चार बीस उमेर काटेर शारीरिक शिथिलताले छोपिसक्दा पनि लोभलाग्दो छ, लोकेन्द्रबहादुर चन्दको लेखन सक्रियता।

३ माघ २०८२
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द। तस्बिरहरू : बिक्रम राई
अ+
अ-

आउँदो फागुनमा ८६ वर्षमा टेक्दै छन् उनी। ढाड र घुँडाको समस्याले त्यति हिँडडुल गर्न सक्दैनन्। आँखाको पावर घटेको छ र चस्माको बढेको। तर, उनको दिनचर्या फेरिएको छैन। बिहान ६ बजे उठिसकेका हुन्छन्। नित्य पूजापाठ र योग नसकी चिया पिउँदैनन्। अहिले काठमाडौँमा चिसो ह्वात्तै बढेको छ। त्यसैले घरकै आँगनमा टहलिन १० बजे मात्र कोठाबाट निस्किन्छन्।

चारपटक प्रधानमन्त्री भइसकेका लोकेन्द्रबहादुर चन्द ढल्किँदो उमेरका कारण शारीरिक रूपमा केही शिथिल देखिन्छन्। तर, यो शारीरिक असहजताले उनको बौद्धिक सक्रियता रोक्न सकेको छैन। विगतमा राजनीतिमा सक्रिय हुँदा साहित्य लेखनमा समय दिन नपाएको थकथकी उनमा छ। राजनीतिक कर्मबाट किनार लागेपछि अहिले लेखन र पुनर्लेखनका अधुरा रहर पूरा गरिरहेका छन्।

बिहानको खाना खाएपछि भरसक नसुत्न उनलाई चिकित्सकहरूले सल्लाह दिएका छन्। यसैले बिहानको खाना खाएपछि करिब दुई घण्टा लेखपढमा बिताउँछन्। चिकित्सकहरूले त उनलाई आँखामा बढी दबाब नदिन पनि सुझाव दिएका छन्। तर, उनको मन मान्दैन। साहित्यको अनुरागले उमेरगत अप्ठेरा र सीमा बिर्सिन्छन्।

यतिबेला उनी आफ्ना पुराना कृतिहरूको परिमार्जनमा जुटेका छन्। राजनीतिमा सक्रिय हुँदा समयको चापमा हतारिएर लेखिएका, छापिएका सन्ध्यावलीलगायत कवितासंग्रहहरू माझ्ने-चम्काउने तयारीमा छन्। माओवादी द्वन्द्वकालमा उनको कथासंग्रह पाहुनाघर (२०६८) प्रकाशन भएको थियो, त्यसलाई अंग्रेजीमा अनुवाद गर्न पनि जुटिरहेका छन्। यस काममा उनलाई नातिनातिनाले सघाइरहेका छन्। उनको आत्मकथा पनि एकसरो लेखिसकिएको छ। जसलाई अद्यावधिक गर्न जेठा छोरा जयन्तको सहयोग लिइरहेका छन्।

“राजनीतिबाट बल्ल त फुर्सद पाइयो। हिँडडुल पनि कम भएको छ। दैनिक दुई घण्टा पुनर्लेखनमा सक्रिय छु,” हालैको एक अपराह्नको कुराकानीमा चन्दले सुनाए।

पहिले उनी काठमाडौँको जडीबुटीस्थित मनोहरा फाँटमा रहेको आफ्नो घरमा बस्थे। ढाड र घुँडामा समस्या देखिएसँगै अहिले भक्तपुर कौशलटारस्थित अर्का छोरा अरुणको घरमा बसिरहेका छन्।

साहित्य संसारप्रति चन्दको ध्याउन्न कस्तो छ भने, यहीसँग जोडिएका चासो र चिन्तामा उनी डुबेका छन्। आफूले लेखेका पुराना किताबहरूको संकलन हराएको दुखेसो यसरी पोख्छन्, मानौँ छोराछोरी हराएजस्तो। “हेर्नु न, घरबाट यहाँ आउँदा पुराना किताबहरू एउटा पोकामा हालेको थिएँ, भेटिँदै भेटिएन। अस्तिसम्म आफैँले लेखेको कृतिको कुनै संकलन मसँग थिएन। साझा प्रकाशन, शुभचिन्तक र पुस्तक प्रकाशकहरूलाई आग्रह गरेपछि तीनचार वटा कपी पाएको छु,” उनी भन्छन्।

आधा दर्जन कथासंग्रह प्रकाशन गरेका उनले उपन्यास पनि लेखेका छन्। उनले हिन्दी र नेपाली दुवै भाषामा कविता लेखे। ३ फागुन १९९६ मा सुदूरपश्चिमको विकट जिल्ला बैतडीको कुरुकुटी गाउँमा जन्मिएका चन्दले लेखेको पहिलो कविता नै हिन्दीमा थियो।

त्यतिबेला सुदूरपश्चिमेली जनताको शिक्षा आर्जनको केन्द्र भारतको पिथौरागढ थियो। चन्द पिथौरागढमा कक्षा ६ मा पढ्दै थिए। एकदिन उनले फूलको प्रशंसा गरेर एउटा कविता लेखे। फूलमा पोखिएको उनको भावना देखेर वंशीधर भट्ट नाम गरेका शिक्षक यति प्रफुल्लित भए, चन्दलाई त्यही कवितामा छन्द मिलाउन सिकाए।

पिथौरागढमा असारको अन्तिम सातादेखि पढाइ सुरु हुन्थ्यो। तर, चन्द दसैँको छुट्टी सकिएपछि भर्ना भए। यसबीच छुटेका सबै पाठ सिकाउन स्कुलका प्रधानाध्यापकले एक जना शिक्षकको व्यवस्था गरिदिए। ती शिक्षक थिए, उनै भट्ट जो आफैँ कवि थिए। जसको प्रेरणाले उनलाई कविता लेखनमा हौस्यायो।

“हिन्दीमा पहिलो कविता लेख्दा म ११-१२ वर्षको थिएँ। मेरो क्षमता बुझेर नै होला, गुरुले अभिप्रेरित गर्नुभयो। ७५ वटाजति कविता हिन्दीमा लेखेँ,” उनी कविता लेखनको सुरुआती दिन सम्झँदा अहिले पनि आनन्द मान्छन्। उनको हिन्दी कवितासंग्रह इन्द्रधनुष प्रकाशित छ, जसले डा. कृष्णचन्द्र मिश्र हिन्दी सम्मान पाएको थियो।

हिन्दी भाषामा कविता लेख्न थालेको करिब तीन वर्षपछि मात्र उनले नेपालीमा लेख्न सुरु गरे। उनको पालामा सुदूरपश्चिममा शिक्षाको ठूलो अभाव थियो। नेपाली पाठ्यक्रमको नाममा सचेत वर्णमाला मात्र उपलब्ध थियो। रेडियो नेपालबाट गुन्जिने मबीबी शाह (राजा महेन्द्रको साहित्यिक नाम)का केही गीत र कविताबाहेक उनले नेपाली साहित्यको रसास्वादन खासै गर्न पाएका थिएनन्। “नेपाली साहित्य पढ्न पाउने कुरै छोडौँ, प्रधानमन्त्री को हो भन्दा जवाहरलाल नेहरू भन्नुपर्ने अवस्था थियो,” उनी सम्झन्छन्।

२०१५ सालपछि भने नेपाली साहित्यमा उनी मजैले भिज्न थाले, जब सर्टिफिकेट लेभलको अध्ययनका लागि उनी काठमाडौँको त्रिचन्द्र कलेजमा भर्ना भए। चन्दलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको कविताले लठ्यायो। पुष्करशमशेर राणा, गुरुप्रसाद मैनाली र भवानी भिक्षुका कथा पढे। माधवप्रसाद घिमिरेको कविताको लालित्यले तान्यो। “काठमाडौँमा भ्याएसम्म धेरै किताब पढेँ। यसले मेरो चेतलाई माथि उठायो,” उनी भन्छन्।

त्यसपछि उनी पाठकमा सीमित रहेनन्, फाट्टफुट्ट लेख्ने भए। काठमाडौँबाट घर फर्किएपछि नेपालीमा कथा र कविता लेख्न थाले।

चन्दको घरायसी कुरा गर्ने हो भने, उनीअघि परिवारका अन्य सदस्यको साहित्यसँग कुनै साइनो थिएन। तर, बुवा महावीर चन्द एकाबिहानै अनुष्टुप् छन्द मिलाएर चण्डीपाठ गर्थे। बुवा सितारवादनमा पनि पोख्त थिए।

सितारको धुन र चण्डीपाठ सुनेर हुर्किएका उनीभित्र त्यसले नै साहित्यिक भावना हुर्काउँदै लग्यो। बुवाको चण्डीपाठ उनलाई यति घत लाग्थ्यो, यही छन्दबाट प्रभावित भएर पहिले हिन्दी र पछि नेपालीमा कविता लेख्न सुरु गरे। गाउँघरमा आयोजना हुने पूजाहरूमा ब्राह्मणहरूले भट्याउने श्लोकले पनि उनलाई आकर्षित गर्‍यो। सानोमा उनलाई संगीत सिकाउन बुवाले घरमै एक शिक्षकको व्यवस्था गरिदिएका थिए। त्यसैले उनी अहिले पनि हार्मोनियम राम्रो बजाउँछन्।

“घरमा साहित्यिक वातावरण थिएन, बुवाको सितार र चण्डी श्लोकले नै मलाई लेखनमा घचघच्याएको हो कि जस्तो लाग्छ,” उनी भन्छन्, “कवितामा जोडिनुअघि म संगीतसँग जोडिएको थिएँ।”

पहिले कविता मात्र लेख्ने गरेका चन्दले काठमाडौँबाट फर्किएपछि २०२०/२१ सालबाट कथा लेख्न सुरु गरे। “गुरुप्रसाद मैनाली, पुष्करशमशेर राणा र भवानी भिक्षुलाई पढेपछि मेरो मथिंगल हल्लियो। यसपछि कथातर्फ आकर्षित भएँ,” उनी भन्छन्। उनका हिउँका तन्ना (२०४२), विसर्जन (२०५४), रात्रिभोज (२०६४), पाहुनाघर (२०६८) लगायत कथासंग्रह छन्। यस्तै, व्यंग्यात्मक निबन्धसंग्रह बाह्रौँ खेलाडी (२०३५) र कुर्सी (२०६८), नाट्यकृति नेताको साथी (२०४१), उपन्यास अपराजिता (२०८०) प्रकाशित छन्। कवितासंग्रहमा अपरिचित (२०५१), सन्ध्यावली (२०५८), तिम्रो झलक (२०५९) छन्।

२०३० सालमा राष्ट्रिय पञ्चायतको सदस्य भएर काठमाडौँ फर्किएपछि उनको पठनको दायरा फराकिलो भयो, त्योसँगै साहित्य लेखनको रफ्तार पनि बढ्यो। “काठमाडौँमा चारैतिरका साहित्यिक पुस्तकहरू उपलब्ध हुने। राष्ट्रिय पञ्चायतको सदस्य भएर फर्किएपछि नेपाली साहित्यको पुस्तक मात्र होइन, सोभियत भूमिमा प्रकाशन हुने लिओ टोल्सटोय, आन्तोन चेखभ, एलेक्जेन्डर पुस्किन, फ्योदोर दोस्तोभ्स्कीजस्ता विख्यात लेखकको पुस्तक पनि पढ्न पाइयो। अमेरिकी लेखक विलियम समरसेटलाई पनि पढेँ,” उनी सुनाउँछन्।

उनको निबन्धकृति बाह्रौँ खेलाडी (२०३५)ले उतिबेलै चर्चा कमाएको थियो। यो कृति निकै लोकप्रिय भएका कारण कतिपयले उनलाई बाह्रौँ खेलाडी नामबाटै सम्बोधन गर्ने गरेका छन्। नेताको साथी नाटकको प्रहसन राजधानी काठमाडौँदेखि जिल्लासम्म प्रदर्शन भयो, जसले उनको चिनारी थप फैलायो। २०५४ सालमा कथाकृति विसर्जनका लागि नेपालको प्रतिष्ठित मदन पुरस्कार पाएपछि त उनी साहित्यकारहरूमाझ मात्र होइन, आम नेपालीमाझ स्थापित भए। “पहिले पनि मलाई साहित्यकार भनेर चिन्थे, तर विसर्जनले मदन पुरस्कार पाएपछि घर घरमा चिन्ने बनायो,” उनी थप्छन्।

उनी राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदा मात्र होइन, २०४० सालमा पहिलोपल्ट प्रधानमन्त्री बन्दासमेत साहित्य लेखनमा सक्रिय थिए। कविता लेखनमा उनको ध्याउन्न यति गहिरो थियो, कुनै कार्यक्रममा सहभागी हुन जहाजमा उडेर जाँदै गर्दासमेत मनका भाव डायरीमा टिपिहाल्थे। फुर्सदको बेला ती शब्दलाई छन्दमा ढाल्थे। “राष्ट्रिय पञ्चायतको अध्यक्ष हुँदा लेख्न अलिकति मौका पाउँथेँ, प्रधानमन्त्री हुँदा खासै समय पाइनँ,” उनी भन्छन्।

रानी ऐश्वर्यलाई साहित्यमा विशेष रुचि थियो। चन्दको कविता लेखनबारे जानकार रानीले एकपल्ट पोखरा भ्रमणका क्रममा भन्न भ्याइन्, ‘पीएम! तिमी पनि कविता लेख्छौ। केही सुनाऊ न।’

“आग्रह गरेपछि सुनाउनु त पर्‍यो, सुनाएँ। तर, कुन कविता सुनाएँ, अहिले ठ्याक्क सम्झना छैन,” उनी भन्छन्।

चन्द आफ्नो लेखन थप फैलाउन मात्र सक्रिय छैनन्, समग्र नेपाली साहित्य अझ अघि बढे हुन्थ्यो भन्ने सदाशय राख्छन्। केही समयअघि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाली साहित्यको उत्थानका लागि प्रभावकारी कदम चाल्न सुझाव दिएर फर्किएका थिए। तर, जेन-जी आन्दोलनले ओलीको सत्ता गुम्यो। अहिले देश जेन-जीमय छ, तर साहित्यको उत्थानतर्फ कसैको ध्यान पुग्न नसक्दा उनी दुःखी छन्। भन्छन्, “नेपाली साहित्यको पुनरुत्थानका लागि कोही अगाडि आएनन् भने पनि तपाईंहरू (मिडिया) अगाडि उभिनुपर्छ। अनि मात्र नेपाली साहित्यको प्रभावकारिता स्थापित हुन्छ।”

जीवनको उत्तरार्द्धमा उनको इच्छा छ– एउटा राम्रो साहित्य नेपाली समाजमा पस्किएर जाने। त्यो साहित्य के हुन सक्छ, उनी खुलाउन चाहँदैनन्।

८५ वर्षको उमेरमा पनि नौजवानझैँ ऊर्जाशील भएर साहित्यमा सक्रिय भएका उनको समर्पणलाई मान्नैपर्छ। क्याबात बाह्रौँ खेलाडी!