३ माघ २०८२
अ+
अ-

काठमाडौँ। चलचित्र ‘शिवांश’को गीत सार्वजनिक भएको छ। निर्माण पक्षले आज (शनिबार) युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।

‘बैंस भुसुक्कै…’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर छ। राजनराज र सरोज रञ्जितकारको शब्द रहेको गीतमा राजनराज स्वयंले संगीत भरेका छन्। लोकलयको प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग भएको छ। गाउँबेँसीमा प्रयोग हुने मिठासपूर्ण शब्द र लयले गीतलाई क्याची बनाएको छ।

प्रेमी र प्रेमिकाले एक-अर्कालाई गरेको तारिफ गीतमा छ। गीतमा भाग्य‚ मायामोह‚ प्रेम‚ आकर्षणलगायत छ। विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय छ।

महाशिवरात्रिको छोको पारेर चलचित्र ‘शिवांश’ १ फागुनमा रिलिज हुनेछ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोषकुमार आत्रेय छन्। यो उनको डेब्यु निर्देशकीय सिनेमा हो। निर्मातामा अञ्जान केसी छन्।

प्रवीण खतिवडा‚ तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। चलचित्रमा विकास जोशी‚ विमला लिम्बू‚ प्रदीपकुमार चौधरी‚ सबिर चुरौटे‚ उदयकुमार सुब्बा‚ टीका निरौलालगायत कलाकारको अभिनय छ। चलचित्रमा विमला लिम्बू‚ प्रदीपकुमार चौधरी‚ उदयकुमार सुब्बाको पनि अभिनय छ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका छन्। सिनेमाको सह-निर्मातामा शोभा भण्डारी र अनिश केसी बोगटी छन्। स्क्रिनप्ले बारत लिम्बूको छ।

चलचित्रमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ। राजनराज शिवाकोटी‚ मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ।