जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पुस ४ गते दिउँसो ४ बजे मधेस प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
उनले प्रदेश सभामा पत्र पठाउँदै शुक्रबार ४ गते, ४ बजे विश्वासको मत लिने वातावरण निर्माण गरिदिन सहितको अनुरोध गरिएको छ।
यसअघि सात दलको बैठकबाट समेत ४ गते नै विश्वासको मत लिने सहमति भएको थियो। सोही सहमतिको आधारमा मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन्।
यादवले विश्वासको मत नलिएका कारणले मन्त्रिमण्डलसमेत विस्तार गर्न पाएका छैनन्। सत्ता गठबन्धनमा रहेका जसपा नेपालले सरकारमा सहभागी हुन सकेको छैन। उसले सभामुख सहित तीन मन्त्रालयको दाबी गर्दै आएको छ।
अहिलेसम्म नेपाली कांग्रेसबाट जङ्गीलाल यादव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री ,नेकपा एकीकृत समाजवादी पार्टीबाट उद्योग वाणिज्य पर्यटन मन्त्रीमा गणेश पटेल, नेकपा माओवादी केन्द्रबाट उर्जा सिँचाइ तथा खानेपानी मन्त्री जवाहर कुशवाहा र लोसपाबाट रानीकुमारी तिवारी मात्र मन्त्री भएका छन्।
मुख्यमन्त्री यादवले प्रदेशसभामा विश्वासको मत लिन लागेको सरकारमा सहभागी दल जनमतले मन्त्रालयको विषयमा आफ्नो असहमति प्रकट गरेको छ। उसले सरकारमा सहभागि दलहरुले नगरे आफ्नो पार्टीले सरकार छाड्ने चेतावनी दिइसकेका छन्।
यस्तोमा गठबन्धन भित्रै खटपट सुरु भएको छ। मुख्यमन्त्री यादवलाई नेकपा एमालेले समेत विश्वासको मत दिने सार्वजनिक रुपमै बताएपछि अहिले विश्वासको मत भने सहजै पाउने देखिन्छ।
मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। दलहरू बीचमा भएको सहमति अनुसार नेपाली कांग्रेस मुख्यमन्त्री सहित दुई मन्त्रालय, जसपा नेपाल सभामुख सहित दुई मन्त्रालय, नेपाली कम्युनिष्ट पार्टी तीन मन्त्रालय ,जनमत दुई मन्त्रालय र लोसपा दुई मन्त्रालय लिने सहमति भएको छ।
मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिने भन्दै बुधबार पत्र पठाएका हुन्।
मंसिर १९ मा ६ दलको ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा नेपाली कांग्रेसका संसदीय दलका नेता यादव नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
संविधानमा व्यवस्था भए अनुसार नियुक्त भएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने भएकाले आगामी शुक्रबार मुख्यमन्त्री विश्वासको मत लिन लागेका हुन्।