काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

२६ पुष २०८२
अ+
अ-

भोजपुर। नेपालको पूर्वी पहाडी जिल्ला भोजपुर रुद्राक्ष खेतीको लागि निकै प्रख्यात छ। यो जिल्ला सुन्तला र अलैंचीका अलवा रुद्राक्ष खेतीको लागि प्रशिद्ध बन्दै गएको छ।

धार्मिक, सांस्कृतिक तथा आर्थिक रूपमा महत्वपूर्ण मानिने रुद्राक्षको व्यावसायिक खेती विस्तारसँगै यहाँका किसानहरूको आम्दानीको प्रमुख स्रोत बनेको छ। प्राकृतिक रूपमा रुद्राक्ष उत्पादनका लागि उपयुक्त हावापानी र माटो रहेको भोजपुर जिल्लामा यसको खेती र यसबाट हुने आम्दानी पनि बढेको छ।

“यहाँ रुद्राक्षका करिब एक लाख विरुवा छन् र यो नगरपालिका नेपालको रुद्राक्षको राजधानी हो। रुद्राक्षको व्यापारबाट हामीले करिब सय करोड आम्दानी गरिरहेका छौं। यहाँबाट हामीले एकदेखि २९ मुखेसम्मका रुद्राक्ष बिक्री गरेका छौं। मुख अनुसार यसको मुल्य पनि फरक हुने गरेका छन्।

यहींबाट एकजना किसानले २१ मुखे रुद्राक्ष ७४ लाखमा पनि व्यापारीलाई बिक्री गर्नु भएको छ।” षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदासले नेपाल फोटो लाइब्रेरिलाई भने।

अहिले भोजपुरका साल्पासिलिछो, षडानन्द, रामप्रसाद र टेम्केमैयुङ गाउँपालिकाका विभिन्न वडाहरूमा रुद्राक्षका बगैँचा विस्तार हुँदै गएका छन्। पहिले जङ्गलमा प्राकृतिक रूपमा पाइने रुद्राक्ष वर्षौंदेखि व्यवसायिक रूपमा खेती गर्न थालिएको छ।

यहाँका स्थानीय किसानहरूका अनुसार रुद्राक्ष खेती दीर्घकालीन भए पनि एकपटक उत्पादन सुरु भएपछि वर्षौंसम्म राम्रो आम्दानी लिन सकिन्छ।

यहाँ उत्पादन हुने रुद्राक्ष धार्मिक संगसंगै सजावट र श्रृङ्गारका लागि पनि उपयोग हुँदै आएका छन्। यहाँ उत्पादित रुद्राक्षबाट माला, ब्रासलेट, कन्ठी, झुम्का, औँठी, पूजा सामग्री लगायतका वस्तुहरु बनाउने गरिन्छ।

हाल भोजपुरमा उत्पादन भएका रुद्राक्ष तथा सामग्रीहरू नेपालकै काठमाडौं, धरान, विराटनगर लगायतका क्षेत्रका साथै भारत र चीनमा समेत निर्यात हुने गरेका छन्।