निबन्ध
महाराजले नगरकोटीलाई आफू नजिक बोलाउनुभयो। भन्नुभयो, ‘भन्, तेरो अन्तिम इच्छा के छ?’
(पाठकवृन्द, गत ९ पुसमा यहाँले ‘अनि नगरकोटी चंगा भए’ शीर्षकको निबन्ध पढ्नुभयो। छैन भने पहिला त्यो पढ्नुहोला, अनि यो दोस्रो भाग पढ्नुहोला – सम्पादक।)
‘एक जना विद्यार्थीका निमित्त नियम चेन्ज गर्न मिल्दैन, सर। भोलि अर्को कसैलाई एकै वर्ष सबै विषय पढ्न मन लाग्ला रे, पढ्न दिने?’
‘दुई वर्षमा २० वटा डिग्री दिँदा हाम्रो प्रतिष्ठित विश्वविद्यालयको गरिमा के हुन्छ, सर? ऊ पढ्न आएकै होइन। नौटंकी गर्न आएको हो। म त्यल्लाई राम्ररी चिन्छु। स्टन्टबाज हो त्यो।’
‘कि हामीले भर्ना लिनै हुन्थेन। लिइसकेपछि पढ्न त दिनुपर्छ। एक जना विद्यार्थी भर्ना नभइ’रा बेला ऊ आयो। कमसेकम हाम्रो नाक त जोगियो नि !’
‘केको नाक जोगियो? जागिर जोगियो भन्नुस् न।’
‘जोगाउँछ जागिर! स्थायी जागिरबाट कस्ले हटाउँदो रैछ, हेरौँ न।’
‘त्यही त, नपढाएको १२ वर्ष भो। हाम्रो जागिर सान्दार मःमझैँ सान्दार चलिराछ केरे।’
‘ऊ आउन त आयो, ऊ कुन पार्टीबाट आयो? कोबाट परिचालित छ ऊ? उसको विचारधारा के हो, पहिला त्यो स्पष्ट हुनुपर्छ।’
‘ऊ एमाले रहेछ भने पढाउँदिनँ म उसलाई।’
‘ऊ कांग्रेस रहेछ भने पढाउँदिनँ म उसलाई।’
‘ऊ माओवादी रहेछ भने पढाउँदिनँ म उसलाई।’
‘ऊ राजावादी रहेछ भने पढाउँदिनँ म उसलाई।’
‘ऊ रास्वपाको रहेछ भने हामी कोही पनि पढाउँदैनौँ उसलाई।’
‘जेन-जीहरूले पठाएको हुनुपर्छ, उसलाई। यही ताल हो भने कुनै दिन आगो लाउँछ उसले हाम्रा सबै विभाग।’
‘मलाई लाग्छ, हामी प्राध्यापकले पहिला उसलाई निकाल्नुपर्छ। विद्यार्थी पदबाट उसको सामूहिक राजीनामा माग्नुपर्छ।’
‘जबसम्म ऊ मूलधारका पार्टीमा स्पष्ट खुल्दैन, तबसम्म उसका लागि मेरो विभागको ढोका एक खुल्दैन, दुई खुल्दैन, तीन खुल्दैन, खुल्दै खुल्दैन।’
‘ऊ पढ्ने उद्देश्यले यहाँ आएकै होइन। स्ववियु चुनाव जितेर सभापति बन्ने उसको मक्सद हुन सक्छ, सर।’
‘हो, नयाँ नयाँ समूहले उसलाई यहाँ खटाएका छन् भन्ने यथार्थ र पर्याप्त सूचना छ सर मसँग।’
‘ऊ सधैँ कालो लुगामा हिँड्छ। ऊ हामीलाई (कालो) मोसो दल्न आएको हुन सक्छ, सर।’
‘एउटा होइन, दुइटा होइन, २०/२० वटा विषय कोही पढ्छ? नौटंकीबाज!’
‘सर, तपाईं ४० वटा काम गरिरहनुभएको छ। उसको रुचि २० वटा हुन सक्दैन र, सर? तपाईं विश्वविद्यालय, कलेज, स्कुल, चार एकेडेमी, साझा, दलहरू, संस्कृति मन्त्रालय, राष्ट्रिय सभा, भाषा आयोग, संस्थान, पाठ्यक्रम विकास केन्द्र, दलहरू, म्यानपावर, लेखक संगठन, प्राध्यापक संगठन, कन्सल्टेन्सी, ठेकेदारी, तस्करी, रेस्टुराँ, जग्गा, सिनेमा, दूतावास, घोस्ट राइटिङ, डायस्पोराको बोरा सबै बोकिरहनुभएको छ त।’
‘छोड्नुस् सर यस्तो कुरा। सके तपाईं पनि गर्नुस् ४० काम।’
‘हजुरको त नाम नै चक्रपार्टी चालीसे, हजुर चालीसमुखी प्रतिभाको धनी हुनुहुन्छ, सर। सानैदेखिको चिल्लो पात हुनुहुन्छ। हजुर पातले मात्र सक्नुहुन्छ सर, एउटै रिसर्च आर्टिकलविनै प्रोफेसर बन्न। हजुरहरूको लीला अपरम्पार छ, सर।’
‘हजुरहरू? को हजुरहरू? विदेशबाट पीएचडी गरेँ भनेर हामी यहीँ पढे–पढाएकालाई उम्रिँदै तीनपाते तँ पार्टटाइमले हेप्नी? हाम्रो भाग खोस्न आउनी, अझ उल्टै ठूलो कुरो गर्नी? सेवा आयोग दे न मात्रै, हामीले जान्या छ।’
‘काँ दिन पाउँछ यस्ले? सर्टिफिकेट इकुभ्यालेन्ट गर्न यिनीहरू सबलाई अड्काइदिसक्या छौँ। स्वदेशी विश्वविद्यालय छोडेर परायासित सर्टिफिकेट किनेर ल्याउने अनि जागिर चाहिँ देशमै चाहियो है?’
‘सर, हाम्रो कुलपतिज्यूले अस्ति हामी डेलिगेसन जाँदा राष्ट्रबाहिर पढेकालाई बाहिरै राख्न निर्देशन दिइसक्नुभएको छ।’
‘ठीक छ, तपाईंहरू हरेकचोटि चोरीको बात लागेका लागेका छानेर पदाधिकारी बनाइरहनुस्। विश्वविद्यालयबाट विश्व झिकेर नेपाल–विश्वविद्यालय पढाउनुस्। मोज गर्नुस्, सर।’
‘सरहरू, ठूलो स्वरमा चोरसोरको कुरा छोडौँ। नगरकोटीलाई कसरी रोक्ने, आजको मुख्य अजेन्डातिर आऔँ।’
‘मसँग छ सर, एउटा मास्टर प्लान।’
‘मास्टर साहबसित मास्टर प्लान हुने नै भो, भन्नुस्त सर।’
‘हाम्रा सबै विभागको प्रवेश परीक्षा एकै दिन एकै समय तोकिदिनुस्। कामै खत्तम!’
‘उत्तम, अति उत्तम।’
‘सरहरू, तपाईंहरू सबैको कुरा सुनेँ। अब मलाई सुन्नुस्। सबभन्दा पहिला त तपाईंहरूजस्तो विशिष्ट प्रोफेसरहरूले यस्तो चोरीसोरीको कुरा गर्न सुहाउँदैन। भन्नेले त के के भन्छन् भन्छन्, मलाई पनि चोर भनेका छन्। कुरा के भने, यत्रो गरिमामय सभामा यस्ता अप्राज्ञिक कुरा नल्याऔँ। तपाईंहरू सबैको कुरा सुन्दा नगरकोटीलाई भर्ना गर्ने वा नगर्ने विषय बडो संवेदनशील छ। यस्तो तरल भूराजनीतिक चपेटामा परेको, संविधान नै निलम्बित भएको अवस्थामा हामी एक्लैले यत्रो डिसिजन गर्नु खतरापूर्ण छ। यस विषयमा म कुलपति प्रधानमन्त्रीज्यू र सहकुलपति मन्त्रीज्यूको दर्शनभेटका निम्ति भोलि नै निवेदन गर्छु। अनि डिसिजन गरौँला हुन्न?’
०००
१०७ दिनपछि।
स्थान : बालुवाटार, कुलपति निवास।
सहभागी : प्रमुख दलका नेताहरू, सुरक्षा परिषद्का सदस्य, सर्वदलीय प्राध्यापक–लेखक संगठनका प्रतिनिधि, मन्त्री, सांसद, संसदीय सुनुवाइ समितिका सदस्य, विश्वविद्यालयका पदाधिकारी, कुमार नगरकोटीलगायत।
‘हात्ती पढेर ठूलो भाको हैन। गौतम बुद्धसित कुन विश्वविद्यालयको डिग्री थियो र? मेरै कुरा गर्नुहुन्छ भने केही नपढेर पनि यति धेरै विश्वविद्यालयको कुलपति पटक पटक हुन पाइएकै छ। तपाईंलाई यो उमेरमा, त्यो पनि २०/२० वटा किन पढ्नुपरो? यथार्थ बताउनुस् त कुमारजी।’
‘तपाईं त साहित्यकार होइन र? लेख्न थालेको २५ वर्ष भइसकेको छ भनेर मेरो पीएले तपाईंबारे बताएको थियो।’
‘त्यही त २५ वर्ष पुगेपछि त पच्चीसै विभागमै भर्ना भएको भए हुनेथियो। २० वटामा मात्र?’
‘कुमारजी, तपाईं संविधानविरोधी काम गरिरहनुभएको छ भन्ने उजुरी छ। हाम्रो संविधानको प्रस्तावनामै ‘नेपाल समाजवादउन्मुख’ भनिएको छ। तर, तपाईं त पुस्तकमा गम्भीर पुँजीवाद छिराइरहनुभएको छ। एउटै किताबको १० हजार मूल्य राख्नु अनि चार हजार तिराएर कविता सुन्न बोलाउनुलाई समाजवादी मान्ने र, कुमारजी?’
‘कुमारजी, तपाईं नेपालको मौलिकतामा प्रहार गरिरहनुभएको छ भन्ने गम्भीर सूचना हामीसँग छ। तपाईं आफ्ना किताबमा अंग्रेजी, हिन्दी, फ्रान्सेली, जर्मनजस्ता अनेक भाषा र शब्द धेरै प्रयोग गरेर नेपाली भाषा सिध्याउने अभियानमा हात धोएर लाग्नुभएको छ रे। अनि यी विदेशी शब्द लेख्दा हाम्रो देवनागरीमा नलेखी तिनीहरूकै लिपिमा लेख्नुपर्ने कारण के हो?’
‘सरले विदेशी भाषाको कुरा गर्नुभयो। उहाँ नेवार, तामाङ, मगर, थारू, भोजपुरीजस्ता अनेक आगन्तुक शब्द साहित्यमा हुलेर नेपाली भाषामा साहित्य लेखिन असमर्थ छ भन्ने सन्देश दिइरहनुभएको छ। देशको नाक भत्काउने यो खतरनाक सन्देशउपर चित्तबुझ्दो स्पष्टीकरण नआई हामी अघि बढ्नुहुन्न, सर।’

‘तपाईंले विश्वविद्यालयको साहित्य विभागमा आफ्नो रचना छिराउन लागिपरेको र त्यसका लागि केही प्राध्यापकलाई भनसुन, भोजभतेर र दानदक्षिणा गर्नुभएको भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाउँछ। त्यति गर्दा पनि आफू कोर्समा नपरेपछि विद्यार्थीका रूपमा भर्ना भएर बदला लिने हेतुले तपाईं विभागहरूमा प्रवेश गर्न चाहनुभएको हो भन्ने सूचना हामीसँग छ। यसको खण्डन गर्ने प्रमाण के छ तपाईंसँग ?’
‘पाठ्यक्रम सर्वदलीय हुनुपर्छ भन्ने सरहरूको आदेश छ। आफू कोर्समै छिर्न मन भए आजै कुनै दलको सदस्यता लिनुस्, थप कष्टै गर्नुपर्दैन त कुमारजी।’
‘कुमारजी, कुनै पनि देश सिध्याउने हो भने पहिला त्यसको भाषा र संस्कृति सिध्याइदिनुपर्छ भन्ने साम्राज्यवादी, विस्तारवादीहरूको औजारका रूपमा तपाईंले काम गरिरहनुभएको छ। तपाईंको लेखाइ, लगाइ, बोलाइ, बसाइ, हिँडाइ, हेराइ कुनै पनि विषय नेपाली संस्कार र परम्पराअनुरूप छैन। नेपाली भाषा र साहित्य बिगारेपछि अब शिक्षा पनि बिगार्न तपाईं देशी-विदेशी-प्रतिक्रियावादी तत्त्वहरूको ग्य्रान्ड डिजाइनअनुरूप विश्वविद्यालयमा खटिन लाग्नुभएको छ भन्ने अभियोग छ, के भन्नुहुन्छ?’
‘अँ, मलाई सम्झना भयो। कुमारजी सोकल्ड सेलिब्रिटी बन्नुअघि टाईधारी अंग्रेजी मास्टर हुनुहुन्थ्यो। यसबाट पनि स्पष्ट हुन्छ, उहाँको जन्म नै साम्राज्यवादीहरूको सेवा गर्न भएको हो, सर।’
‘हो त, हाउस अफ लर्डमा कविता सुनाउन यो त्यहाँ कसरी पुग्यो? न वडाको सिफारिस, न हाम्रो प्रधानमन्त्रीज्यूको स्वीकृति, न हामी एकेडेमिसियनको अनुमति, न पुलिस रिपोर्ट। राज्यका निकायको अनुमति र स्वीकृतिविना ऊ सुटुक्क बेलाइत पुगेर फर्केको हाम्रो रेकर्डमा छ, सर। यो राष्ट्रघाती नभई के हो त श्रीमान्?’
‘मेरो जानकारीमा त उहाँ नेपालको संवेदनशील सूचना विदेशमा बेच्ने सुराकी पनि हो। उहाँ राजधानीमा हुने हरेक पुस्तक पसल, कफी सप, आर्ट ग्यालरी, नाटकघर, सिनेमाघर, म्युजिक कन्सर्ट, पुस्तक विमोचन, आर्ट हब र हुँदाहुँदा घाटसमेत कतै पनि छुटाउनुहुन्न। एउटा बेरोजगार लेखक आफ्नो इच्छाले मात्र यो सब गर्न सक्छ र, सर? उहाँको जीवनशैली लेखक भन्न सुहाउने कदापि छैन, सर।’
‘उहाँ प्रायजसो पाटनका तान्त्रिक गल्लीमा हिँडिरहेबाटै पुष्टि हुन्छ, उहाँ देशका अमूल्य सम्पदाहरू, मूर्तिहरू, वास्तुकलाहरू पैठारी गर्ने देशद्रोही दलाल पनि हो, सर। बेचिएका, लगिएका मूर्ति फिर्ता गर्ने क्रममा हामीलाई के थाहा भयो भने, मूर्ति–निकासी गर्ने मूल चोर त यही नै रहेछ।’
‘हो सर, मूर्तिसित संगत गर्दागर्दा यो आफैँ मूर्ति बनिसकेको छ। यदाकदाबाहेक हर भेट र घाटहरूमा यो सधैँ मूर्तिवत् बसेको हुन्छ, सर। यसको गला र नाडीमा हेर्नुस् त, वास्तुकलाको बेइज्जत!’
‘सर, यो मान्छे मलाई पागल लाग्छ। एकपटक मैले यसलाई वसन्तपुरमा कुमारीघर घुरेर हेरिरहेको देखेँ। धेरै बेरपछि मैले सोध्दा यसले के भन्यो भने— यो सहरमा कुमारघर खै? मेरो घर खै?’
‘सर, यस्तो केरकारसभामा कविताजस्तो भावनात्मक कुरा नमिसाउनु नै वाञ्छनीय होला कि?’
‘मदन पुरस्कार, पद्मश्री पुरस्कारसमेत नपाएको लेखकको यत्रो फुर्तीफार्ती शंकाको घेरामा छ, सर। आफूलाई फुलटाइम फिक्सन डिजाइनर हुँ भन्या छ, तर अहिलेसम्म समोसा प्राज्ञसमेत हुन सक्या छैन। स्कुल, कलेजको कुनै कोर्समा छिर्न सक्या छैन। कुनै मामुली संस्थानको जीएमसमेत बन्ने औकात छैन। यस्तो नांगोबुंगो कथित सेलिब्रिटी साहित्यकारको भड्किलो जीवनशैलीको पछाडि एउटा बाक्लो, कालो र लामो कथा छ, सर। निष्पक्ष अनुसन्धान हुनेबित्तिकै सबै छर्लंग भइहाल्नेछ।’
‘त्यही त यो सच्चा लेखक हुन्थ्यो भने कि मेरो प्रगतिशील लेखक संगठनमा हुन्थ्यो कि उहाँ सरको नेपाली लेखक संघमा हुन्थ्यो। क्रान्तिकारी, जनवादी, समाजवादी, राजावादी कुनै पनि लेखक संगठनको उर्वर फाँटमा यो सदा अनुपस्थित छ, सर। बहुदलीय सिस्टमभित्र आबद्ध प्रतिबद्ध लेखक भएको भए यसको आम्दानी वैध मान्न पनि सकिन्थ्यो, सर। तर…’
‘तर के, नेपाली कुनै संगठनमा आबद्ध छैन भने कुरा स्पष्टै छैन र श्रीमान्? यो विदेशी गैससको एजेन्ट हो। यो डलर, युरो र भारुमा देशको अस्मिता साट्ने दलाल लेखनदास हो, सर।’
‘पुरानो सहकुलपति शिक्षामन्त्रीज्यूहरूलाई हटाएपछि हाम्रो समय धेरै बचत भएको छ, सर। सम्बोधन गर्दा ‘सर सर’ मात्र भने पुगेको छ। नत्र हामी ५६ जनाले ‘म्याडम म्याडम’ भन्नुपरेको भए राष्ट्रलाई दिनुपर्ने हाम्रो अमूल्य समय म्याम म्याममै बित्ने थियो। कुलपतिज्यूको यो समृद्धिमय दूरदर्शितालाई सलाम छ, सर।’
‘कुलपतिज्यू, मसँग अर्को गम्भीर सूचना पनि छ। उहाँको शैली जहिले पनि ‘हु केयर्स’ हो। उहाँ जहिले पनि कृष्णवस्त्र लगाउनुहुन्छ। यत्रो विद्वत् सभामा अब मैले थप बोलेर मेरो मुख र हजुरहरूको कान अपवित्र पार्नुपर्ला र? पहिलो लुसिफर त उहाँ नै हो नि। गनेस पौडेल, क्षमा गर्नुहोला खडकराज पौडेलमार्फत मेयर्सलाई हु केयर्स भन्न पनि उहाँले नै सिकाउनुभएको हो।’
‘कुमारजी, तपाईं स्थापित दलहरूको तेजोवध गर्न उभिएको पात्र होइन भन्ने के प्रमाण छ? अस्तिको आन्दोलनमा तपाईंको ‘दलमग्न दलदासहरू’ कवितांकित प्लाकार्ड हामीले धेरै ठाउँबाट जफत गरेका छौँ।’
‘कुमारजी, तपाईं आफूलाई होलटाइमर डिजाइनर अर्थात् बेरोजगार लेखक हुँ भन्नुहुन्छ। त्यत्रो बोराभरिको पैसा कहाँबाट आयो? तपाईंको सम्पत्तिको स्रोत नखुलेकाले अवैध कारोबारीको शंकास्पद सूचीमा पर्नुभएको छ। तपाईंले हाम्रो प्रहरी संगठन र राजस्व अनुसन्धान विभागलाई सहयोग गर्नुपर्ने हुन्छ, कुमारजी।’
‘त्यही त लेखेरै बोरा भर्यो भन्नलाई यसको लेखाइ सुबिन भट्टराईको जस्तो हातहातै बिक्ने पनि त होइन।’
‘सर, उहाँले गुफा भन्ने गरेको उहाँको कोठा खानतलासी गरिसकेका छौँ हामीले। थुप्रै आपत्तिजनक, अश्लील पुस्तक र पेस्तोल, पेन्टिङ र पेन्टी, म्यागेजिन र म्यागजिन, सिनेमा र सिरिजहरू बरामद गरेका छौँ सर हामीले। सिग्रेट र सी ग्रेडका किताबको त हिसाब नै छैन सर, कति कति! घाटस्थल, सरी घटनास्थलबाट हामीले एउटा शंकास्पद पेन ड्राइभ पनि फेला पारेका छौँ, सर। तर, त्यो खुलिरहेको छैन, सर।’
‘खुलिरहेको छैन भने त्यो पेन ड्राइभ पेन बम पनि हुन सक्छ। मैले सुनेको छु, उहाँ अझै पेनले पानामा लेख्नुहुन्छ रे।’
‘त्यही त आफूलाई केक्के न पोस्टमोडर्न राइटर भन्या छ, टाइप गराउने मान्छे खोज्दै हिँड्या छ। मलाई लाग्छ, यस्तालाई विश्वविद्यालय प्रवेश गर्न दिने हो भने त्यो चाँडै पागलखाना बन्ने निश्चित छ, सर।’
‘कुमारजी, संसारमै धेरै विद्यार्थीले पढ्न रुचाउने पहिलो ठूलो विश्वविद्यालय हौँ हामी। कार्यतालिकाअनुसार चल्ने संसारका टप विश्वविद्यालयमा पर्छ हाम्रो विश्वविद्यालय। हाम्रो विश्वविद्यालय प्रविधिमैत्री आधुनिक विश्वविद्यालय हो। हाम्रा सबै विभागको परीक्षा डिजिटल सिस्टमबाट अनलाइन मात्र हुन्छ। अब तपाईं हातैले लेख्नुहुँदो रहेछ, कसरी दिनुहुन्छ हाम्रा प्रवेश परीक्षा?’
‘बोल्नुस् कुमारजी, एक एक जवाफ दिनुस् अब,’ सभामा प्रधानमन्त्रीको छेवैमा बसेर मैले भनेँ।
फिक्का चिया पिएको भावमा फिक्का आँखा पनि नझिम्क्याई कुमार नगरकोटी तस्बिरवत् बसिरहे।
‘कुमारजी, एकछिन पख्नुस् त, तपाईंमाथि अर्को अभियोग पनि छ।’
‘तपाईं साहित्यकार भएको हुँदा हाम्रो पार्टीको लेखन फाँटका इमानदार कार्यकर्ता आजीवन प्राज्ञ प्रा.डा. बगरप्रसाद उपाध्यायजीले हामीलाई रिपोर्ट गर्नुभएको छ, तपाईं कम्युनिस्ट मेनिफेस्टो पढिरहेकाहरूलाई उडाएर दलाल पुँजीवादी कविता पनि लेख्नुहुन्छ रे। हाम्रो मेनिफेस्टोलाई त उडाउनुभयो उडाउनुभयो, बाहिरी दुनियाँका साहित्य पनि उडाएर लेख्नुहुन्छ रे। सम्पत्तिको पनि स्रोत नखोल्ने, साहित्यको पनि स्रोत नखोल्ने, तपाईंको के पारा हो, कुमारजी?’
‘प्राज्ञ बगरजीको पीएले मलाई भन्नुभएको थियो। उहाँले बाथ-टबमा हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको हत्या पनि गर्नुभएको थियो। उहाँलाई ज्यान मारेको अभियोगमा पनि थुन्न सकिन्छ, सर,’ मैले थपेँ।
‘भैगो, कालोवस्त्रधारीलाई स्रोत नखुलेको कालोधन आर्जनमै थुनिदिनुस्। कर्तव्य ज्यान मुद्दातिर जानै पर्दैन। म जिउँदै छु।’
‘अँ, अर्को पनि भन्दै हुनुहुन्थ्यो बगरजी। उहाँ लेखकका रूपमा जन्मेको हाम्रै एकेडेमीको पत्रिकामार्फत हो। तर, उहाँ अचेल हामीजस्तो सम्मानित प्राज्ञमा मनोनीत हुन नसकेपछि त्यही आफ्नो प्राचीनपथलाई अखिल नेपाल प्रज्ञा-प्रतिष्ठान भन्दै विरोध गर्नुहुन्छ। उहाँलाई राज्यद्रोहको मुद्दा पनि लगाउन सकिन्छ, सर।’
‘नयाँ नेता र दलहरूले आफू सत्तामा आएपछि कुमारजीलाई कुलपति, मनु मन्जिलजीलाई उपकुलपति र बुद्धिसागरलाई सदस्यसचिव बनाउने भद्र सहमति भइसकेको छ भन्ने सूचना हामीसँग छ, सर,’ फिक्का चिया सुरुप्प पारेर मैले कडा कुरा भनेँ।
हाम्रो प्राज्ञिक अस्तित्वमै सुनियोजित प्रहार हुन थालेको संकेत मैले कुलपतिज्यूसमक्ष स्पष्ट जाहेर गरेँ। उपस्थित सबैको नजर ममा परेबाट मैले यसलाई गम्भीर रूपमा लिइएको महसुस गरेँ। सबैको मनका कुरा सुनाएर मैले यसरी सबैको मन जितेँ।
‘बोल्नुस् कुमारजी, एक एक जवाफ दिनुस्,’ सभामा प्रधानमन्त्रीको छेवैमा बसेर मैले दोहोर्याएँ।
कुमार फेरि पनि केही बोलेनन्। बस्, ऊ बच्चुकैलाशवत् मौन बसे।
‘कुमारजीको हात मात्र चल्ने रहेछ। मुख चल्दै चलेन। आफ्नो त फेरि मुखै मात्र चल्ने। भन्छन्, मौनं स्वीकृतिः लक्षणम्। तर, उहाँविरुद्ध कारबाही चलाउनुपूर्व आज म एक निर्णय सुनाउँछु तपाईंहरूलाई। उहाँको बोराभरिको सम्पत्तिको स्रोत छानबिन गर्ने, उहाँ र सम्बन्धितसित बयान लिने तथा कारबाहीको सिफारिससमेत गर्ने गरी एक उच्चस्तरीय छानबिन समिति गठन हुन्छ…।’ बोल्दाबोल्दै कुलपतिज्यू अचानक श्री ३ महाराज जुद्धशमशेरमा कायान्तरित हुनुभयो। आत्मान्तरित चाहिँ हुनै परेन, किनकि आत्मा त उही थियो।
जुँगा मुसार्दै श्री ३ महाराज जुद्धशमशेरले अगाडि भन्नुभयो, ‘र, नगरकोटीलाई सजाय निर्धारण तथा छानबिन गर्न समिति गठन हुन्छ— आजको युगका कुशल नाट्यसम्राट्, चिन्तक, प्राज्ञिक प्रोफेसर चालीसे जो स्वयं चालीसमुखी प्रतिभाको धनी हुनुहुन्छ, उहाँको नेतृत्वमा समिति…’
उहाँको पवित्र मुखारविन्दबाट मेरो नामोच्चारण के भएको थियो, म त त्यहीँ बेहोसै भएछु।

ब्युझिँदा मैले आफूलाई श्री ३ महाराजको काखमा लेटिरहेको पाएँ। यसो छाम्छु, मेरा त दाह्रीजुँगा पनि गायब छन्। आफ्नै अनुहार एकदम चिल्लो मुलायम लागिरहेछ। आफैँलाई सुँघ्छु, क्रिमपाउडर-अत्तरको मगमग बास्ना आइरहेछ। म चौबन्दी दौरामा छु। ढाकाटोपीमा छु। बाक्लो फ्रेमयुक्त ठूलो चस्मामा छु।
आफ्नो हिरोवतार देखेर हाँसो उठ्यो। ‘हाहाहाहा’ गर्दै म हाँस्न सकिनँ। किनकि मलाई चाउरी पर्नु थिएन। सदाझैँ ‘होहोहोहो’ गरेर हाँस्न पनि सकिनँ।
तर, स्मरण रहोस्, यो ‘होहोहोहो’ ले मलाई एकसाथ दुई काम दिन्छ। मभित्र सबैसित मिल्न सक्ने महान् मिलनसार व्यक्तित्व छ। म कहीँकतै पनि कसैसित मत बझाउँदिनँ। र, मानिसहरू मेरो ‘होहोहोहो’ लाई आवश्यकताअनुसार हाँसो वा स्वीकार वा दुवै रूपमा ग्रहण गर्छन्।
श्री ३ महाराज युद्धशमेशरले आफ्ना जुँगा मुसार्नुभयो। छेउमै बसेको मलाई धाप मार्नुभयो। र, उहाँले थप भन्नुभयो, ‘यत्रो विद्वत् सभामा मैले अब लुकाउनु नै के छ र? एक जना विद्यार्थी लक्ष्मीनन्दन चालीसेले आईएको आफ्नो उत्तरपुस्तिकामा ‘म पृथ्वीनारायण शाहलाई मानिस ठान्दछु। उनी नभइदिएको भए यी नपुंसक राणाहरूको बीउ नै रहने थिएन’ भनेर लेखेछ। त्यो उत्तरपुस्तिका मसम्म लिएर आउने व्यक्तित्व उहाँ नै हुनुहुन्छ।’
महाराजले फेरि मलाई धाप मार्नुभयो। म धन्यधन्य भएँ।
महाराजले मतिरै फर्केर मेरो काँधमा हात राखिरहेरै थप बोल्नुभयो, ‘उहाँ कतिसम्म निडर र साहसी भने, भाषा प्रकाशिनी समितिमा सँगै कार्यरत आफ्नै सहकर्मी चक्रपाणिको त्यो छोरोलाई उहाँले यही अभियोगमा जेलमा जाकिदिनुभयो। उहाँ र मलाई नपुंसक भन्ने त्यो केटो केटौले उमेरमै नपुंसक मात्र भएन, के भयो?’
मतिर फर्केर महाराजले भन्नुभयो, ‘के भयो?’
नगरकोटीतिर फर्केर मैले भनेँ, ‘मर्यो मोरो।’
श्री ३ महाराजले अगाडि भन्नुभयो, ‘अनि मैले हाम्रो विरोध गर्ने ती चार युवालाई के सजाय दिने भनेर निर्णय गर्न पनि उहाँलाई नै जिम्मेवारी सुम्पिएँ। लेखक मानिस, उहाँले जिम्मेवारीपूर्वक सजायको आदेश सुन्दर अक्षरमा लेख्नुभयो।’
आफ्नो बखान सुन्दा को हाँस्दैन?
फेरि यो आख्यान पनि त थिएन।
‘होहोहोहो’ गर्दै म हाँसेँ/समर्थन जनाएँ।
महाराजको मन्तव्य प्रायः लामै जान्छ। गइरह्यो, ‘उहाँले हाम्रो सेवा आजपर्यन्त निःस्वार्थ रूपमा गरिरहनुभएको छ। हिजो मात्रै मेरा उखान-टुक्कामा पीएचडी गराउनुभएको छ। मेरा प्राज्ञिक मन्तव्यहरूको संग्रह निकाल्नुभएको छ। मेरा कवितालाई देवकोटाभन्दा उच्चस्तरका भनेर १०१ पृष्ठ लामो समालोचना लेख्नुभएको छ। यो आजको मिटिङ पनि उहाँले नै संयोजन गर्नुभएको हो। तपाईंहरू कोही माइकालाल हुनुहुन्छ, राष्ट्रहितमा यति साहसिक प्राज्ञिक कर्म गर्ने?’
यति भनेर महाराजले सबैको अनुहार निहार्दै लामो पज लिनुभयो।
महाराजले मलाई बोल्न संकेत गरेपछि मैले भनेँ, ‘श्री ३ महाराजकी जय! उहाँलाई स्वास्थ्यले त्यति साथ दिइरहेको छैन। तर, देशको चिन्ताले यो उमेरसम्म पनि यति धेरै चिन्तित होइबक्सन्छ कि राति दुई घण्टा मात्र सुतेर २२ घण्टा देशलाई दिइबक्सन्छ। महाराज ज्ञानको भण्डार होइबक्सन्छ। स्मरणशक्ति अझै उस्तै तेज छ। तर, पनि मेरोबारे महाराजले छुटाइबक्सेको एउटा सानो योगदान म निवेदन गरुँ कि महाराज?’
महाराजबाट मलाई आदेश प्राप्त भयो।
‘गंगालालहरूलाई सहिद बनाउनुपर्छ भन्ने निर्णय गर्ने समितिमा म पनि थिएँ। कुरा सत्य हो। तर, यति मात्रै सत्य होइन कि? सहिदको उच्च सम्मान हुनुपर्छ, उहाँहरूको योगदान जन जनले हर क्षण स्मरण गर्नुपर्छ भनेर त्यहाँ भद्रकाली र धरहराको बीचमा सहिदहरूको सालिक ठड्याउनुपर्छ भन्ने परिकल्पना पनि मेरै थियो। हैन र महाराज?’
‘त्यसै मैले तपाईंलाई चटकसम्राट् उपाधि प्रदान गरेको हुँ त?’ श्री ३ महाराज रोकिनुभएन, ‘शताब्दीऔँदेखि उहाँमा उस्तै जोस, जाँगर र आभा छ। यस्तो राष्ट्रगुरुले अब यो नगरकोटीउपर के कारबाही चलाउने, उचित निर्णय गर्नुहुनेछ। आफ्नो एकल इजलासका पुराना फैसला अर्थात् नजिरहरूको सूक्ष्म अध्ययन गरी तीसँग नबाझिने गरी फैसला गर्नुहुनेछ।’
सभामा लामो गडगडाहट छायो।
‘यहाँ ताली बजाउने मात्र हैन, नेतृत्वलाई परेको बखत गाली पनि दिने नि!’ महाराजबाट सकल दर्जाका हामी प्रोफेसर औ प्राज्ञहरूलाई निर्देशन बक्स भयो, ‘यहाँ उपस्थित सबैले समान धारणा बनाउनुहोला। छानबिन समिति संयोजकलाई हर हिसाबले सघाउनुहोला। किनकि, उपस्थित सबै ५५ जनालाई छानबिन समिति सदस्य बनाइदिएको छु।’
‘जो आज्ञा महाराज!’ निहुरिँदै सबैले सामूहिक शपथ लिनुभयो।
महाराजले नगरकोटीलाई आफूनजिक अगाडि बोलाउनुभयो। भन्नुभयो, ‘भन्, तेरो अन्तिम इच्छा के छ?’
सदाझैँ नगरकोटीको मुखबाट एक शब्द झरेन।
मोबाइल खेलाइरहेका महाराजका दृष्टि अचानक नगरकोटीको चिन्डे तालुमा परे। महाराजले नगरकोटीको तालुमा खोपिएको ट्याटु भर्खरै टिकटिक हेरेझैँ बडो गौड गरी हेर्नुभयो।
महाराजले नगरकोटीलाई निहुरिन आदेश दिनुभयो। अनि आफ्नो मोबाइल फोनले त्यो ट्याटुको फोटो खिच्न खोज्नुभयो। महाराजले ट्याटु नजिक मोबाइल के लिनुभएको थियो— मिटिङ हलको अगाडिको ठूलो सेतो पर्दामा अचानक यस्तो पो बग्न थाल्यो :
नगरकोटीकृत
पोर्न पोलिटिक्स विथ पोर्न प्रोफेसर & पोर्न प्राज्ञ
यस्तो खाले सिनेमाको सौखिन महाराजसहित हामी सबैका आँखा पर्दामा गडे। सबैले आफैँलाई देख्न थाल्यौँ। पात्रहरू हामी नै। संवाद सबै हाम्रै। दृश्य सब उही। लोकेसन यही मिटिङ हल। मिटिङ अघि जसरी सुरु भएथ्यो, उही रूपमा बग्न थाल्यो पर्दामा…।
फरक यत्ति कि— हामी सबै निर्वस्त्र।
महाराजले ट्याटु भनेर खिचेको त्यो खासमा क्युआर कोड पो रहेछ!