काठमाडौँ। प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित भएकाले नेपाली कांग्रेसको महाधिवेशनको कार्यतालिका संशोधन हुने नेताहरूले बताएका छन्।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले ९ पुसदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठक प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित भएको बताए। “बैठक महाधिवेशनमा भन्दा बढी निर्वाचन र निर्वाचनका लागि बनाउनुपर्ने सूचीमा केन्द्रित भएको छ, महाधिवेशनको कार्यतालिका कसरी संशोधन गर्ने भन्ने चुनौतीसमेत बढेको छ। नेताहरूले कुरा राख्ने क्रम जारी छ, कसरी अगाडि बढ्नेबारे कुनै निर्णय आउँछ,” पाण्डेले भने।
कांग्रेसमा नियमित महाधिवेशनको सम्भावना टर्दै गएपछि पार्टीमा विशेष महाधिवेशनको माग फेरि उठेको छ। विशेष गरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको माग उठाएका छन्। शुक्रबार दुवै महामन्त्रीले पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्धारित समय ९२६-२८ पुस०मा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन बोलाइने दोहोर्याए।
“नियमित महाधिवेशन हुने सम्भावना कम देखिएको छ, यसकारण विशेष महाधिवेशन बोलाउन माग गरिने छ,” थापाले पत्रकारहरूसँग भने, “अब बस्ने केन्द्रीय समिति बैठकमा हामी कुरा उठाउँछौँ।”
अर्का महामन्त्री शर्माले समेत विशेष महाधिवेशनमा आफूहरू उभिने बताए। “एक जना महामन्त्रीले बताइसक्नुभएको छ, मेरो कुरा पनि फरक छैन,” उनले भने।
२३ र २४ भदौको जेन-जी आन्दोलनपछि कांग्रेसमा विशेष महाधिवेशनको माग बढेको थियो। २९ असोजमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए। विशेष महाधिवेशन पक्षधरले शुक्रबार दुवै महामन्त्रीलाई स्मरण पत्रसमेत बुझाएका छन्। त्यसमा २८ पुसभित्रै विशेष महाधिवेशन गर्नैपर्ने माग दोहोर्याइएको छ।
विधानतस् कांग्रेस महाधिवेशन १५ मंसिरमै हुनुपर्थ्यो। तर, उक्त समयमा नेतृत्वले महाधिवेशनको तयारी गरेन। यसपछि विशेष महाधिवेशन गर्न पार्टीभित्रकै दबाबका बाबजुद १५ मंसिरमा बसेको केन्द्रीय समिति बैठकले २६ देखि २८ पुसभित्र नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।
यता ९ पुसदेखि जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महाधिवेशन तयारी साथै समानुपातिक निर्वाचनको सूची निर्वाचन आयोगमा बुझाउने र क्रियाशील सदस्यता नवीकरण तथा वितरणको विषयमा छलफल भइरहेको छ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले १३ र १४ पुसभित्र समानुपातिक सूची निर्वाचन आयोगमा पठाइसक्नुपर्ने हुँदा छलफल त्यता केन्द्रित भइरहेको बताए। “महाधिवेशनमा जाँदा सबैभन्दा महत्त्वपूर्ण विषय क्रियाशील सदस्यता नवीकरण र वितरण हो, ती दुवै सकिएको अवस्था छैन,”उनले भने।
पौडेलका अनुसार कांग्रेसमा अहिले आठ लाख ७० हजार क्रियाशील सदस्य छन्। तीमध्ये पाँच लाख ४६ हजार क्रियाशील सदस्यता नवीकरण भएको छ। यो बिहीबार साँझसम्म केन्द्रमा प्राप्त भएको विवरण हो। “८० प्रतिशत सदस्यता नवीकरण हुन्छ भन्ने लक्ष्य छ, ७७ वटा जिल्लामध्ये केही जिल्लाको विवरण प्राप्त भइसकेको छैन,” उनी भन्छन्।
पौडेलका अनुसार ६ हजार ६४३ वडामै क्रियाशील सदस्यता नवीकरण र वितरणको काम भइरहेको छ। “नयाँ क्रियाशील सदस्यताको विषयमा सुरुमा वडाबाट पालिका, पालिकाबाट प्रदेश र निर्वाचन क्षेत्रमा पठाएर अन्तिम टुंगो लागेपछि मात्रै विवरण यकिन हुन्छ,” उनले भने ।