विराटनगर। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा चुनावी सरगर्मी बढेको छ। जेन-जी आन्दोलनपछिको परिवर्तित राजनीतिक परिवेशमा हुन लागेको यस निर्वाचनलाई मोरङमा परम्परागत र नयाँ दलहरूबीचको प्रतिस्पर्धाका रूपमा हेरिएको छ।
मंगलबार उम्मेदवारी मनोनयन सम्पन्न भएसँगै मोरङका ६ क्षेत्रमा ११८ जनाको दाबेदारी परेको छ। जसमध्ये केही निर्वाचन क्षेत्रमा पुराना प्रतिस्पर्धीबीच नै पुनः भिडन्त हुँदै छ भने कतै नयाँ अनुहारले स्थापित नेताहरूलाई कडा चुनौती दिँदै छन्।
सात लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा सबैभन्दा बढी क्षेत्र नम्बर ५ मा २२ जना र सबैभन्दा कम क्षेत्र नम्बर २ मा १७ जनाको उम्मेदवारी परेको छ।
क्षेत्र नम्बर १ : स्वतन्त्र उम्मेदवारको चुनौती
एक लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा १८ जना प्रतिस्पर्धामा छन्। यहाँ नेपाली कांग्रेसबाट खड्ग फागो र नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसाद साम्बा पहिलोपटक प्रतिनिधिसभाका लागि भिड्दै छन्। फागो उर्लाबारीका पूर्वमेयर हुन् भने साम्बा पूर्वप्रदेश सांसद।

मोरङमा कांग्रेसका उम्मेदवार
एमालेबाट घनश्याम खतिवडा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट यज्ञमणि न्यौपाने प्रतिस्पर्धामा छन्। पाँच जना स्वतन्त्र उम्मेदवारको उपस्थितिले यहाँको नतिजा प्रभावित पार्न सक्ने आकलन गरिएको छ।
क्षेत्र नम्बर २ : कांग्रेस एमालेमा नयाँ अनुहार
एक लाख २९ हजार १८४ मतदाता रहेको यस क्षेत्रमा २०७९ सालको निर्वाचनमा एमालेका ऋषिकेश पोखरेल निर्वाचित भएका थिए। उनले कांग्रेस उम्मेदवार सुजाता कोइरालालाई पराजित गरेका थिए।
यसपटक भने कांग्रेसबाट मीनेन्द्र रिजाल र एमालेबाट पोखरेलको साटो रंगेलीका निवर्तमान मेयर दिलीप बगडिया प्रतिस्पर्धामा उत्रेका छन्। रास्वपाका कृष्णकुमार कार्की र नेकपाका चन्द्रवीर राईसहित १७ जना प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा पुराना र नयाँ उम्मेदवारबीच रोचक भिडन्त हुने देखिन्छ।
क्षेत्र नम्बर ३ : शर्मालाई साख जोगाउने चुनौती
मोरङकै सबैभन्दा बढी (एक लाख ५८ हजार ५७) मतदाता रहेको यस क्षेत्रमा २१ जनाको उम्मेदवारी छ। कांग्रेसका सुनिल शर्मा आफ्नो बिरासत जोगाउने दाउमा छन्। यसअघि शर्मासँग पराजित एमाले नेता भानुभक्त ढकाल तेह्रथुम पुगेपछि एमालेले इरान राईलाई अघि सारेको छ।

मोरङमा एमालेका उम्मेदवार
रास्वपाका गणेश कार्की र नेकपाका देवेन्द्र साम्बाहाम्फेले शर्माको किल्ला भत्काउने रणनीति बुनेका छन्। सात जना स्वतन्त्र उम्मेदवार यहाँको अर्को निर्णायक शक्ति बन्न सक्छन्।
क्षेत्र नम्बर ४ : मोदीको बिरासत भत्काउने घिमिरेद्वयको दाउ
पूर्वमन्त्री एवं नेकपाका नेता अमनलाल मोदी यहाँ आफ्नो जितको सिलसिला जारी राख्ने दाउमा छन्। मोदीले २०७४ सालमा कांग्रेसका महेश आचार्य र २०७९ सालमा एमालेका विनोदकुमार ढकाललाई पराजित गरेका थिए। तर, कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र एमालेका जीवन घिमिरे उनको चुनौतीको रूपमा छन्।
यस्तै, रास्वपाका सन्तोष राजवंशी पनि मोदीका लागि चुनौतीपूर्ण देखिन्छन्।
क्षेत्र नम्बर ५ : मण्डलद्वयको भिडन्त
सबैभन्दा बढी २२ उम्मेदवार रहेको यस क्षेत्रमा गत निर्वाचनमा स्वतन्त्र जितेका योगेन्द्र मण्डल अहिले आफ्नै राष्ट्रिय ऊर्जाशील पार्टीबाट मैदानमा छन्। उनलाई नेकपाका शिवकुमार मण्डलले चुनौती दिँदै छन्।

मोरङका नेकपाका उम्मेदवार
यहाँ एमालेले १० वर्षपछि आफ्नै आधिकारिक उम्मेदवार मनोज अग्रवाललाई उठाएको छ। कांग्रेसका नयाँ अनुहार फूलकुमार लालवानी र रास्वपाकी आशा झाले यहाँको समीकरणलाई बहुकोणीय बनाएका छन्।
क्षेत्र नम्बर ६ : ‘हेभिवेट’ भिडन्त र रुविनाको इन्ट्री
विराटनगर महानगरपालिकाको मुख्य भाग समेटिएको यस क्षेत्रमा कांग्रेसका प्रभावशाली नेता शेखर कोइराला र एमालेका विनोद ढकालबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। क्षेत्र नम्बर ४ बाट ६ मा सरेका ढकाल कोइरालाको किल्ला भत्काउने दाउमा छन्।
यद्यपि, रास्वपाकी रुविना आचार्य, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता ओपेन्द्र रायको उम्मेदवारीले भने युवा र सहरी मतदाताको मत काट्न सक्ने देखिएको छ।
मोरङका ६ वटै क्षेत्रमा पुराना शक्तिहरूलाई नयाँ दल र स्वतन्त्र उम्मेदवारले कडा टक्कर दिने देखिन्छ। फागुन २१ को निर्वाचनले मोरङमा कसको वर्चस्व स्थापित गर्छ यो उनीहरूको राजनीतिक अजेन्डामा भर पर्नेछ।