पाँच पुस्तक
पहिलोपल्ट किताब पढ्दा मलाई उत्सुकता धेरै हुन्छ। अर्कोपल्ट पढ्दा सन्दर्भ व्यापक र फराकिलो हुन्छ। कहिलेकाहीँ सन्दर्भ साँघुरिन्छ पनि।
किताबले मान्छेलाई विगत र वर्तमानसँग जोड्ने रहेछ। किताब आफू, आफ्नो परिवेश र संसारबारे सोच्न-बुझ्न उत्प्रेरित गर्ने माध्यम पनि रहेछ। २०३२ सालदेखि जनता मावि इटहरीमा ८ कक्षामा पढ्न थालेपछि म पाठ्यक्रमभन्दा बाहिरका किताबसँग जोडिन थालेँ। हाम्रो स्कुलमा पुस्तकालय थियो। पुस्तकालयमा सदस्य भएपछि घर लगेर किताब पढ्न पाइन्थ्यो। सदस्यता लिएपछि कथा, उपन्यास, निबन्ध र कविताका किताब लगेर बिहान-बेलुका तिनै किताब पढ्थेँ।
केही वर्ष इलाम र भोजपुरमा मास्टरी गरेर कलेज पढ्न २०३८ सालमा विराटनगर पुगेँ। रात्रि कलेजमा नाम लेखाएँ। दिउँसो कोसी पुस्तक पसलमा काम गर्थें। ग्राहक बेलुकापख आउँथे, दिउँसो पसल खाली हुन्थ्यो। ग्राहक नभएका बेला घन्टौँ अध्ययनमै समय बिताउँथेँ। पढ्न थालेको किताब डेरामा लगेर राति पनि पढ्थेँ। यसरी स्कुल र पसलमा नयाँ नयाँ किताब पढ्दापढ्दै पढ्ने बानी लागेछ।
कति किताब साथीहरूले पढ्न सुझाउँछन्। किताबको समीक्षा र टिप्पणी पढेर पनि छनोट गर्छु। पुस्तक पसल सञ्चालकले पनि सिफारिस गर्छन्। छोरीले पनि पढ्ने किताब सिफारिस गर्छिन्। लेखक र किताबको नाम, किताबको आवरण र एकदुई पाना पल्टाएर पनि किताब छनोट गर्छु।
मन परेका किताब दोहोर्याएर पढ्ने सन्दर्भ सबैको जीवनमा आउँछन् जस्तो लाग्छ। पहिलोपल्ट किताब पढ्दा मलाई उत्सुकता धेरै हुन्छ। अर्कोपल्ट पढ्दा सन्दर्भ व्यापक र फराकिलो हुन्छ। कहिलेकाहीँ सन्दर्भ साँघुरिन्छ पनि।
आफूलाई प्रभाव पारेको किताबको अर्को फाइदा, यसले लेखकलाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै हिसाबले सघाउँछ। भाषा र शैलीमा त प्रभाव परी नै हाल्छ, किताबको संरचना निर्माणदेखि सम्पादनसम्मै सहज बनाउँछ।
१. स्पार्टाकस अथवा आदि विद्रोही
आदि विद्रोही अमेरिकी लेखक हावर्ड फास्टले लेखेको, हिन्दी भाषामा अमृत रायले अनुवाद गरेको र हंस प्रकाशनले छापेको किताब हो। आदि विद्रोही मैले चार दशकअघि हिन्दी भाषामा पढेको थिएँ।
स्वतन्त्रताको संघर्ष, वर्ग चेतना र वर्गीय संघर्षको कथा हो यो किताब। किताबमा प्राचीन रोमन साम्राज्यमा भएको ऐतिहासिक दास विद्रोहको कथा छ। यस विद्रोहका नायक थिए स्पार्टाकस। उनी ‘ग्ल्याडिएटर’ (तरबारबाजी गरेर मनोरञ्जन गराउने लडाकु) थिए। आफ्ना साथीसँग मिलेर मालिकविरुद्ध विद्रोह गरे। हजारौँ दासहरूको विशाल सेनाको नेतृत्व गरे। स्पार्टाकसको नेतृत्वमा दास सेनाले शक्तिशाली रोमन सेनालाई पटक पटक पराजित गर्यो।
यस किताबले रोमन शासक र दासहरूबीच रहेको वर्गीय खाडलको चित्रण गर्छ। स्पार्टाकस स्वतन्त्रता र समानताको प्रतीकका रूपमा चित्रित छन्। किताब श्रमजीवी वर्गको एकता र शक्तिको कथा हो। रोमन सेनाले विद्रोहलाई क्रूरतापूर्वक दबाउँदा स्पार्टाकस मारिन्छन्। तर, उनको मृत्युले दासत्वविरुद्धको लडाइँलाई अमर बनाउँछ। यो किताबले ‘जहाँ दमन हुन्छ, त्यहाँ विद्रोह हुन्छ’ भन्ने सन्देश दिन्छ।
२. परिवार, व्यक्तिगत सम्पत्ति र राज्यसत्ताको उत्पत्ति
फ्रेडरिक एंगेल्सले लेखेको र प्रगति प्रकाशन मस्कोले छापेको यो किताब पनि हिन्दीमा पढेको हो। यस किताबले मलाई परिवार, समाज र राज्य परिवर्तनशील संस्था हुन् भन्ने बुझायो। आदिम समाजमा मानिसहरू सिकार गर्थे र सामूहिक रूपमा बस्थे। पशुपालन र खेतीपाती सुरु भएपछि श्रम विभाजन भयो। त्यसपछि निजी सम्पत्तिको अवधारणा विकास भयो। निजी सम्पत्तिले धनी र गरिब अथवा वर्ग जन्मायो। निजी सम्पत्तिकै कारण वर्ग संघर्ष सुरु भयो। धनी वर्गले आफ्नो सम्पत्ति र अधिकार रक्षा गर्न राज्यको निर्माण गर्यो। यस किताबले महिला उत्पीडनलाई निजी सम्पत्तिको उदयसँग जोडेर हेर्छ। निजी सम्पत्तिको उदयलाई लेखक महिलाको ऐतिहासिक पराजय ठान्छन्। परिवार, सम्पत्ति र राज्य प्राकृतिक कुरा होइनन्, इतिहासको अनेक कालखण्डमा आर्थिक कारणले बनेका संरचना हुन् भन्ने कुरा बुझाउने किताब हो यो।
३.द प्राइभेट लाइफ अफ चेयरम्यान माओ
यो डा. ली झिसुईले लेखेको किताब हो। डा. ली सन् १९५४ देखि मृत्युसम्म (१९७६) चीनको कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्सेतुङका व्यक्तिगत चिकित्सक थिए। महान् क्रान्तिकारी र आदर्शवादी छविका नेता माओको व्यक्तिगत जीवनलाई लीले सबैभन्दा नजिकबाट बुझेका थिए। यस किताबमा लीले नजिकबाट देखेका माओको व्यक्तिगत जीवन चित्रण गरेका छन्। माओको जीवनशैली विलासी थियो। समकक्षी, कार्यकर्ता तथा जनताको दु:खप्रति उदासीन थिए। दाँत माझ्न, नुहाउन र सिलाएका लुगा लगाउन मान्दैनथे। किताबले चिनियाँ कम्युनिस्ट पार्टीभित्रको प्रतिस्पर्धा र षड्यन्त्रका अनेक कथा भन्छ। माओले विरोधीहरूलाई पाखा लगाउन र शक्तिमा टिकिरहन अपनाएका रणनीतिको वर्णन गर्छ।
यस किताबले माओ देवता समान ‘अमर नेता’ को सट्टा कमजोरी र दोषहरूले भरिएका मानिस हुन् भन्ने देखाउँछ। माओलाई आदर्श ठान्ने मानिसले यस किताबलाई प्रतिक्रियावादी हौवा ठान्छन्। सुरुमा मलाई पनि विश्वास गर्न गाह्रो पर्यो। तर, घटनाका मिति, तथ्य, स्केच र फोटाले पत्याउन बाध्य पारे। लेखाइका दृष्टिले समेत मलाई यो अब्बल किताब लाग्छ।
हावर्ड फास्टको स्पार्टाकस र एंगेल्सको परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति २०४० साल अघि पढेको थिएँ। कलेज पढ्थेँ, कम्युनिस्ट पार्टीमा सक्रिय थिएँ। वर्गचेत र साहित्यिक चेतनाले त्यस्तै किताब पढ्न प्रेरित गर्थे। नेपालमा कम्युनिस्ट नेता शासक हुन थालेपछि नेताहरूले माओबाट के सिकेछन् भन्ने रुचि लागेर एक दशकअघि द प्राइभेट लाइफ अफ चेयरम्यान माओ पढेँ।
४. सेपियन्स
युभल नोआ हरारीको सेपियन्स दुई कारणले मन पर्छ। पहिलो किताबले भन्ने कथा र दोस्रो कथा भन्ने लेखकको रमाइलो शैली।
यस किताबले पूर्वी अफ्रिकामा उदय भएको साढे दुई लाख वर्षमा होमो सेपियन्स कसरी पृथ्वीको सबैभन्दा शक्तिशाली प्राणी बन्यो भन्ने कथा भन्छ। हरारी मानव इतिहासलाई चार वटा क्रान्तिमा बाँडेर हेर्छन्।
संज्ञानात्मक क्रान्तिले मानिसलाई काल्पनिकीमा विश्वास गर्न सिकायो। काल्पनिकीले धर्म, राष्ट्र, पैसा र कानुन जन्मायो। कृषि क्रान्तिले सिकारी जीवन छोडेर खेतीपाती र पशुपालन सुरु गरायो। पैसा, धर्म र साम्राज्यले मानव जाति र संसारलाई एकताको सूत्रमा बाँध्यो। धर्म र जातभन्दा माथि उठेर पैसाले व्यापार फैलायो। साम्राज्यले संस्कृति र भूगोललाई राजनीतिक शक्तिभित्र ल्यायो। धर्मले मानिसलाई नैतिक नियममा बाँध्यो। वैज्ञानिक क्रान्तिले मानिसलाई धेरै कुरा थाहा छैन भन्ने कुरा स्विकार्न सिकायो। सेपियन्स मानव जातिको इतिहासको चाखका कारण पढेको हो। यो किताब मलाई मानिसले जनावरबाट देवता बन्न गरेको प्रयासको कथा हो भन्ने लाग्छ।
५. कृष्ण की आत्मकथा
मनु शर्माद्वारा लिखित कृष्ण की आत्मकथा आठ खण्डमा लिखित विशाल कृति हो। कृष्णलाई अहिले पनि धेरैले ‘ईश्वर’ मान्छन्। तर, यस किताबले कृष्णले जन्मदेखि गर्नुपरेका संघर्षको कथा भन्छ। संघर्षले कृष्णलाई कसरी दार्शनिक, चिन्तक, राजनीतिज्ञ र युगपुरुष बनायो भन्ने कथा। किताबमा कृष्ण आफैँले आफ्नो जीवन कथा भन्छन्। आफ्नो बाल्यकाल, गोपिनीहरूसँगको सम्बन्ध, मथुरा गमन र द्वारका निर्माणका अनुभूति पोख्छन्।
किताबमा कंशको अत्याचारबाट मथुरालाई मुक्त गर्न र पाण्डवलाई न्याय दिलाउन कृष्णले खेलेको भूमिकाको कथा गजब छ। राधा, रुक्मिणी, सत्यभामा र द्रौपदी जस्ता नारीहरूप्रति कृष्णको सम्मान र कृष्णको जीवनमा ती नारीको प्रभाव पनि किताबले बयान गर्छ। द्वापर युगको कथा भन्दा लेखकले आजको समाज, राजनीति र मानव स्वभावका जटिलतालाई कृष्णको माध्यमबाट चाखलाग्दो गरी प्रस्तुत गरेका छन्। किताबले कृष्णलाई आकाशको ईश्वरबाट धर्तीको मानवमा उतारेर त्यस समयका जुझारु र कर्मठ नायक बनाएको छ।
महाभारत पढ्दा मलाई सबैभन्दा धेरै कृष्णको बहुआयामिक चरित्र र कथाले प्रभाव पार्यो। एक दशकअघि कृष्णबारे लेखेका किताब खोज्दा कृष्ण की आत्मकथा लेखिएको थाहा भयो।