काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

१० पुष २०८२
अ+
अ-

काठमाडौँ। साधना घरमा १६ पुसदेखि ‘भट्टी टेल्स’ नाटक मञ्चन हुने भएको छ। जेम्स ढकालको लेखन तथा निर्देशनमा नाटक तयार भएको हो। लेखक तथा निर्देशक ढकालका अनुसार नाटकमा १३ पात्र छन् जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ। उनी भन्छन्, “कथामा १३ जना पात्र छन्। दुई पात्र केन्द्रमा छन्। बाँकी कलाकार उनीहरुको जीवनमा ठोक्किन आइपुग्छन्।”

भट्टीमा आउने मानिसहरुलाई अक्सर जड्याहाका रुपमा मात्रै हेरिन्छ। तर उनीहरु पनि आफ्नै जीवनका उतारचढावसँग जुधिरहेका पात्र हुन्। ढकाल भन्छन्, “यस्ता पात्रहरु अक्सर बेवास्ता गरिएका हुन्छन्। भट्टी टेल्स तिनै बेवास्ता गरिएका पात्रहरुको कथा चित्रण गर्ने नाटक हो।”

नाटकमा सुदाम सीके, बेदना राई, रुपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रतराज सिलवाल, गुड्डु, प्राञ्जल पाण्डे, सुदीप एटी, थार्चेन लामाको मुख्य भूमिका छ। अस्कर कलेजका १४औँ ब्याचका विद्यार्थी ढकालले यसअघि ढाकर नाटक लेखेका छन् भने प्ले द सिस्टम, गिल्टी अर नट गिल्टीलगायत नाटकमा अभिनयसमेत गरेका छन्।

अस्कर कलेजको प्रस्तुति रहेको नाटक फ्रेंकलिन एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा बनेको हो। नाटक तयार पार्न कथा घेराको पनि महत्त्वपूर्ण रहेको निर्देशक ढकालले बताए। सोसल ड्रामा विधाको भट्टी टेल्स ३ माघसम्म मञ्चन हुनेछ। मंगलबारबाहेक हरेक साँझ ५:१५ मा मञ्चन हुने नाटक शनिबारको दिन १ बजे अतिरिक्त समयमा समेत मञ्चन हुनेछ।