काठमाडौँ
००:००:००
६ माघ २०८२, मंगलवार

६ माघ २०८२
गणेशप्रसाद सिंह र शक्तिबहादुर बस्नेत। फाइल तस्बिर
अ+
अ-

सुर्खेत। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जाजरकोटबाट प्रतिनिधिसभा सदस्यका लागि शक्ति बस्नेतलाई टिकट दिएपछि केन्द्रीय आयोजक कमिटी सदस्यले राजीनामा दिएका छन्।

जाजरकोटबाट नेपाली कम्युनिस्ट पार्टी (पूर्वमाओवादी) का नेता रहेका गणेशप्रसाद सिंहले टिकट वितरणप्रति असन्तुष्टि जनाउँदै आफू केन्द्रीय आयोजक कमिटीको सदस्य तथा पार्टीको साधारण सदस्यसमेत नरहने घोषणा गर्दै राजीनामा दिएका हुन्। सिंह २०७४ मा कर्णाली प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी प्रदेशको जलस्रोत मन्त्रीसमेत बनिसकेका छन्।

गएको १० पुसमा भएको नेकपा जाजरकोटको बैठकमा शक्तिबहादुर बस्नेतले चुनावमा नउठ्ने घोषणा गरिसके पनि आसन्न निर्वाचनका लागि उनैलाइ टिकट दिनु अन्यायपूर्ण भएको सिंहले असहमति जनाएका हुन्। आसन्न प्रतिनिधिसभाका लागि सिंह पनि आकांक्षीका रूपमा सिफारिस भएका थिए। बस्नेतसहित रामदीप आचार्य, कृष्ण बीसी, पार्वती थापा र महेश अधिकारीको नाम पनि केन्द्रमा सिफारिस गरिएको थियो। तर नेकपाका संयोजक पुष्पकमल दाहालले बस्नेतलाई नै टिकट दिने निर्णय गरेका छन्।

सिंहले बस्नेतलाई निर्वाचनमा उठ्न टीका लगाएर आदेश दिनु, एउटै व्यक्तिले अध्यक्षस्तरबाट निरन्तर दबाब सिर्जना गर्नु पार्टी विधानविपरीत रहेको आरोप लगाएका छन्। “यस्तो स्वेच्छाचारी, मालिक-मुखिया प्रवृत्तिका निर्णयहरूले कार्यकर्तालाई रैती र दाससरह बनाउने प्रयास गरिएको छ। जुन पार्टीको विधान, सिद्धान्त र सामूहिक नेतृत्वको मर्मविपरीत छ,” उनले दाहाललाई सम्बोधन गरिएको आफ्नो असहमति पत्रमा लेखेका छन्, “यस किसिमका निर्णय, आदेश र प्रवृत्तिप्रति म घोर आपत्ति तथा असहमति प्रकट गर्दछु, यी सबै कारणले गर्दा म नेपाली कम्युनिसट पार्टीको केन्द्रीय आयोजक समिति सदस्यसहित पार्टीको साधारण सदस्यसमेत नरहेको औपचारिक जानकारी यसै पत्रमार्फत गराउँछु।’

बस्नेत साबिक नेकपा माओवादी केन्द्रमा रहँदा अध्यक्ष दाहालको निकट रहेर धेरै लाभ लिनेमध्येका एक नेता हुन्। उनी २०६४ यताका संविधानसभा र प्रतिनिधिसभा निर्वाचनमा निरन्तर टिकट लिएर सबै निर्वाचनमा निर्वाचित पनि भएका छन्। उनी गृह, ऊर्जालगायत थुप्रै मन्त्रालयको विभागीय मन्त्री पनि बनिसकेका छन्।