काठमाडौँ। कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाउने तयारी गरेका छन्। २७ पुसमा विशेष महाधिवेशन बोलाउने तयारी महामन्त्रीद्वले गरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए।
विशेष महाधिवेशनको तयारीस्वरूप भृकुटीमण्डपमा हलसमेत बुकिङ गरिएको छ। “तीन दिनभित्रमा विशेष महाधिवेशन बोलाउनेबारे पत्रकार सम्मेलन गर्ने, अहिले नियमित महाधिवेशन स्थगित भएकोबारे जानकारी दिने गरी वक्तव्य सार्वजनिक गर्ने तयारी भइरहेको छ,” शिवाकोटीले भने।
नियमित महाधिवेशन स्थगित भएको र विशेष महाधिवेशन बोलाउने सन्दर्भमा दुवै महामन्त्री छलफलमा जुटेका छन्। पार्टी नेतृत्व भने विशेष महाधिवेशनको पक्षमा छैन। “विशेष महाधिवेशन आह्वान हुने जानकारी नेतृत्वलाई दिन्छौँ। अध्यक्षता गरिदिनुस् भनेर निम्तो दिन जान्छौँ,” शिवाकोटीले भने।
विशेष महाधिवेशन पक्षधर दुवै महामन्त्रीसँग सभापति शेरबहादुर देउवाले बैठक गर्ने तयारी गरेका थिए। देउवाले बिहीबार साँझ ५ बजे कार्यवाहक सभापतिसहित बैठक बोलाएका थिए। “उहाँले अचानक बैठक स्थगित गर्ने सूचना पठाउनुभएको छ,” शिवकोटीले भने।
९ पुसमा बसेको कांग्रेस कार्यसम्पादन समिति प्रतिनिधिसभा समानुपातितर्फको सूची निर्वाचन आयोगमा बुझाईकन पुन: बसेको छैन। “नेताहरू छलफलमा हुनुहुन्छ, बैठक बस्न सकेको छैन,” मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, “कुनै निष्कर्ष निस्किएला।”
कांग्रेसले २७ पुसमा नियमित महाधिवेशन आह्वान गरेको थियो। २९ असोजमा विशेष महाधिवेशन पक्षधर ५३ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर बुझाएका थिए। केन्द्रीय कार्यालयले हस्ताक्षर बुझेपछि नियमित महाधिवेशन बोलाएको थियो।
नियमित महाधिवेशन नहुने निश्चित भएपछि विशेष महाधिवेशन पक्षधरले नेतृत्वमा दबाब बढाइरहेका छन्। ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको खण्डमा विशेष महाधिवेशन बोलाउनुपर्ने विधानमा व्यवस्था छ।