काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन दर्ता भएका उम्मेदवारहरूको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। आयोगका अनुसार देशभरका निर्वाचन क्षेत्रबाट दर्ता भएका कुल ३ हजार ४९० जनाको नामावली बुधबार प्रकाशन गरिएको हो।
निर्वाचन कार्यतालिकाअनुसार मंगलबार राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत मनोनयन पत्र दर्ता गराएका थिए। आयोगले प्राप्त विवरणको संकलनपछि उम्मेदवारहरूको सूची सार्वजनिक गरेको जनाएको छ।
आयोगका अनुसार यस निर्वाचनमा ६८ राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्ता भएको छ। सार्वजनिक गरिएको नामावलीमा दलगत र स्वतन्त्र दुवै प्रकारका उम्मेदवार समेटिएका छन्।