काठमाडौँ
००:००:००
१८ पुष २०८२, शुक्रबार

१८ पुष २०८२
तस्बिर : नेपाल पर्यटन बोर्ड
अ+
अ-

काठमाडौँ। सन् २०२४ को तुलनामा २०२५ मा नेपाल आउने पर्यटकको संख्या करिब चार प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार, गत वर्षभन्दा ३.९ प्रतिशतले विदेशी पर्यटकको आगमन बढेको छ।

सन् २०२५ मा कुल ११ लाख ५८ हजार ४५९ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

अहिलेसम्मको तथ्यांकअनुसार, सन् २०१९ मा नेपालमा सबैभन्दा धेरै पर्यटक आएका थिए। त्यसवर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल भित्रिएका थिए।

२३ र २४ भदौमा भएको जेन–जी आन्दोलनको कारण नेपालमा पर्यटक आगमन प्रभावित हुने आकलन गरिए पनि यसले त्यति ठूलो असर पारेको देखिएन।

नेपालमा आन्दोलन भएको महिना सेम्टेम्बरमा भने नेपाल आउन होटल र एअरलाइन्सको टिकट बुक गरिसकेका पर्यटकले पनि रद्द गरेका थिए। त्यस महिना भने पर्यटकको संख्या घटेको थियो। सन् २०२५ सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक मात्रै नेपाल भित्रिए। जबकि, सन् २०२४ को सेप्टेम्बरमा भने ९६ हजार ३०५ जना पर्यटक आएका थिए।

त्यसपछिका महिनाहरू अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनामा भने पर्यटकको आगमन अघिल्लो वर्षको सोही महिनाको तुलनामा बढेको छ। सेम्टेम्बरदेखि डिसेम्बरसम्मलाई नेपालमा पर्यटनको सिजनको रूपमा लिइन्छ।

सेम्टेम्बरमा पर्यटकको संख्या नघटेको हुन्थ्यो भने यस वर्ष सन् २०१९ मा नेपालमा आएका भन्दा धेरै पर्यटक भित्रिने अवस्था बन्थ्यो।

सन् २०२५ मा भारतबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन्। यसवर्ष दुई लाख ९२ हजार ४३८ भारतीय पर्यटक नेपाल आएका थिए। भारतपछि सबैभन्दा धेरै पर्यटक अमेरिकाबाट आएका छन्।

सन् २०२५ मा नेपालमा धेरै पर्यटक आएका १० देश

भारत: दुई लाख ९२ हजार ४३८
अमेरिका: एक लाख १२ हजार ३१६
चीन: ९५ हजार ४८०
बेलायत: ५८ हजार ६८४
बंगलादेश: ५७ हजार ५४५
अस्ट्रेलिया: ४९ हजार ३५७
श्रीलंका: ३७ हजार ५५०
थाइल्यान्ड: ३० हजार २४३
जर्मनी: ३० हजार २२७
जापान: २४ हजार ७६३