काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

राजनीति

आइतबार दिनभर बस्न सकेन थापा नेतृत्वको संसदीय बोर्डको बैठक

४ माघ २०८२
नेपाली कांग्रेसका सभापति गगन थापा, शेखर कोइराला र शेरबहादुर देउवा
अ+
अ-

मनोनयनको समय छोटिइरहँदा नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचनतर्फका उम्मेदवारको सूची टुंग्याउन सकेको छैन। आइतबार बिहानैदेखि उम्मेदवारको सूची बनाउन लागिपरिरहेको भए पनि कांग्रेसले उम्मेदवार टुंग्याउन नसकेको हो। प्रतिनिधिसभाको उम्मेदवार छनोट गर्न सभापति गगन थापाको नेतृत्वमा १३ सदस्यीय संसदीय बोर्ड गठन गरिएको छ। आइतबार संसदीय बोर्ड दिनभर बस्न सकेको छैन।

सहमहामन्त्री डिला संग्रौलाका अनुसार सभापति थापासँग साँझसम्म भेट भएको छैन। सभापति थापासहित बोर्डका सदस्यहरू आन्तरिक परामर्श र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षसँग छलफलमा रहेको बुझिएको छ। तर, दुवै पक्षबीच भएको संवादबारे नेताहरूले आधिकारिक रूपमा बताएका छैनन्।

संग्रौलाका अनुसार हात्तीगौँडास्थित एक पार्टी प्यालेसमा सबै प्रदेशका प्रतिनिधिहरू छलफल गरिरहेका छन्। उनीहरूले सम्भावित उम्मेदवारको नामावली संकलन गरिरहेका छन्। ती नामहरूको टुंगो संसदीय बोर्डले लगाउँछ। “बोर्डको बैठक बस्न सकेको छैन, आज साँझसम्म उम्मेदवार छनोट टुंग्याउने कुरा थियो, भोलिसम्म टुंगो लाग्ला,” संग्रौला भन्छिन्।

विशेष महाधिवेशनबाट ३० पुसमा निर्वाचित सभापति थापाले आफ्नै नेतृत्वमा प्रतिनिधिसभाका उम्मेदवार छनोट गर्न बोर्ड गठन गरेका थिए। उम्मेदवार छनोटमा निवर्तमान नेतृत्वले ‘मनोपोली’ गरेको भन्दै थापाले निष्पक्षता र पारदर्शिताका लागि बोर्ड गठनको अवधारणा विशेष महाधिवेशनमै ल्याएका थिए।

अर्का सहमहामन्त्री फरमुल्लाह मन्सुरले आफूहरू बैठकमा रहेको बताए। “हामी बैठकमै छौँ, पछि कुरा गरौँला,” उनी भन्छन्।

थापाले आफू निर्वाचित भएपछि निवर्तमान केन्द्रीय समितिले पठाएको समानुपातिक सूची ग्रहण गरिसकेका छन्। उनले प्रतिनिधिसभाको उम्मेदवार छनोटमा पनि सबै पक्षलाई समेटेर जाने उद्घोष गरेका थिए। केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार नेताहरू देउवा र मध्यमार्गी धारका वरिष्ठ नेता शेखर कोइराला समूहलाई कसरी समेटेर लैजाने भन्ने विषयमा छलफल गरिरहेका छन्। “दुवै पक्षलाई समेटेर लैजानुपर्ने आवश्यकता छ, सभापतिले पार्टीलाई मिलाएर लैजाने भन्नुभएको छ, त्यसैअनुसार दुवै पक्षसँग छलफल गरेरै अगाडि जान्छौँ,” शिवाकोटी भन्छन्।

दुवै पक्षलाई समेट्ने प्रयासका बाबजुद आइतबार दिनभरि उम्मेदवारको छनोट प्रक्रिया अघि बढेन। आइतबार उच्च हिमाली र पहाडी जिल्लाका उम्मेदवारको अन्तिम टुंगो लगाइने शिवाकोटीले बताएका थिए। तर, साँझसम्म कांग्रेसले देशभरिका उम्मेदवार छान्न सकेन।

“संसदीय बोर्डले सोमबार मात्रै उम्मेदवारको टुंगो लगाउने जानकारी दिएको छ,” सहमहामन्त्री उदयशमशेर राणालाई उद्धृत गर्दै शिवाकोटी भन्छन्। राणा संसदीय बोर्डका सदस्य हुन्। यता, सभापति थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेता कहाँ के गरिरहेका छन् वा कांग्रेसका इतर पक्षसँग छलफलमा छन् या छैनन्, संग्रौला र शिवाकोटी दुवैले भन्न सकेनन्। यता, निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको मनोनयनको मिति केही समय लम्ब्याउन सक्ने हल्ला फैलिएपछि नेताहरूले राहत महसुस गरेका छन्।

कोइराला मेलमिलापमा, देउवा समूहमा कुरा पुगेन

नेपाली कांग्रेसका सभापति गगन थापा र मध्यमार्गी धार समातेका वरिष्ठ नेता शेखर कोइरालाबीच मेलमिलापको वातावरण तयार भएको छ। कोइराला समूह विशेष महाधिवेशनको परिवर्तित अवस्थामा पार्टी नेतृत्वसँग मेलमिलाप गर्दै निर्वाचनमा होमिन तयार भएको हो।

बत्तीसपुतलीमा कोइरालाले आफ्नो भेला राख्दै आइतबार प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी छनोट तथा उम्मेदवारलाई विजयी गराउन लाग्न निर्देशन दिए। कोइरालाले उम्मेदवार चयनको प्रक्रियामा सहभागी हुँदै उम्मेदवारलाई विजयी बनाउन लाग्न आफूनिकट नेता-कार्यकर्तालाई निर्देशन दिए। उनले भेलामा भने, ‘उम्मेदवार चयनको प्रक्रियामा सहभागी बन्न र उम्मेदवारलाई विजयी गर्न लाग्नुहुन म अनुरोध गर्छु। उम्मेदवारलाई विजयी गराउन अग्रणी भूमिका खेल्छु।’

धनराज गुरुङ, मीनेन्द्र रिजाल, जीवन परियार, बलबहादुर केसीलगायत आफूपक्षीय केन्द्रीय सदस्य, प्रदेशसभा सभापति, जिल्ला सभापतिसहित नेता-कार्यकर्ता उपस्थित भेलामा कोइरालाले आफू मध्यमार्गमा हिँडिरहेको र त्यो बाटो अत्यन्तै कठिन भएको बताएका थिए। ‘सत्यको बाटो अत्यन्त कठिन हुन्छ, तर जित सत्यको नै हुन्छ,’ कोइरालाले भनेका थिए।

बैठकमा सहभागी अधिकांश नेताले निर्वाचनमा जाँदा जनतासँग संवाद मात्र नभएर र पार्टीको मध्यमार्गी धारबारे बुझाउनसमेत सजिलो हुने भएकाले पन्ध्रौँ नियमित महाधिवेशनको अवसर सदुपयोग गर्न कोइरालालाई सुझाव दिएका थिए। बैठकमा वरिष्ठ अधिवक्ता उपेन्द्रकेशरी न्यौपानेले राजनीतिको प्रधानता जस्तोसुकै अवस्थामा जहिल्यै पनि रहने भएकाले निर्वाचनको बाटो तय गर्न सुझाव दिएका थिए। ‘नेपालको संविधानमा संसद् विघटन नहुने प्रावधान ल्याइएको छ। दुई दुईपटक विघटन गर्न पाइँदैन भनेर अदालतले भनेको छ। तर, सुशीला कार्कीको सरकार त देखियो। त्यसकारण राजनीतिको प्रधानता रहिरहन्छ। त्यसबाट बाहिर निस्केर कानुनी बाटो रोज्दा राजनीतिको प्रधानता सम्भव हुँदैन,’ न्यौपानेले भने, ‘अहिले अवैधानिक सरकारलाई वैधानिक बनाउन निर्वाचनको यात्रा तय गरिरहेका छौँ। वैधानिक नेतृत्व स्थापनाका लागि नियमित महाधिवेशनको यात्रा तय गर्न जरुरी छ। ती अवसर छोड्ने हो भने दुवै अवसरको प्रधानता गुम्न सक्छ।’

अन्तिममा कोइरालाले छोटो सम्बोधन गर्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए। उनले आफू उम्मेदवारलाई विजयी गराउने पक्षमा बलियो ढंगले प्रस्तुत हुने बताए।

तर, कोइराला-थापाबीच संवाद हुन सकेको छैन। “अहिलेसम्म के-कसरी उम्मेदवार छनोट गर्ने भन्ने सभापतिबाट कुरा आएको छैन, हामी आफैँ उम्मेदवारी माग्दै गएका छैनौँ,” पूर्वमन्त्री तथा सांसद डिगबहादुर लिम्बू भन्छन्। कोइराला मिलेर जान तयार भएको स्थितिमा सभापति थापासहितका पदाधिकारीले छलफल थाल्ने केन्द्रीय सदस्य शिवाकोटी बताउँछन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई आधिकारिकता दिँदै पार्टीको झन्डा र चुनावचिह्न दिइसकेको छ। देउवा समूह विशेष महाधिवेशन अवैधानिक भन्दै सर्वोच्च अदालतमा निवेदन दिन पुगेको छ। त्यही विषयमा केन्द्रित रहेर देउवा पक्षका नेताहरू आन्तरिक छलफलमा छन्। नेता रमेश लेखक भन्छन्, “थापाजीहरूले संवाद गर्ने भनेर जानकारी दिनुभएको छैन, सभापति-उपसभापतिकहाँ कुरा पुगेको मलाई थाहा छैन।