ज्ञवालीबाहेक अरू नेता एमालेभित्र अनुदारवादी मानिन्छन्। माओवादीका सैन्य रणनीतिकार मानिएका रामबहादुर थापाको शैलीको त सशस्त्र युद्धकालमै आलोचना हुन्थ्यो। उनी केन्द्रीकृत नेतृत्वका पक्षधर हुन्। एमाले उपाध्यक्ष भएपछि पनि थापाको यो शैली बदलिएको छैन। थापा एमालेका अरू नेताभन्दा बढी अनुदार मानिन्छन्।

ओलीको पछिल्लो प्रधानमन्त्रीकालमा सूचना तथा सञ्चारमन्त्री रहेका पृथ्वीसुब्बा गुरुङले जेन-जी आन्दोलनअघि सामाजिक सञ्जालका २६ वटा प्लेटफर्मलाई प्रतिबन्ध लगाउने निर्णय गरेका थिए। अभिव्यक्ति स्वतन्त्रतामा हमला गरेको भन्दै ओलीपछि उनी जेन-जी आन्दोलनको निसानामा परेका थिए। अहिले उनलाई ओलीले उपाध्यक्षको सूचीमा राखेका छन्।

एमालेको ११औँ महाधिवेशनका लागि ओली प्यानलका उम्मेदवार

खासै सार्वजनिक चर्चामा नआएका ओलीका पुराना सहयोगी हुन् मोरङका एमाले नेता गुरु बराल। उनी लामो समयदेखि ओली समूहमै सक्रिय थिए। एमालेका तत्कालीन उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनपछि ओलीले बराललाई उपाध्यक्ष बनाएका हुन्। यसपालि उनलाई उपाध्यक्षमै निरन्तरता दिन खोजिएको छ। उनले अहिलेसम्म ओली र उनको समूहले गरेका विवादास्पद कामबारे मुख खोलेका छैनन्।

ईश्वर पोखरेल समूहले उपाध्यक्षमा अघि सारेका अरुण नेपाल, गोकर्ण विष्ट, विन्दा पाण्डे, परशुराम मेघी गुरुङ र टंकप्रसाद कार्की तुलनात्मक रूपमा उदार नेता हुन्। विष्ट र पाण्डेले सार्वजनिक रूपमै ओलीको नेतृत्व शैलीको विरोध गर्दै आएका छन्। पाण्डेले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउन जग्गा दान दिएको विषयमा आलोचना गरेपछि पार्टीले उनलाई निलम्बनसमेत गरेको थियो।

पोखरेल समूहका उपाध्यक्षका उम्मेदवारमध्ये अधिकांशले एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई साथ दिएका थिए। यसअघि संस्थापन समूहमा रहेका रघुजी पन्तलाई ओलीले आफ्नो समूहमा नसमेटेपछि उनी पोखरेल समूहबाट उपाध्यक्षको उम्मेदवार बनेका थिए। तर अन्तिममा उनी ओली प्यानलबाटै उपाध्यक्षको उम्मेदवार बने।

ओली र पोखरेल समूहका महासचिवका दुई प्रत्याशीको पनि नेतृत्व शैली र व्यक्तित्वमा ठूलो भिन्नता छ। दशौँ महाधिवेशनबाट महासचिव बनेका शंकर पोखरेलको एमालेभित्र अनुदारवादी नेताको छवि बनेको छ। पोखरेलले देशमा राजनीतिक दलको संख्या बढी भएको भन्दै दुईदलीय प्रणालीको वकालत गर्दै आएका छन्। ओलीको अधिनायकवादी शैलीलाई साथ दिएका पोखरेल पार्टीभित्र आलोचकप्रति असहिष्णु मानिन्छन्। ओलीकै अनुदार शैली पछ्याएका कारण उनले ओली समूहकै अर्का नेता प्रदीपकुमार ज्ञवालीलाई यसपटक महासचिवको उम्मेदवार हुन दिएनन्। ज्ञवालीले यसपटक आफू महासचिवको उम्मेदवार हुन पाउनुपर्ने अडान ओलीसँग राखेका थिए। ओलीका दुई विश्वासपात्रमध्ये ज्ञवाली एमालेमा पोखरेलभन्दा उदार नेता हुन्।

ओलीको रोजाइमा यसपटक पनि महासचिवमा पोखरेल नै परेपछि ज्ञवालीले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेर २९ मंसिरमै महाधिवेशनस्थल छाडे। ओलीले उनलाई सुरुमा उपाध्यक्षको सूचीमा समेटेका थिए। उनले उपाध्यक्ष पद अस्वीकार गरे। उनको स्थानमा पन्तलाई उम्मेदवार बनाइएको हो। माधवकुमार नेपाल एमाले प्रमुख हुँदा ओली अल्पमत समूहको नेता थिए, त्यतिबेलादेखि उनलाई निरन्तर साथ दिनेमा पोखरेल र ज्ञवाली थिए। एमालेभित्र त्यतिबेला यी दुईलाई ओलीका ‘दुई हात’ को संज्ञा दिने गरिन्थ्यो।

यता, पोखरेल समूहबाट महासचिवको उम्मेदवार सुरेन्द्र पाण्डे एमालेभित्र ओलीको नेतृत्व शैलीका कडा आलोचक हुन्। पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डे अध्ययनशील तथा उदार स्वभावका नेता हुन्। एमालेको महाधिवेशनमा सबैभन्दा पेचिलो प्रतिस्पर्धा पनि पोखरेल र पाण्डेबीच नै हुने भएको छ। उनी एमालेमा पोखरेलभन्दा पुराना नेता हुन्। दशौँ महाधिवेशनबाट एमालेको उपाध्यक्ष भएका पाण्डे पार्टीपंक्तिमा लोकप्रियसमेत छन्।

एमालेको ११औँ महाधिवेशनका लागि ईश्वर पोखरेलको प्यानल

त्यसो त ओली प्रधानमन्त्री हुँदा चारैपटक प्रमुख सल्लाहकार बन्न सफल भएका उपमहासचिवका उम्मेदवार विष्णुप्रसाद रिमाल अहिलेसम्म कुनै पनि चुनाव नलडेका अनुदार अनुहार हुन्। २०७४ सालमा ओली प्रधानमन्त्री भएको बेला प्रधानमन्त्री कार्यालयमै ‘वार रुम’ बनाउने, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र राष्ट्रिय अनुसन्धान विभागजस्ता निकायलाई प्रधानमन्त्री कार्यालयमातहत ल्याउन रिमालको निर्णायक भूमिका थियो। सल्लाहकार हुँदा रिमालले प्रधानमन्त्री कार्यालयमा मन्त्री र सचिवलाई हाजिर गराएर आफूअनुकूल निर्णय गराएको, प्रधानमन्त्रीलाई सानो घेरामा सीमित गराएकोलगायत टिप्पणी हुन्थ्यो।

हुन पनि प्रधानमन्त्रीको सल्लाहकार हुँदा उनले पार्टीभित्रकै अर्को समूह र आलोचकलाई ‘छौँडा’ भन्दै सामाजिक सञ्जालमा कटाक्ष गरेका थिए। रिमालका आलोचकले उनलाई बेलाबेला ‘वडाध्यक्ष’ मा चुनाव लड्न चुनौती दिने गरेका छन्।

ओलीको जोडबलमा रिमाल दशौँ महाधिवेशनमा उपमहासचिव भएका हुन्। यो उनको एमालेभित्र सबैभन्दा ठूलो छलाङ थियो। यसपालि पनि ओलीले उनलाई उपमहासचिवमा दोहोर्‍याउन खोजेका छन्।

ओलीको दोस्रो प्रधानमन्त्रीकालमा प्रमुख सल्लाहकार हुँदा उनले आफू र आफ्नो समूहबाहेक बाँकी सल्लाहकारलाई बीचमै राजीनामा गराएका थिए। ओलीका तत्कालीन प्रेस सल्लाहकार कुन्दन अर्याल, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस संयोजक चेतन अधिकारीलगायतलाई उनले ओलीको टोलीबाट बिदा दिए भने आफू र आफूनिकटलाई निरन्तरता दिएका थिए। त्यतिबेला निरन्तरता पाउनेमा रिमाल र ओलीका अवैतनिक आईटी सल्लाहकार असगर अलीलगायत थिए। रिमालबाहेक ओली समूहका उपमहासचिवका उम्मेदवार रघुवीर महासेठ र लेखराज भट्टको पनि पार्टीभित्र अनुदारवादी छवि बनेको छ। भट्ट पूर्वमाओवादी हुन्। माओवादीको युद्धकालमा उनले कम्याब्ट लगाएर बन्दुक नै बोकेको तस्बिर सार्वजनिक भएको थियो।

अर्थ-राजनीतिक विश्लेषक हरि रोका एमालेको जारी महाधिवेशनमा उदारवादी र कट्टर दक्षिणपन्थीबीचको चर्को प्रतिस्पर्धा देखिएको बताउँछन्। उनी भन्छन्, “ओली र उनको टोलीमा कट्टर दक्षिणपन्थी अनुदारवादी समेटिएका छन्। ईश्वर पोखरेलले उदारवादीहरूलाई नेतृत्व दिएका छन्।”

रोकाको विश्लेषणमा एमाले उदार वामपन्थबाट उदार लोकतान्त्रिक, उदार लोकतान्त्रिकबाट दक्षिणपन्थी अनि दक्षिणपन्थीबाट ओली नेतृत्वको कट्टर दक्षिणपन्थी पार्टी बनेको छ। रोका थप्छन्, “कट्टर दक्षिणपन्थी चरम व्यक्तिवादी हुन्छ। चरम व्यक्तिवादीले झोलेबाहेक अरूलाई स्थान दिँदैन।”

यसैगरी, पोखरेल समूहले उपमहासचिवमा उतारेका योगेश भट्टराई निरन्तर ओलीको अनुदारवादी नेतृत्व शैलीका आलोचक हुन्। उनी लोकतन्त्र, अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता तथा बेथितिविरुद्ध बोलिरहन्छन्। जेन-जी आन्दोलनपछि ओलीले नेतृत्वबाट विश्राम लिनुपर्ने भट्टराईको मत थियो। उनीसँगै पोखरेलले एमालेका पुराना नेता बैजनाथ चौधरी र आनन्द पोखरेललाई उपमहासचिवमा उम्मेदवार बनाएका छन्।

एमालेका नौ सचिव पदमा ओली समूहबाट उनका विश्वासपात्रहरू मात्र समेटिएका छन्। ओलीले सचिवमा भानुभक्त ढकाल, शेरधन राई, हिक्मत कार्की, राजन भट्टराई, महेश बस्नेत, खगराज अधिकारी, पद्मा अर्याल, यामलाल कँडेल र छविलाल विश्वकर्मालाई उम्मेदवार चुनेका छन्। यीमध्ये महेश बस्नेतले जेन-जी आन्दोलनपछि ओलीको वासस्थान नै गुन्डु सारेका छन्। ओलीले सचिवमा अघि सारेका अधिकांश ओलीबाट मन्त्री, मुख्यमन्त्री र लाभको पद हासिल गरेका पात्र हुन्। यीमध्ये अधिकांश ओलीका अन्धसमर्थक हुन्।

ओली र पोखरेल समूहका पदाधिकारीका उम्मेदवारमध्ये ओली समूहमा उनका अन्धसमर्थक हाबी भएका छन् भने पोखरेल समूहमा ओलीसँग असन्तुष्ट अनि पार्टीभित्र आलोचनात्मक दृष्टिकोण राख्ने अनुहारको बाहुल्य छ। पोखरेलको समूहबाट सचिव पदमा रचना खड्का, विनोद ढकाल, कर्ण थापा, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, गोकुल बाँस्कोटा, ठाकुर गैरे र पुरुषोत्तम पौडेल प्रत्याशी छन्।

आज अपराह्न ४ बजेबाट एमालेको नयाँ नेतृत्व छान्न चुनाव हुँदै छ। चितवनमा भएको दशौँ महाधिवेशनमा एकछत्र नेतृत्व छानेका ओलीले यसपालि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको चुनौती सामना गर्नुपरेको छ।