महोत्तरी। महोत्तरीमा यही पुस ४ गतेदेखि एक महिने परिवार व्यवस्थापन स्वास्थ्य शिविर ( स्थायी बन्ध्याकरण शिविर) सुरुआत हुने भएको छ।
जिल्ला स्वास्थ्य कार्यालयद्वारा सुनौलो परिवार नेपालको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने सो निःशुल्क शिविरमा जिल्लाका १५ वटै पालिकाका विभिन्न ११ स्थानमा सञ्चालन हुनेछ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो समय परिवार व्यवस्थापन सेवाअन्तर्गत विशेष गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालनमा सेवा प्रदायक संस्थाहरुसँग थप सहकार्य र साझेदारीलाई समन्वयात्मक नीति लिएको छ।
यसबाट परिवार व्यवस्थापन सेवा थप प्रभावकारी भएको जनाइएको छ । मन्त्रालयले परिवार व्यवस्थापनको घरदैलो सेवासमेत उपलब्ध गराउँदै आएको छ।
जिल्ला जनस्वास्थ्य÷स्वास्थ्य कार्यालयले पालिका तहसँग समन्वय गर्दै आफ्ना संयन्त्रमार्फत आवश्यक सेवाग्राही पहिचान गर्ने र परिवार व्यवस्थापन सेवा प्रदान गर्ने निकायले सेवाग्राहीलाई पायक पर्ने स्थानमै बन्ध्याकरण शिविर आयोजना गर्ने समझदारीको ढाँचामा सेवा प्रदान गर्न थालिएको छ।
कार्यालयका प्रमुख नवलकिशोर साहले बृहत् स्वास्थ्य शिविरमा सन्तानका इच्छा पूरा भएका महिला, पुरुषहरुले स्थायी बन्ध्याकरण गराउन सकिने एवं परिवार व्यवस्थापनका अन्य सेवा लिन सकिने जानकारी दिए।
शिविरका ‘फोकल पर्सन’ सृजना यादवले शिविरमा महिलाहरुका लागि मिनील्याप र पुरुषको लागि ‘भ्याक्सेटोमी सर्जरी’सहित आइयुसिडी र इम्प्लान्टको सेवासमेत प्रदान गरिने बताए।
शिविरमा जिल्लाका १० नगरपालिकासहित पाँच गाउँपालिकाका ८७४ जनालाई स्थायी बन्ध्याकरणका सेवा उपलब्ध गराइने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। शिविर यही पुस ४ गते जिल्लाको गौशाला नगरपालिकाको गौशाला अस्पतालबाट सुरु हुनेछ।
यसैगरी स्वास्थ्य शिविर यही पुस ४ र ५ गते गौशालामा सञ्चालन हुनेछ भने ७ र ८ गते बर्दिवास नगरपालिकाको बर्दिवास अस्पताल, १० र ११ गते औरही नगरपालिकाको औरही अस्पतालमा सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
यसैगरी १३ र १४ गते एकडारा गाउँपालिकास्थित एकडारा स्वास्थ्यचौकी, १६ र १७ गते बलवा नगरपालिकास्थित धमौरा स्वास्थ्यचौकी, १९ र २० गते रामगोपालपुर नगरपालिकास्थित रामगोपालपुर स्वास्थ्य केन्द्र, २२ गते सम्सी गाउँपालिकास्थित सम्सी स्वास्थ्य केन्द्र, २४ र २५ गते सोनमा गाउँपालिका स्थित सुन्दरपुर आधारभूत स्वास्थ्य केन्द्र, २७ र २८ गते पिपरा गाउँपालिकास्थित पिपरा अस्पताल, ३० गते मटिहानी नगरपालिकास्थित मटिहानी स्वास्थ्यचौकी र आगामी माघ २ र ३ गते भंगहा नगरपालिकाको भंगहा स्वास्थ्यचौकीमा शिविर सञ्चालन हुनेछन्।