३ माघ २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा ३२ को वडा प्रशासकीय भवन बन्ने भएको छ। भवनको शनिबार शिलान्यास भएको छ।

आज महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाह र उपप्रमुख सुनीता डंगोलले भवनको संयुक्त शिलान्यास गरे। ४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ। भवन निर्माणका लागि बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एसोसिएट जेभीले ११ करोड ७९ लाख ३० हजार ५११ रुपैयाँमा निर्माणको जिम्मा पाएको छ। निर्माण पक्षसँग महानगरपालिकाले २९ पुस २०८२ मा सम्झौता गरेको हो। काम सम्पन्न हुने अवधि पुस मसान्त २०८३ सम्म छ।

शिलान्यासपछि आयोजित कार्यक्रममा प्रमुख शाहले लामो समयदेखिको प्रयत्नबाट वडावासीले सुविधा-सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताए। भवन निर्माणका लागि जग्गा खरिद गरेर सहरी योजना आयोगमार्फत डिजाइन गरिएको नक्साका आधारमा मालपोत‚ नापीजस्ता महानगरपालिकामा थपिँदै आउने सेवासमेत अट्न सक्ने भवन निर्माण थालनी हुनु वडावासीका लागि गौरवको क्षण भएको उनको भनाइ छ।

भवनको गुणस्तरको कुरा गर्दै उनले भने‚ “यसको गुणस्तरीयता कायम गराउन यहाँहरूले समय-समयमा आएर कसरी काम भइरहेको छ? योजनाअनुसार काम भएको छ कि छैन भनेर निगरानी गरिरहनुपर्छ।”

त्यसक्रममा उपप्रमुख डंगोलले वडा प्रशासनिक भवन निर्माण हुनुलाई भौतिक संरचनाका रूपमा मात्र नभइ विकेन्द्रीकरणको पूर्वाधारका रुपमा हेरेको बताइन्। “महानगरपालिकाभित्रका वडा प्रशासनिक भवनमध्ये यो सबैभन्दा ठुलो संरचना हुनेछ। यसका लागि धेरै लगानी हुनेछ। यो लगानीको प्रतिफलका रूपमा नागरिकका सेवाको अपेक्षालाई सरल, सहज, चुस्त र प्रभावकारी बन्ने अवस्थाको अपेक्षा गरेका छौँ‚” उनको भनाइ छ।

कार्यक्रममा वडाका अध्यक्ष एवं महानगरपालिकाको राजस्व समिति संयोजक नवराज पराजुलीले वडा प्रशासनिक भवन निर्माण हुनुलाई महत्त्वका साथ लिएको बताए। वडाले प्राथमिकतामा राखेर गर्नुपर्ने महत्त्वका थप पाँचवटा कामको सूची प्रस्तुत गरे। उनले भने‚ “तीनकुनेको मुआब्जा वितरण विवाद सुल्झाएर त्यस ठाउँमा सुन्दर पार्क बनाउनु‚ एयरपोर्ट क्षेत्रका घरहरूको पुनःमूल्यांकन गरेर व्यवस्थापन गर्नु‚ नदीकिनाराका अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउनु‚ जडीबुटी कोटेश्वर खण्डको सवारी चाप कम गरेर आवागमन सहज बनाउनुपर्ने र जडीबुटीदेखि पेप्सीकोलासम्म मेलम्चीको पाइपलाइन बिछ्याएर पानी वितरण प्रणाली मिलाउनु पर्नेछ। सरकारका वा महानगरपालिकामा जो आए पनि यी काम गर्नुपर्छ।”

सात हजार ७० वर्गफुटमा बन्ने भवनको भूमिगत तला पार्किङ प्रयोजनका लागि हुनेछ। २२ हजार २२९ दशमलव ८२ वर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला सात हजार २०३ वर्गफुटको हुनेछ।

भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार जमिन तला‚ पहिलो तला र दोस्रो तलाको क्षेत्रफल समान हुनेछ। भर्‍याङ छोप्ने भाग ६९० वर्गफुटको हुनेछ। भवनको बाहिर विश्राम स्थल‚ बगैँचा र भविष्यमा स्वास्थ्य प्रवर्द्धन केन्द्र निर्माण गर्न मिल्ने गरी अहिलेको भवन डिजाइन गरिएको श्रेष्ठको भनाइ छ।

परम्परागत शैलीमा डिजाइन गरिएको भवनमा दुईवटा लिफ्ट र दुईवटा भर्‍याङ हुनेछन्।

वडासचिव सुरेश दाहालका अनुसार भवन निर्माण गर्ने जमिन मनोहरा जग्गा एकीकरण आयोजनासँग करिब २८ करोड रुपैयाँ लागतमा खरिद गरिएको हो।