काठमाडौँ
००:००:००
४ माघ २०८२, आईतवार

४ माघ २०८२
अ+
अ-

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनका लागि एमालेबाट टिकट नपाएपछि केन्द्रीय सदस्य विष्णु रिजालले असन्तुष्टि जनाएका छन् ।

दैलेख-२ बाट पार्टीका कार्यकर्ता, जिल्ला र प्रदेश कमिटीको पहिलो रोजाइमा परे पनि नेतृत्वको निर्णयबाट उम्मेदवार बन्न नपाएको भन्दै उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् ।

उनले लेखेका छन्, ‘यसपटकको निर्वाचनमा म दैलेख–२ बाट नेकपा (एमाले)का कार्यकर्ताको रोजाइमा मतदानबाट पहिलो नम्बरमा सिफारिस भएको थिएँ । जिल्ला र प्रदेश कमिटीले पनि पहिलो नम्बरमै सिफारिस गरेका थिए । तर, तेस्रो पटक पनि नेतृत्वको रोजाइमा पर्न सकिएन ।’

उनले आफ्नो ठाउँमा टिकट पाएका नेतालाई कटाक्षपूर्ण ढंगले भनेका छन्, ‘आफू सात वर्षको हुँदा २०४३ सालमा प्रधानपञ्चबाट निर्वाचन लड्न थालेका अनुभवी लक्ष्मीप्रसाद पोखरेललाई फेरि टिकट पाएका छन्, पार्टीको आन्तरिक निर्वाचनमा आफ्नै क्षेत्रका अगुवा कार्यकर्ताको पहिलो रोजाइमा नपरे पनि, हालै सम्पन्न पार्टीको महाधिवेशनमा भारी मतका साथ पराजित भए पनि नेतृत्वको रोजाइमा पर्न सक्ने लक्ष्मीजीको अद्भुत क्षमताको प्रशंसा नगरी रहन सकिँदैन ।’

उनले भनेका छन्, ‘कसैसँग मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी हो भने यसमा भन्नु केही छैन । राजनीतिमा अगाडिबाट प्रतिस्पर्धा गर्न नसकेपछि व्यक्तिगत प्रतिष्ठामाथि आक्रमण गर्ने कायरहरुप्रति जति घृणा गरे पनि कमै हुन्छ ।’ उनले आफ्ना पक्षमा लाग्नेहरूलाई धन्यवाद र टिकट पाउन नसकेकामा निराश नहुन भन्दै क्षमा मागेका छन् ।