काठमाडौँ
००:००:००
९ पुष २०८२, बुधबार

९ पुष २०८२
अ+
अ-

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वी नाका काँकरभिट्टाबाट रु. सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पूर्वी नाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, मट्टितेल आयात भएको हो ।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को सोही अवधिको तुलनामा रु. २३ करोड ५२ लाख ७० हजार अर्थात् ३.१० प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको छ । आयात बढेसँगै पेट्रोलियम पदार्थबाट प्राप्त राजस्व २.५० प्रतिशत अर्थात् रु. नौ करोड ४२ लाख ९५ हजारले बढेको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

कार्यालयको तथ्यांकअनुसार चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थ आयातबाट रु. तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजस्व संकलन भएको छ । उक्त अवधिमा रु. तीन अर्ब ८२ करोड ७० लाख मूल्यका ४३ हजार १६० किलोलिटर पेट्रोल आयात भएको थियो । त्यसैगरी, रु. दुई अर्ब ५३ करोड १६ लाख मूल्यका २६ हजार १२० किलोलिटर डिजेल आयात भएको छ ।

त्यसैगरी, उक्त पाँच महिनामा रु. एक अर्ब एक करोड ६० लाख मूल्यका १० हजार ४८० मेट्रिक टन एलपी ग्यास, रु. ३२ करोड ८२ लाखको तीन हजार ५८० किलोलिटर एटीएफ र रु. छ करोड ३१ लाखका ६८० किलोलिटर मट्टितेल आयात भएको छ ।