काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
अ+
अ-

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ। पालिकाभित्रका नागरिकको स्वास्थ्य सेवाको पहुँचलाई थप प्रभावकारी, सहज तथा सर्वसुलभ बनाउने उदेश्यले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो।

काठमाडौँ महानगरपालिकाले उपलब्ध गराएको एम्बुलेन्सलाई गाउँपालिकाले ‘एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन’ कार्यविधि बनाएर आवश्यक स्रोत, साधन र जनशक्तिको व्यवस्थापन गरेर सञ्चालन गर्न सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा रहेको पालिकाको स्वास्थ्य शाखाबाट व्यवस्थापन हुने गरी पालिकाका आठवटै वडाका नागरिकलाई स्वास्थ्य उपचारमा एम्बुलेन्स सेवा उपलब्ध हुने उनले बताए। एम्बुलेन्स सञ्चालनका लागि गाउँपालिकाले एक जना चालक र एक जना नर्ससमेत व्यवस्थापन गरेको छ।

आपत्कालीन अवस्थाका बिरामी, घाइते, सुत्केरी महिला तथा अतिआवश्यक स्वास्थ्य सेवाका लागि गाउँपालिकाको सबै वडादेखि सदरमुकाम बेनी र पोखरासम्म बिरामीलाई पुर्‍याउन र घरमा ल्याउनका लागि एम्बुलेन्सलाई प्रयोग गरिने छ। एम्बुलेन्समा अनिवार्य रूपमा एक जना नर्स र अक्सिजनलगायत अत्यावश्यक स्वास्थ्य सामग्रीको उपलब्धता हुने गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

एम्बुलेन्स सेवा लिने नागरिकले स्वास्थ्य संस्थामा जाने र आउने एकमुष्ट शुल्कमा गाउँपालिकाले निर्धारण गरेको यातायात भाडादरमा ३३ प्रतिशत रकम छुट पाउने गाउँपालिकाले जनाएको छ।