काठमाडौँ
००:००:००
२४ जेष्ठ २०८३, आईतवार

कला

छोरीमान्छेको आँखाबाट हेर्दा समाज कति कहालीलाग्दो थियो भन्ने बोध गराउनु ‘सेतो धरती’ को सबैभन्दा ठूलो शक्ति हो।

१९ बैशाख २०८३
तस्बिर : प्रभाकर गौतम
अ+
अ-

उडी हिँड्ने पुतलीले केके चितायो
एक धर्को सिन्दुरले जीवन बितायो…!

१४ वर्षअघिसेतो धरती उपन्यासमा चराको गीत र नदीको संगीत शीर्षकभित्र रहेको यस गीतका शब्द पढ्दा मैले त्यसमा आफ्नै धुन भरेर गुनगुनाएको थिएँ।

वैराग्यले नभई बेवास्ता र अपमानले लखेटिएकी ताराको यतिबेला अपरिचित मानिसहरूको जत्थामा मिसिएर देवघाटतिर लम्किँदै हुन्छिन्। वनको बीचैबीच हिँड्दा ताराले टाढा कतै घँसियाले वनै घन्किने गरी यही गीत गाएको सुन्छिन्। गीत सुनेर उनी आत्ममन्थन गर्छिन्, ‘कसले गाएका हुन् कुन्नि? वनभन्दा बढी मेरो मन घन्कियो।’

यो गीत वा सन्दर्भ मात्र नभई सेतो धरती पढ्दा मैले उपन्यासकी मुख्य पात्र एउटै ताराका फरक आकृतिहरू बनाएको थिएँ। सात वर्षमा बालविवाह गर्न बाध्य अबोध तारा, सामाजिक नियमले बालविधवा करार गरेर यौवनको चञ्चलता खोसिएकी किशोरी तारा र नियतिसँग मौन विद्रोह गर्दै अस्तित्वको खोजमा बाँचिरहेकी वृद्ध तारा।

लेखक अमर न्यौपानेको बहुचर्चित उपन्यास सेतो धरती भावविह्वल हुँदै पढेको वर्षौंपछि यी तीनै तारालाई मैले कान्तिपुर थिएटरको मञ्चमा भेट्ने मौका पाएँ। आख्यानका पात्रहरू मञ्चमा उत्रेर आफ्ना हाउभाउ र आँखा फेरि उही कारुणिक अनुभूतिको कथा भनिरहेका थिए। नाटकको अन्तिम दृश्यमा तीन फरक उमेरका तारा एकै घरमा देखिँदा ताराको जीवनयात्राको फेरि एक पटक साक्षी बनेको महसुस भयो।

थुप्रै पाठकले रुचाएको, मदन पुरस्कारसमेत पाएको लगभग ४०० पृष्ठको आख्यानलाई निर्देशक सुन्दर धितालले नाट्य रूपान्तरण गर्नु चुनौतीपूर्ण काम हो। करिब डेढ घन्टामा ७ वर्षकी, १६ वर्षकी र वृद्धा उमेरकी ताराका तीनै चरणलाई मञ्चमा देखाउन उनी सफल छन्।

नाटकमा १९९० सालपछिको सांस्कृतिक परिवेश, सामाजिक रीति अनि बेथितिलाई यथार्थपरक शैलीमा देखाउने सक्दो प्रयास गरिएको छ। ती प्रयास पहिरन, संवाद र मञ्चमा चित्रित परिवेशमा प्रतिविम्बितसमेत भएका छन्।

सेतो धरतीको नाटकको कथा अरे बाट सुरु हुन्छ। मेरो बिहे भयो अरे… त्यसको दुई वर्षपछि म विधवा भएँ अरे…।

बिहे भइरहेको बेला निदाउने कलिली ताराका लागि बिहेको अर्थ साथीहरूसँग भाँडाकुटी खेल्नुभन्दा बढी हुँदैन। उनका लागि श्रीमान् मर्नु कोही अपरिचित मानिसको निधनभन्दा अन्यथा थिएन।

आफ्नो जीवनमा घटिरहेका घटना/दुर्घटनाबारे अन्जान भए पनि ताराले ती सबैको कठोर मूल्य चुकाउनुपर्छ। त्यसले नै ताराको जीवनलाई आकार दिन्छ।

तत्कालीन समाजमा विधवालाई बाटोमा देख्यो भने पनि अलच्छिना लाग्छ भन्ने मान्यता थियो। पुरुषसँग हाँस्नु-बोल्नु अपराध मानिन्थ्यो। यस्तो सामाजिक निषेधको वातावरणमा तारा न श्रीमान्‌को घरमा अटाउँछिन्, न आफू जन्मेको घरमै टिक्न सक्छिन्। एक्लो र निरीह भएर लामो समम बस्न नसकेपछि उनी अन्तर्मनको यात्रामा निस्किन्छिन् र पुग्छिन् देवघाट।

नाटक देवघाटकै दृश्यबाट सुरु भएको छ। मञ्चको बायाँ वृद्ध ताराको संसार छ भने मञ्चको दायाँतर्फ उनको बाल्यकालको घर देखिन्छ। ताराको भूमिका निर्वाह गरेकी अभिनेत्री बेनिसा हमाल सूत्रधार बनेकी छन्। ताराको कथालाई वर्तमान र अतीतका घटना वा भावनासँग संयोजन गर्दै प्रस्तुत गरिएको छ। वर्तमान र अतीतबीच द्वन्द्व सिर्जना गरी कथालाई गतिशील बनाउने यो शैली प्रभावकारी लाग्छ।

मञ्च सज्जावट, रङ, ध्वनि, संगीत, प्रकाशलगायत प्रोडक्सन डिजाइन नाटकको भावनात्मक प्रभाव बढाउने महत्त्वपूर्ण पक्ष हुन्। सेतो धरतीमा प्रोडक्सन डिजाइनको कामले ठाउँ ठाउँमा दर्शकको ध्यान खिच्छ। खासगरी प्रकाश र ‘फोक्तो’ समूहको लाइभ संगीतले मुडअनुसार पात्रका भावनालाई जीवन्त बनाएको छ।

सेतो धरती नाम जस्तै ताराको संसारमा सबै सादा छ, जहाँ उनलाई श्रीमान‍् मरेको सात वर्षपछि मासिक स्राव हुँदा आफ्नै रगतको रातो रङले समेत बिझाउँछ। सेतो पहिरनमा रगत लतपतिएको रातो हातसहितकी तारालाई मञ्चमा देख्दा दर्शकलाई समेत असहज बनाउँछ।

नाटकमा दुःखैदुःखका बीच केही रमाइला क्षण पनि आउँछन्। खासगरी बाल्यकालकी ताराले गोविन्द र अन्य साथीहरूसँग बिताउने क्षणलाई रमाइलोसँग चित्रण गरिएको छ। सानोमा खेल खेल्दा तारा र गोविन्द सधैँ बेहुला-बेहुली बन्छन्। त्यो खेल किशोर अवस्थामा आइपुग्दा आकर्षण र प्रेम जस्तै केही हुन्छ। हावामा एकछिन बेलुन उड्दा मन रमाएझैँ दुवै रोमाञ्चित हुन्छन्। तर, तारा र गोविन्द दुवैको यात्रा र गन्तव्य अलग हुन्छ। नजिक नभए पनि तारा गोविन्दलाई स्मृतिमा बोकेर हिँड्छिन्।

गोविन्दबाहेक ताराको जीवनमा साथी भनेको यमुना मात्रै हो। यमुनालाई त तारा उनको श्रीमान्‌सँगका प्रेमसम्बन्धका नितान्त गोप्य कुरा समेत सोध्न सक्छिन्।

बालखैमा विधवा बनेर समाजले पुरुषबाट टाढा राखे पनि तारामा उमेरजन्य पुरुषप्रतिको जिज्ञासा वा यौन चाहना नपलाउने होइन। ताराका यस्ता किशोरवय मनोवेगलाई यमुनासँगको संवादमार्फत प्रकट गरिएको छ। तारा उत्साहित हुँदै यमुनालाई उनको श्रीमान्‌सँग निजी क्षण र संसर्गका कुराहरू सोध्दै जान्छिन्, यमुना छिल्लिँदै ताराका जिज्ञासा मेटाउँदै जान्छिन्। एकातिर एक्ली तारा, अर्कातिर यमुना र उनका श्रीमान्‌बीचको रोमान्स। लाल्टिनको प्रयोगसहितको यो दृश्यमा सेतो र रातो रङको ‘जक्स्टापोज’ कलात्मक र बोल्ड लाग्छ।

नाटकका यस्ता दृश्यहरू हेर्दा लाग्छ, तारा र यमुनाबीचको फरक भनेको रङको राजनीति हो। परम्पराको नाममा सेतो र रातो रङबीचको अन्तर हिजोको समाजमा कति बलियो थियो भन्ने कुरा नाटकले छर्लंग पार्छ। र, विगतमा बालविधवा वा विधवाप्रति भएका अपमान र अन्यायको समीक्षा गर्न मागसमेत गर्छ। छोरीमान्छेको आँखाबाट हेर्दा समाज कति कहालीलाग्दो थियो भन्ने बोध गराउनु सेतो धरतीको सबैभन्दा ठूलो शक्ति हो।

सेतो धरती कृति होस् वा नाटक, दुःखकै कथा हो। केही कलात्मक दृश्य, केही रमाइला क्षणबाहेक नाटकमा अधिकांश दृश्यमा दुःख नै हाबी छ। तर, उपन्यासमा दुःख भावना, अनुभूति, दर्शन र दृष्टिकोणका रूपमा आएको छ। नाटकमा भने धेरै ठाउँमा दुःख भनेको चर्को स्वरमा रुनु हो भन्ने बुझाइ हाबी देखिँदा खल्लो लाग्छ।

तर, रंगमञ्चको खास विशेषता छ। नाटकले शब्दलाई दृश्यमा बदल्छ, निर्जीव पात्र र क्षणहरूलाई सजीव बनाइदिन्छ।

सेतो धरतीले म र म जस्ता धेरै दर्शकले मानसपटलमा वर्षौंअघि सजाएको तारालाई मञ्चमै देख्ने, भेट्ने, सुन्ने र महसुस गर्ने मौका दियो।

सेतो धरती आख्यानका लागि मदन पुरस्कार ग्रहण गर्ने क्रममा लेखक अमर न्यौपानेले अनुभवप्रधान र अनुभूतिप्रधान आख्यानको भेदबारे समेत बोलेका थिए। उनको विश्लेषणअनुसार अनुभवप्रधान हुनु भनेको अनुभूतिको कच्चा रूप हो, नौनी घिउ जस्तो, जुन खारिएको हुँदैन। तर, अनुभूतिप्रधान आख्यान खारिएको जीवनअनुभव हो, जो कोमल रूपले जीवनदर्शन बनेर नजानिँदो गरी पात्रको भोगाइबाट आएको हुन्छ।

यहाँ नाटक र पुस्तकको तुलना गर्ने हो भने, निर्देशक धितालद्वारा निर्देशित नाटक अनुभवप्रधानसम्म मात्र बनेको छ। आख्यानको जीवनदर्शनलाई मजाले पक्रन सकेको भए नाटक अनुभूतिप्रधान बन्ने थियो कि?