भियना। सैन्य गतिविधिका कारण विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि युक्रेनका ख्मेल्नित्स्की र रिभ्ने आणविक विद्युत् केन्द्रहरूले विद्युत् उत्पादन घटाएका छन्।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार, आणविक सुरक्षा र संरक्षणका लागि अत्यावश्यक विद्युत् उपकेन्द्रहरू प्रभावित भएका छन्।
निकायका महानिर्देशक राफाएल ग्रोसीले विद्युत् उपकेन्द्रहरूमा क्षति पुगेको पुष्टि गर्दै भने, “द्वन्द्वका कारण विद्युत् प्रणाली लगातार कमजोर र अस्थिर बन्दै गएको छ, जसले आणविक विद्युत् केन्द्रहरूको सुरक्षित सञ्चालनमा गम्भीर जोखिम उत्पन्न गरेको छ ।”
विद्युत् उपकेन्द्रहरूले भोल्टेज रूपान्तरण र नियन्त्रणमार्फत भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्छन्, जुन आणविक केन्द्रका सुरक्षा प्रणाली र रिएक्टर चिस्याउने प्रक्रियाका लागि अनिवार्य हुन्छ। यही कारण, विद्युत् संरचनामा आएको क्षतिले आणविक सुरक्षालाई प्रत्यक्ष असर पार्ने निकायले जनाएको छ ।
यस महिनाको सुरुवातमा गरिएको मूल्यांकनमा युक्रेनका १० भन्दा बढी महत्वपूर्ण विद्युत् उपकेन्द्रहरूको अवस्था हालसम्मकै कमजोर रहेको निष्कर्ष निकालिएको थियो ।
सशस्त्र द्वन्द्वका बेला आणविक सुरक्षा सुनिश्चित गर्न निर्धारण गरिएका आधारहरू विद्युत् संरचनाको निरन्तर क्षतिका कारण कमजोर बन्दै गएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायले जनाएको छ । रासस