कञ्चनपुर। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताको संख्या यहाँ तीन लाख १४ हजार ३८५ रहेको छ। तीमध्ये महिला मतदाताको संख्या एक लाख ६० हजार ३१६ छ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराले महिला मतदाता एक लाख ६० हजार ३१६ छ भने पुरुष मतदाताको संख्या एक लाख ५४ हजार ६८ रहेको जानकारी दिए। उनका अनुसार महिला मतदाताको संख्या पुरुषको भन्दा छ हजार २४८ बढी हो।
जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि तीन वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको जनाउँदै क्षेत्र नं २ मा सबैभन्दा बढी एक लाख नौ हजार ५७४ मतदाता रहेका उल्लेख गरे। सबैभन्दा कम निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४ मतदाता छन्।
मतदाताको सङख्यालाई मध्यनजर गरी मतदान केन्द्र निर्धारण गरिएको सूचना अधिकारी महराले बताए। अघिल्लो निर्वाचनमा तीन सय ४६ मतदान केन्द्र रहेकामा यसपटक केन्द्रको सङ्ख्या बढाएर तीन सय ६० पुर्याइएको उनले जानकारी दिए।
कृष्णपुर नगरपालिकामा रहेका दुई वटा मतदानस्थलको स्थान परिवर्तन गरिएको छ । मतदानस्थल भने साविककै एक सय ३२ कायम गरिएको छ। निर्वाचन क्षेत्र नं ३ मा दुई वटा अस्थायी मतदान केन्द्र राख्नेबारे छलफल भइरहेको निर्वाचन कार्यालयका सूचना अधिकारी महराले बताए।
तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जानकारी दिँदै उनले कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने कार्य गरिएको बताए।