काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीको निर्वाचन कार्यतालिका परिवर्तन नहुने स्पष्ट पारेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दलहरूले अन्तिम समयमा बन्दसूचीमा फेरबदल गर्ने प्रवृत्ति पुरानै समस्या बनिसकेको बताए। यस्तो अवस्थामा कार्यतालिका संशोधन गरिए निर्वाचन प्रक्रियामै असर पर्न सक्ने उनको भनाइ थियो।
आयोगले सामान्य त्रुटिहरू सच्याउन सुझाव दिन सक्ने भए पनि बन्दसूची पेश गर्ने समय नै थप्ने वा घटाउने निर्णय गर्दा निर्वाचन नै प्रभावित हुन सक्ने भण्डारीले बताए। त्यसकारण हालको कार्यतालिका संशोधन गर्ने अवस्था नरहेको उनले स्पष्ट गरे।