काठमाडौँ
००:००:००
९ माघ २०८२, शुक्रबार

प्रतिनिधिसभा चुनाव

कालीकोटमा माओवादीको सशस्त्र युद्धका दुई सहकर्मी खड्कबहादुर विश्वकर्मा प्रकाण्ड र महेन्द्रबहादुर शाहीबीच चुनावी प्रतिस्पर्धा

९ माघ २०८२
खड्गबहादुर विश्वकर्मा (बायाँ) र महेन्द्रबहादुर शाही (दायाँ)। तस्बिर : नेपालन्युज।
अ+
अ-

२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा एक मात्र निर्वाचन क्षेत्र रहेको कालीकोटमा १० जना उम्मेदवार छन्। कालीकोटमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनयता नेकपा माओवादी (केन्द्र) बाहेकका उम्मेवारले जितेका छैनन्।

यसपालि पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवार छन्। विभिन्न वाम घटकबीचको एकतापछि पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नेकपामा ठूलो हिस्सा तत्कालीन माओवादीकै छ। २०७० सालयता निरन्तर चुनाव जितेका शाहीलाई यसपालि नेकपाका संयोजक प्रचण्डले टिकट थमाएर कालीकोट पठाएका छन्।

तर, आसन्न चुनावमा कालीकोटमा शाहीको प्रतिस्पर्धा युद्धकालका सहयात्री खड्गबहादुर विश्वकर्मा प्रकाण्डसँग हुने भएको छ। प्रकाण्ड विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट चुनावमा उत्रिएका छन्। विगतमा माओवादीको मत एउटै दलमा जाने गरेको थियो। यसपालि कालीकोटका माओवादीहरूको मत दुई जनाबीच विभाजन हुने भएको छ। २०७० सालपछिका सबै संसदीय निर्वाचनमा शाही उम्मेदवार बनेका छन् भने २०६४ सालको संविधानसभापछिका कुनै पनि चुनावमा प्रकाण्ड सहभागी छैनन्। १८ वर्षपछि उनी गृहजिल्ला कालीकोटमा विप्लव नेतृत्वको नेकपा (माओवादी)बाट दोस्रोपटक चुनावी मैदानमा उत्रेका छन्।

कालीकोटमा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्तापछि महेन्द्रबहादुर शाही। तस्बिर : महेन्द्रबहादुर शाहीको फेसबुक।

पहिलो संविधानसभामा प्रकाण्ड कालीकोटबाट २७ हजार ६२९ मत पाएर निर्वाचित भएका थिए। त्यसपछिका कुनै पनि निर्वाचनमा कालीकोटबाट कुनै उम्मेदवारले यति धेरै मत ल्याएका छैनन्। दोस्रो संविधानसभामा उनी उम्मेदवार बनेनन्। माओवादीले त्यस क्षेत्रमा महेन्द्रबहादुर शाहीलाई अघि सारेको थियो। शाही १० हजार ८४ मत ल्याएर त्यस क्षेत्रबाट निर्वाचित भएका थिए।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी-एमाले गठबन्धनबाट माओवादीका दुर्गबहादुर रावतले २१ हजार ११२ मत ल्याएर जिते। त्यसपछि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा माओवादी-कांग्रेसको गठबन्धनबाट शाही २३ हजार ७२७ मत ल्याएर चुनिए। कालीकोटमा प्रकाण्ड उम्मेदवार बनेपछि २०६४ सालको चुनावमा पाएको मतका आधारमा उनी बलियो उम्मेदवार हुन्।

कालीकोटमा एमालेबाट नगिन्द्र शाही उम्मेदवार छन्। तथापि, एमालेले कालीकोटमा प्रकाण्डलाई सघाउनेबारे आन्तरिक छलफल पनि गरिरहेको छ। एमालेले प्रकाण्डसँग सहकार्य गरेमा नेकपाका उम्मेदवार महेन्द्रबहादुर शाहीलाई आगामी चुनाव अरू कठिन हुन सक्छ। त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट हर्ष बम उम्मेदवार छन्।

नेपाली कांग्रेसका उम्मेदवार हर्ष बम

महेन्द्रबहादुर शाही र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड सशस्त्र द्वन्द्वकै बेला भूमिगत भएका हुन्। शाही पचालझरना गाउँपालिकाका हुन् भने प्रकाण्ड नरहरिनाथ गाउँपालिकाका हुन्। करिब एकै समयमा भूमिगत भएका उनीहरूबीच पार्टीभित्र अलग अलग जिम्मेवारी भए पनि घनिष्ठ सहकार्य थियो। माओवादीमा प्रकाण्ड सांगठनिक भूमिकामा हुँदा महेन्द्रबहादुर शाही सैन्य भूमिकामा थिए।

कालीकोटमा प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्तापछि प्रकाण्ड। तस्बिर : प्रकाण्डको फेसबुक ।

पार्टीमा लाग्नुअघि प्रकाण्ड शिक्षक थिए। शिक्षण पेसाबाट राजीनामा दिएर उनी २०५२ सालमा भूमिगत भएका हुन्। युद्धकालमा उनले माओवादीको कालीकोट, अछाम र बाजुराको जिल्ला सेक्रेटरी भएर काम गरेका थिए। त्यसपछि तीनै जिल्लाको इन्चार्ज भए। पछि उनी भेरी-कर्णाली इन्चार्ज हुँदै भेरी-कर्णाली जनसरकार प्रमुखसमेत भए। विस्तृत शान्ति सम्झौता भइसकेपछि पनि उनी भेरी-कर्णाली इन्चार्ज भएका थिए।

दोस्रो जनआन्दोलनपछि २०६२ सालमा गठन भएको अन्तरिम व्यवस्थापिकामा प्रकाण्ड सदस्य भए। त्यतिबेला उनी महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीसमेत बने। २०६४ सालको पहिलो संविधानसभा चुनावमा प्रकाण्डसँग एमालेबाट कुर्मराज शाही र कांग्रेसका हिक्मत विष्ट प्रतिद्वन्द्वी थिए। २०६४ सालको संविधानसभा चुनावपछि बनेको तत्कालीन माओवादी नेतृत्वको सरकारमा उनी नागरिक उड्डयन तथा पर्यटनमन्त्री थिए। दोस्रो संविधानसभाको निर्वाचन हुनुअघि २०६९ सालमा तत्कालीन माओवादीबाट मोहन वैद्य अलग हुँदा प्रकाण्ड उतै लागेका थिए भने वैद्यसँग नेत्रविक्रम चन्द विप्लव अलग हुँदा प्रकाण्ड विप्लवतिर लागेका थिए।

एमालेका उम्मेदवार नगिन्द्र शाही

यता, यसपालिको चुनावमा प्रकाण्डसँग प्रतिस्पर्धामा उत्रेका महेन्द्रबहादुर शाही द्वन्द्वकालमा माओवादीको कालीकोट जिल्ला कमिटी सदस्य थिए। २०५८ सालमा तत्कालीन जनमुक्ति सेनाको प्लाटुन कमिसार भएका उनी पछि जनमुक्ति सेनाको डिभिजन कमान्डरसम्म भए। दोस्रो संविधानसभा चुनावदेखि संसदीय राजनीतिबाट प्रकाण्ड अलग भएपछि भने शाही कालिकोटबाट निरन्तर उम्मेदवार भई विजयी हुने गरेका छन्। २०७० सालमा उनी संघीय सरकारमा ऊर्जामन्त्री पनि बने। २०७४ सालको चुनावमा चाहिँ उनी प्रदेशसभा सदस्य हुँदै नेकपाका तर्फबाट कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री भए। २०७९ सालको चुनावमा उनी फेरि कालीकोटबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भए।

रास्वपाका उम्मेदवार प्रकाश न्यौपाने

प्रकाण्ड र महेन्द्रबाहेक कालीकोटमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश न्यौपाने उम्मेदवार छन्। नेपाल मजदुर किसान पार्टीबाट नन्दबहादुर शाही, राष्ट्रिय जनमोर्चाबाट अजय गिरी पनि उम्मेदवार छन्। त्यस क्षेत्रबाट मानबहादुर तिरुवा र अस्मिनकुमार विष्ट पनि स्वतन्त्र उम्मेदवार छन्।