सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलको नेता चयन गरेको छ।
शनिबार बसेको संसदीय दलको बैठकले मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य मंगलबहादुर शाहीलाई बहुमतबाट संसदीय दलको नेता चयन गरेको हो।
दलको नेताका लागि प्रदेशसभा सदस्य विन्दमान विष्ट‚ दुर्गबहादुर रावत र मंगलबहादुर शाहीले दाबी नछोडेपछि बहुमतको आधारमा शाही दलको नेतामा चयन भएका हुन्।
दलको नेताका लागि शुक्रबारको बैठकमा रणसिंह परियार र कृष्णबहादुर जीसीले पनि दाबी गरेका थिए। तर शनिबारको बैठकमा परियार र जीसीले सहमतिका लागि दाबी छोडेका थिए।
तत्कालीन माओवादी केन्द्र र एकीकृत समाजवादीलगायत वाम घटकबीच एकता हुनुअघि राजकुमार शर्मा माओवादी केन्द्रको संसदीय दलको नेता थिए। गत १७ मंसिरमा दलको नेताबाट राजीनामा दिएर उनी जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेका थिए।