कञ्चनपुर। शुक्लाफाँटा नगरपालिका–९ स्थित बृन्दावन सामुदायिक वनले अतिविपन्न अवस्थाका बालबालिकालाई दुई वर्षदेखि निरन्तर रूपमा पठनपाठनमा सहयोग पुर्याउँदै आएको छ।
सामुदायिक वनले सामाजिक उत्तरदायित्वअन्तर्गत असिग्राम माध्यमिक विद्यालय र मङ्गल आधारभूत विद्यालयमा अध्ययनरत जेहेन्दार, अतिविपन्न, आदिवासी जनजाति तथा दलित समुदायका बालबालिकाका लागि छात्रवृत्ति र विद्यालय पोशाक खरिद गर्न नगद रकम प्रदान गर्दै आएको छ।
सामुदायिक वनका अध्यक्ष मोहनसिंह ऐरका अनुसार वनले गत वर्ष असिग्राम माध्यमिक विद्यालयलाई रु दुई लाख प्रदान गरेकामा यस वर्ष उक्त रकम वृद्धि गरी रु तीन लाख उपलब्ध गराएको छ।
गत वर्ष मङ्गल आधारभूत विद्यालयलाई पनि रु दुई लाख दिएका थियौँ, तर यस वर्ष रकम अभावका कारण सो विद्यालयलाई भने बजेट व्यवस्था गर्न सकिएन। विद्यालयलाई उपलव्ध गराउने रकमबाट झण्डै तीन सय बढी बालबालिका लाभान्वित भएका छन्।
सामुदायिक वनले काठ, दाउरा र घाँस बिक्रीका साथै वनभित्र रहेको तालमा माछापालन गरी आयआर्जन गर्ने गरेको छ। सोही आम्दानीको निश्चित हिस्सा शिक्षा क्षेत्रमा लगानी गरिएको अध्यक्ष ऐरले बताए।
वनको यो प्रयासले विद्यालयमा विद्यार्थीको टिकाउदर बढाएको छ। असिग्राम माध्यमिक विद्यालयका शिक्षक नैनसिंह ऐरले सामुदायिक वनको सहयोगका कारण आर्थिक अभावकै कारण विद्यालय छाड्नुपर्ने अवस्थाको अन्त्य भएको बताए। “पोशाक, शैक्षिक सामग्री र छात्रवृत्तिका लागि रकम पाउन थालेपछि विपन्न अवस्थाका बालबालिका बढी लाभान्वित भएका छन्”, उनले भने।
एक सय ९९ हेक्टर क्षेत्रफलमा फैलिएको यस बृन्दावन सामुदायिक वनमा छ सय ४३ उपभोक्ता घरधुरी आश्रित छन्। वन संरक्षणसँगै सामाजिक र शैक्षिक विकासमा यस वनले पुर्याएको योगदान अन्य सामुदायिक वनका लागि पनि उदाहरणीय बनेको छ।