काठमाडौँ। निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिक तर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ।
आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले आज (शनिबार) विज्ञप्तिमार्फत रितपूर्वक बन्दसूची पेस गर्न आग्रह गरेका हुन्। आयोगले १३ र १४ पुसमा बन्दसूची पेस गर्ने कार्यतालिका तय गरेको छ।
जसअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८‚ प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली‚ २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका‚ २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि‚ प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रीत पुर्याएर उम्मेदवारको बन्दसूची तयार पार्न आयोगले आग्रह गरेको हो।
आयोगले भनेको छ‚ “समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिने गरी दर्ता भएका राजनीतिक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली‚ २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका‚ २०८२ को दफा १३ ले तोकेबमोजिमको विधि‚ प्रक्रिया र प्रमाण कागजात पूरा गरेर रित पुर्याएर मात्र उम्मेदवारको बन्दसूची तयार गरी निर्वाचन कार्यक्रममा निर्धारित समयभित्र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको बन्दसूची पेस गर्नुहुन अनुरोध गरिन्छ।”
साथै राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनको लागि तयार गरेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेपछि वा पेस गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीका लागि सार्वजनिक गर्न सक्ने पनि विज्ञप्तिमा उल्लेख छ।
