काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

फलोअप

सदस्यसचिव नियुक्त नहुँदा कर्णालीमा राष्ट्रिय प्रतियोगिता गराउने सम्बन्धमा अन्योल बढेपछि यसलाई चिर्न पदका लागि आह्वान

६ पुष २०८२
कर्णाली प्रदेशको खेलकुद विकास परिषदको सदस्यसचिवका लागि द‍रखास्त दिएकाहरू प्रमोद हमाल, विश्वामित्र संज्याल, घनश्याम पाण्डे र हेमा खड्का। तस्बिर : दीपकजंग शाही
अ+
अ-

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को रिक्त सदस्यसचिव पदका लागि २१ जनाको उम्मेदवारी परेको छ। सामाजिक विकास मन्त्रालयले ९ मंसिरमा सदस्यसचिवका लागि दरखास्त आह्वान गरेको थियो। दरखास्त दिने अन्तिम मिति २३ मंसिरसम्म २१ जनाले आवेदन दिएको सामाजिक विकास मन्त्रालयअन्तर्गतको खेलकुद महाशाखाले जनाएको छ।

सदस्यसचिवको दरखास्त दिनेहरूमा वर्तमान मुख्यमन्त्री यामलाल कँडलेका स्वकीय सचिवदेखि परिषद्कै पूर्वउपाध्यक्षसम्म छन्। यस्तै, पूर्वसदस्यसचिव र सदस्यले पनि नयाँ विज्ञापनअनुसार दरखास्त पेस गरेको बताइएको छ। मन्त्रालयका युवा तथा खेलकुद शाखा अधिकृत रेशमबहादुर खत्रीका अनुसार १९ जनाले स्वयं उपस्थित भएर दरखास्त पेस गरेका हुन्। दुई जनाले इमेलमार्फत दरखास्त दिएका छन्।

दरखास्त दिनेमा कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलका निवर्तमान स्वकीय सचिव घनश्याम पाण्डे पनि हुन्। यामलाल मुख्यमन्त्री भएयता सुर्खेतको बराहताल गाउँपालिका-८ का पाण्डे सचिवालयमा रहेर काम गरिरहेका थिए। संघीय सरकारले खर्च मितव्ययिताका लागि परिपत्र गरेपछि मुख्यमन्त्रीले पाण्डेलाई पद छोड्न लगाएका थिए।

परिषद्का पूर्वउपाध्यक्ष प्रमोद हमालले पनि सदस्यसचिवमा दरखास्त दिएका छन्। सुर्खेतको वीरेन्द्रनगर-५ का हमाल ६ पुस २०७७ मा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को पहिलो उपाध्यक्ष नियुक्त भएका थिए। उनी त्यतिबेला नेकपा (एमाले)को कोटाबाट उपाध्यक्ष सिफारिस भएका थिए। उनले ६ पुस २०८१ सम्म चार वर्ष परिषद्को उपाध्यक्ष भएर काम गरेका थिए।

यस्तै, कर्णाली प्रदेश खेलकुद विकास परिषद्का पूर्वसदस्यसचिव विश्वमित्र संज्यालले पनि दोस्रो कार्यकालका लागि दरखास्त हालेका हुन्। उनी ६ पुस २०७७ मा परिषद्को पहिलो सदस्यसचिव नियुक्त भएका थिए। तत्कालीन माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा माओवादीको सिफारिसमा सदस्यसचिव बनेका हुन्। उनको कार्यकाल पनि ६ पुस २०८१ मा सकिएको थियो। कालीकोटको सन्नीत्रिवेणी गाउँपालिका-६ का संज्याल खेल पूर्वाधार क्षेत्रकै इन्जिनियर हुन्। राष्ट्रिय खेलकुद परिषद्‌मा जागिरे रहेका उनले सदस्यसचिव नियुक्त भएपछि जागिर छोडेका थिए।

यो पनि…

एमाले–कांग्रेसको किचलोले अझै अनिश्चित दशौँ राष्ट्रिय खेलकुद

अघिल्लो कार्यकालमा सदस्य रहेकी दैलेखकी हेमा खड्काले पनि सदस्यसचिव पदका लागि दरखास्त दिएकी छन्। उनी पनि ६ पुस २०७७ मा सदस्य नियुक्त भएकी थिइन्।

यसैगरी, जुम्लाका चेतनराज गिरी, सुर्खेतका प्रभात थापा, दिलीप बस्याल, जगत प्याकुरेल, केशरबहादुर रोकाय, टंकप्रसाद गैरे, दीपक हमाल, पदम वन, गणेशबहादुर शाही, रेशमबहादुर गुरुङ, रवीन्द्र चन्द, रुकुम पश्चिमका लीलाप्रसाद ढकाल, कालीकोटका पंखबहादुर मल्ल, मनराज शाही, दैलेखका पनकुमार थापा, गणेश खनाल र जगतप्रसाद रिजालले पनि दरखास्त दिएका छन्।

६ पुस २०८१ मा कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिवलगायत पदाधिकारीको कार्यकाल सकिएपछि गएको १८ जेठमा मन्त्रिपरिषद्ले सामाजिक विकास मन्त्रालयका उपसचिव जवाहरलाल हमाललाई अर्को व्यवस्था नहुन्जेल सदस्यसचिवको जिम्मेवारी तोकेको थियो। उक्त निर्णय खेलकुद विकास परिषद् ऐनविपरीत भएको भन्दै उच्च अदालतमा रिट परेपछि नियुक्ति खारेज गरिएको थियो। त्यसपछि ९ मंसिरमा परिषद्को कार्यकारी भूमिकामा रहने सदस्यसचिवका लागि दरखास्त आह्वान गरिएको हो। हाल सदस्यसचिव नहुँदा पटक-पटक तोकिएको राष्ट्रिय खेलकुदको मिति सर्नुका साथै निर्माण र भुक्तानीजस्ता काम रोकिएका छन्।

सामाजिक विकास मन्त्रालयले सदस्यसचिव छनोटका लागि सिफारिस समिति बनाएको छ। कर्णाली प्रदेश खेलकुद विकास ऐन, २०७६ को दफा १२ (१) अनुसार सामाजिक विकास मन्त्रालयका सचिवको संयोजकत्व रहने गरी नन्दा बस्याल र गणेश कार्कीलाई विज्ञ सदस्य तोकिएको छ। मन्त्रालयको युवा तथा खेलकुद महाशाखाको प्रमुख सिफारिस समितिको सदस्यसचिव हुने व्यवस्था छ। सदस्यसचिव छनोटका लागि मूल्यांकनका आधार निर्धारण गर्ने र उम्मेदवार सिफारिस गर्ने अधिकार सिफारिस समितिलाई हुन्छ।

कर्णाली प्रदेश खेलकुद परिषद्‌मा पाँच सदस्य, एक सदस्यसचिव र एकजना उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ।

अहिलेसम्म यस प्रक्रियाका लागि समितिको पूर्ण बैठक आह्वान भइनसकेको समितिका विज्ञ सदस्य गणेश कार्की बताउँछन्। “समितिमा संयोजक र सदस्यसचिव मन्त्रालयकै सचिवसहित कर्मचारी हुने भएकाले आन्तरिक छलफल वा तयारी चलिरहेको होला, हामीलाई हालसम्म बैठकका लागि खबर भएको छैन। खबर आएपछि सहभागी हुन्छौँ,” उनी भन्छन्।

समितिले कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिव छनोटसम्बन्धी मापदण्ड, २०८२ बमोजिम छनोटको प्रक्रिया अघि बढाउने छ। दरखास्त पेस गरेका उम्मेदवारहरूको मूल्यांकन गरी अधिकतम अंक प्राप्त गर्ने तीन जना उम्मेदवारको नाम समितिले मन्त्रालयमा सिफारिस गर्नेछ। मन्त्रालयले समितिबाट आएका नामहरू मन्त्रिपरिषद्‌मा लैजान्छ।

परिषद्को सदस्यसचिव छनोटसम्बन्धी मापदण्डअनुसार नेपाली नागरिक, कर्णाली प्रदेशको स्थायी बासिन्दा, २५ वर्ष उमेर पूरा भएको, नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातक उत्तीर्ण भएको, खेलकुदको क्षेत्रमा कम्तीमा पाँच वर्ष अनुभव भएको र प्रचलित कानुनले अयोग्य नठहरिएको व्यक्ति सदस्यसचिव बन्न योग्य हुन्छ।

न्यूनतम शैक्षिक योग्यताको प्राप्त लब्धांक प्रतिशतबापत ३०, न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक योग्यताबापत १०, खेलकुद क्षेत्रमा प्राप्त अनुभवबापत २०, कुनै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुदमा सहभागी भएर विजेता भएको भए २० र अन्तर्वार्ताका आधारमा २० अंक गरी कुल १०० अंक प्रदान गरिने व्यवस्था मापदण्डमा छ।

कर्णाली प्रदेश खेलकुद परिषद्‌मा पाँच सदस्य, एक सदस्यसचिव र एकजना उपाध्यक्ष नियुक्त गर्ने व्यवस्था छ। परिषद्‌मा विभागीय सामाजिक विकास मन्त्रालयको सचिव पनि सदस्य रहने व्यवस्था छ। मुख्यमन्त्री संरक्षक र सामाजिक विकासमन्त्री परिषद्को अध्यक्ष हुने व्यवस्था छ।