काठमाडौँ
००:००:००
७ माघ २०८२, बुधबार

आवरण

समावेशिताको मर्मविपरीत समानुपातिक सूचीमा सहरी र सुगम क्षेत्रका उम्मेदवार बढी

७ माघ २०८२
समानुपातिक बन्दसूचीमा काठमाडौँका उम्मेदवार राप्रपाकी खुस्बु ओली, रास्वपाका ज्ञानेन्द्र मल्ल, नेकपाका प्रमेशकुमार हमाल, कांग्रेसका हरिशरण नेपाली र एमालेकी लक्की शेर्पा
अ+
अ-

जनप्रतिनिधिमूलक संस्थालाई समावेशी बनाउने उद्देश्यले मुलुकले मिश्रित निर्वाचन प्रणाली अपनाएको छ। अन्तरिम संविधान, २०६३ बाट सुरु भएको यो व्यवस्थालाई २०७२ सालको संविधानले पनि निरन्तरता दिएको छ, जसअन्तर्गत पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र समानुपातिक प्रतिनिधित्व प्रणाली पर्छन्। समानुपातिक प्रणालीको अभीष्ट हो, उपेक्षित सीमान्तीकृत समुदाय र पिछडिएको क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्नु। तर, २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले बुझाएको समानुपातिकतर्फका उम्मेदवारको सूची हेर्दा सहरी र सुगम क्षेत्रकेन्द्रित देखिन्छ।

दलहरूले बुझाएका समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगले ४ माघमा सार्वजनिक गर्‍यो। समानुपातिकतर्फ दलले जातिगत ‘क्लस्टर’ मा ११० जनासम्म उम्मेदवार बनाउन पाउँछन्। निर्वाचनमा ५६ वटा चुनावचिह्नमा ६३ वटा दल प्रतिस्पर्धा गर्दै छन्। नेकपा (माले), नेकपा (संयुक्त), नेकपा (एमाले), नेकपा (माओवादी), नेपाली कम्युनिस्ट पार्टी, नेमकिपा, नेपाल सद्‍भावना पार्टी, नेपाली कांग्रेस, मंगोल अर्गनाइजेसन, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ११० जनाको सूची बुझाएका छन्।

समानुपातिक निर्वाचनका लागि यीसहित ६३ वटा दलका तीन हजार २१३ उम्मेदवार छन्। यी उम्मेदवारको विवरण केलाउँदा समानुपातिक सूचीमा गम्भीर असन्तुलन देखिन्छ।

सूचीमा सबैभन्दा बढी उम्मेदवार काठमाडौँ जिल्लाका छन्। तीन हजार २१३ उम्मेदवारमध्ये काठमाडौँ जिल्लावासी उम्मेदवार २३४ जना छन्। यसपछि दोस्रो नम्बरमा मोरङ र तेस्रोमा झापा जिल्ला छन्। मोरङका १३७ जना र झापाका १२६ जना समानुपातिक सूचीमा परेका छन्। चौथो नम्बरमा सुनसरी छ। विभिन्न दलबाट सुनसरीका १११ जना उम्मेदवार छन्।

यसपछि मधेस प्रदेशका जिल्लाहरू छन्। सप्तरी र सिरहाका ११०/११० जना, धनुषाका १०८ जना, सर्लाहीका १०५ जना, बाराका १०० जना उम्मेदवार छन्। सूचीमा सबैभन्दा कम मनाङ र रसुवाबाट तीन तीन जना परेका छन्।

महोत्तरीका ९५, रौतहटका ८८, रुपन्देहीका ८५, कैलालीका ८४, पर्साका ८१, बाँकेका ६७, ललितपुरका ६६, मकवानपुरका ६२ जना समानुपातिक सूचीमा परेका छन्। यस्तै, भक्तपुरका ५९, कपिलवस्तुका ५८, दाङका ५६, चितवनका ५३ र काभ्रेका ५१ जना उम्मेदवार छन्। १० भन्दा कम समानुपातिक उम्मेदवार हुने जिल्ला १० वटा छन्। जसमध्ये डडेल्धुरा, रुकुम पश्चिम र बैतडीका नौ नौ जना, रुकुम पूर्वका आठ, बैतडीका ६, मुस्ताङ, डोल्पा, डोटीका पाँच पाँच जना तथा मनाङ र रसुवाका तीन तीन जना छन्।

महिला उम्मेदवार पनि काठमाडौँकै बढी

तीन हजार २१३ उम्मेदवारमध्ये महिलाको संख्या एक हजार ८५५ छ। सबैभन्दा बढी काठमाडौँकै छन्। समानुपातिकमा काठमाडौँका २३४ उम्मेदवारमध्ये महिलाको संख्या १४३ छ। यो हिस्सा करिब ६० प्रतिशत हो। मोरङबाट ७६ जना महिला समानुपातिक उम्मेदवार रहेकामा महिलाको संख्या आधा छ।

दलितमा सप्तरी

दलित क्लस्टरमा ४४१ जना उम्मेदवार रहेकामा सबैभन्दा बढी सप्तरीका २० जना छन्। यस्तै, सप्तरीका छिमेकी जिल्लाहरू सिरहाका १३ जना, सुनसरीका नौ र उदयपुरका ६ जना परेका छ्न्।

यो क्लस्टरमा दोस्रो स्थानमा संघीय राजधानी काठमाडौँ नै छ। काठमाडौँका १८ जना, धनुषाका १७ जना, कैलालीका १५ जना र महोत्तरीका १४ जना उम्मेदवार छन्। तनहुँका ३४ जना उम्मेदवारमध्ये १२ जना दलित क्लस्टरका छन्। त्यस्तै, झापाका ११ जना र जुम्लाका नौ जना दलित छन्।

निर्वाचन आयोगले प्रकाशन गरेको समानुपातिक उम्मेदवारहरूको बन्दसूची :

मुस्लिममा चार जिल्लाबाट ४० प्रतिशत

मुस्लिम क्लस्टरमा २७ जिल्लाबाट १५३ जना समानुपातिक उम्मेदवार छन्। मधेसका चार जिल्ला बारा, पर्सा, रौतहट, सर्लाहीबाट ४० प्रतिशत उम्मेवार छन्। सबैभन्दा बढी बाराबाट १८ जना उम्मेदवार हुँदा पर्सा र रौतहटबाट १६/१६ जना छन्। त्यसपछि सुनसरी र बाँकेबाट १३/१३ जना, सर्लाहीबाट १० जना, रुपन्देही र कपिलवस्तुबाट नौ नौ जना उम्मेवार सूचीमा छन्।

थारूमा कैलाली पहिलो

समानुपातिक सूचीमा थारू क्लस्टरमा रहेका २१४ उम्मेदवारमध्ये सबैभन्दा बढी कैलालीबाट २९ जना उम्मेदवार छन्। यसपछि सप्तरीबाट २२ जना र दाङबाट २१ जना उम्मेदवार छन्। थारू घना बस्ती रहेको सुनसरी र बर्दियाबाट १६/१६ जना उम्मेदवार छन्। बारा र कञ्चनपुरबाट १२/१२ जना परेका छन्।

मधेसीमा धनुषाको अग्रस्थान

मधेसी क्लस्टरमा सबैभन्दा बढी उम्मेदवार धनुषाका छन्। यो क्लस्टरमा ५३८ उम्मेदवार रहेकामा ६६ जना धनुषाका छन्। यसपछि सप्तरीबाट ५४ जना, सिरहा र महोत्तरीबाट ५१/५१ जना छन्। यस्तै, सर्लाहीका ४९, रौतहटका ४७, बाराका ४६ र पर्साका ३८ जना उम्मेदवार छन्। हिमाली जिल्ला सोलुखुम्बुबाट मधेसी क्लस्टरमा एक जना उम्मेदवार छन्।

खस-आर्यमा काठमाडौँपछि झापा
खस-आर्य क्लस्टरमा काठमाडौँबाट ४६ जना उम्मेदवार हुँदा झापाबाट ३२ जना छन्। त्यस्तै, मोरङबाट २६ जना, कालीकोट र कैलालीबाट २०/२० जना उम्मेदवार छन्। चितवनबाट १९, बाँकेबाट १५ जना र अछामबाट ११ उम्मेदवार छन्।

निर्वाचन आयोगले क्लस्टर मिलाउने र उम्मेदवारी फिर्ता लिनेलगायत कार्य सकेर ४ माघमा समानुपातिकको बन्दसूची सार्वजनिक गरेको थियो। उम्मेदवारको योग्यता सम्बन्धमा दाबी-विरोध गर्न चाहने मतदाताले १० माघसम्म निवेदन दिन सक्ने आयोगले तोकेको छ। २० माघमा समानुपातिक सूचीको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ।