काठमाडौँ
००:००:००
१७ असार २०८३, बुधबार

फिल्म समीक्षा

बादी समुदायविरुद्धको ऐतिहासिक, आर्थिक, जातीय र यौन शोषणको मूल कारणमा फिल्म प्रवेश नै नगर्नु ठूलो कमजोरी

२९ बैशाख २०८३
अ+
अ-

प्रदर्शनको सँघारमा कानुनी अड्चन झेल्दै हलसम्म आइपुगेको लालीबजार यतिबेला चर्चामा छ। सार्वजनिक भएपश्चात् पनि यस फिल्मको प्रदर्शन रोक्नुपर्ने आवाज रोकिएको छैन।

लालीबजारको यो विवाद बुझ्नुअघि फिल्मको कथावस्तु बुझौँ।

कथाको केन्द्रमा पश्चिम नेपालको बादी समुदाय छ। वाद्य सामग्री बनाउने, नृत्य र संगीतमार्फत मनोरञ्जन प्रदान गर्ने बादी समुदायका युवतीहरू इतिहासको खास कालखण्डमा शासक वर्गको शोषणका कारण यौनकर्ममा लाग्न बाध्य बने।

यम थापा निर्देशित लालीबजारभित्रको लालीबजार यस्तै गाउँ हो, जहाँ सामन्त छोटे राजा साहेबसमक्ष बादी किशोरीहरूको कुमारीत्वको पहिलो लिलामी गरिन्छ।

फिल्मकी मुख्य पात्र मधुबाला (स्वस्तिमा खड्का) देहव्यापारलाई आफ्ना आमा, हजुरआमाहरूले निरन्तरता दिँदै आएको परम्पराको निरन्तरता ठान्छिन्। एक जना हुलाकी नारायण (विशाल देवकोटा)सँगको भेट, ती हुलाकीले साइकलको घण्टी बजाउँदै आएर आफ्ना लागि पढ्ने प्रेमपत्रले उनलाई फरक दुनियाँको झलक देखाउँछ। लालीबजारको अँध्यारो संसारभन्दा बाहिर निस्केर उज्यालो संसारमा बाँच्ने अभिलाषा जगाउँछ।

हुलाकी नारायणले मधुबालालाई प्रेम गरे पनि समाजले भने देहव्यापार गर्ने महिलाका रूपमा घृणा गर्छ। मधुबालाले नारायणसँग सुन्दर जीवन बिताउने अपेक्षाले घर छाडेको भोलिपल्टै सोच्दै नसोचेको तिरस्कार सामना गर्नुपर्छ। उनी निरीह भई लालीबजारमै फर्कन बाध्य हुन्छिन्।

सामाजिक पूर्वाग्रहले नारायण र मधुबालालाई दुईबाट एक हुन दिँदैन। तर, प्रेमको निसानीकी रूपमा जन्मेकी छोरी महारानीले मधुबाला र नारायणको प्रेमलाई मर्न दिँदैन। विभिन्न घटनाक्रमपछि आफूले भोगेको सास्ती र नरकपूर्ण जीवनको नकारात्मक असर नपरोस् भनेर मधुबाला छोरीलाई पढाउने निर्णय लिन्छिन्। सँगै, छोरीलाई देहव्यापारको चक्रबाट मुक्त पार्ने अठोट पनि। सारमा, लालीबजार आमा मधुबालाले छोरी महारानीलाई देहव्यापारको दुश्चक्रबाट मुक्त पार्दै शिक्षित र स्वतन्त्र बनाउन गरेको संघर्षको कथा हो।

तर, यसमा तगारो बन्छन् गाउँका राजासाहेब (रवीन्द्रसिंह बानियाँ), जसले सानैमा महारानीको उमेर पुगेपछि कुमारीत्व भंग गर्न पाउने सौदा गरिसकेका छन्। मधुबाला क्रूर राजासाहेबको छायाबाट छोरीलाई बचाउन सक्लिन् त भन्ने जिज्ञासासँगै कथा आफ्नो गन्तव्यतिर अघि बढ्छ। कथाको गन्तव्यमा पुग्ने जिम्मा दर्शककै भयो।

बर्दिया सेरोफेरोको परिवेश समेटिएको फिल्मले २०४५ सालदेखि २०५० सालको अन्त्यसम्मको समयलाई छोएको छ। कोठाका भित्तामा देखिने बलिउडका हिरो-हिरोइनका तस्बिरलाई फिल्ममा त्यस समयको परिवेश झल्काउने एउटा महत्त्वपूर्ण टुल बनाइएको छ, जुन सुन्दर छ। सुझबुझसहितको रंग संयोजनले रंगहीन र रंगीन दुई फरक संसार मात्र देखाएको छैन, दुई फरक कालको चित्रण पनि गरेको छ। गीतहरू पहिल्यै चर्चित भइसकेको यस फिल्मको पार्श्वध्वनि भने विशेष बन्न सकेको छैन।

मुख्य कलाकार स्वस्तिमाको अभिनयको प्रभाव फिल्मको सुरुदेखि अन्तसम्मै फैलिएको छ। सानी र किशोरवयकी महारानीदेखि हैजा र कोठारी पात्रसम्मको अभिनयले आकर्षित गर्छ। राजासाहेब बनेका रवीन्द्रसिंह बानियाँको हुलिया आतंकित बनाउने खालको त छ, तर फिल्मको अन्त्यसम्म आइपुग्दा उनको चरित्रले दर्शकलाई ‘मोनोटोनस’ बनाउँछ।

अब्बल अभिनय क्षमता प्रस्तुत गर्दै आएकी स्वस्तिमाका लागि लालीबजार यसअघिका बुलबुलचिसोमान्छेपछिको अर्को खुड्किलो मान्न सकिएला। तर, लालीबजारमा उनको चरित्र चित्रण फितलो छ। सरसर्ती हेर्दा सामन्ती प्रथा र पुरुषप्रधान समाजसँग विद्रोह गरेझैँ देखिने मधुबालालाई एकैपटक रुन्चे र विद्रोही देखाइनु विरोधाभासपूर्ण छ।

मधुबालाको एजेन्सी यति कमजोर छ कि उनले लिने महत्त्वपूर्ण निर्णयहरूमा उनी पुरुषप्रति आश्रित छिन्। जस्तै, कथाको केन्द्रमा आमा-छोरीको ममता, छोरीलाई शिक्षित र स्वतन्त्र बनाउन आमाले गरेको संघर्ष छ। तर, त्यही छोरी जन्माउने निर्णय लिनुअघि मधुबालाले गर्भ तुहाउने प्रयत्न गर्छिन्। छोरीलाई स्कुल पढाउने निर्णयको जस पनि नारायणलाई नै जान्छ।

बादी युवतीहरूलाई उनीहरूको इच्छाविपरीत भोगविलासको साधन बनाउने कुप्रथा र उत्पीडनका विषयमा फिल्म बनाउने कुरा सराहनीय हुने नै भयो। तर, यति संवेदनशील विषयमा बनेको फिल्मले कथालाई कति संवेदनशीलताका साथ चित्रण गर्‍यो, त्यसको मूल्यांकन हुनैपर्छ।

लालीबजार प्रदर्शनमा रोक लगाउने माग गर्दै विरोधमा उत्रिएका बादी समुदाय। तस्बिर : नेपाल फोटो लाइब्रेरी

विगतमा राज्यले गरेको शोषण र अपमानका विरुद्धमा बादी समुदायले पटक पटक विद्रोह गरेको छ। बादी समुदायलाई यौन व्यवसायसँग मात्र जोडेर हेर्ने दृष्टिकोणलाई बदल्न २०६४ सालमा लगातार ४८ दिनसम्म आन्दोलन भएको थियो। बादी महिला वा समुदायको यो विद्रोह र लालीबजारकी मधुबालाले फिल्मभित्र गरेको विद्रोहबीच धेरथोर तादात्म्य भेटिनुपर्थ्यो। तर, विडम्बना त्यो भेटिँदैन।

भन्नैपर्छ, मध्यान्तरअघिको लालीबजार निकै कमजोर छ। यो कमजोरी मधुबाला नारायणसँग भागेको दृश्यदेखि नै सुरु हुन्छ। नारायणसँग भागेर आफन्तको घरबाट अपमानित गरेर निकाल्ने दृश्य होस् वा नारायणले लालीबजार फर्केर मधुबालालाई भेटेका दृश्य, ती सबै ‘लाउड’ छन्। तैतै मध्यान्तरपछि फिल्मको लय सम्हालिन्छ। खासगरी, मधुबाला र उनकी छोरीबीचका आत्मीय सम्बन्धले धानेको छ। तथापि, रोनाधोना र अतिरञ्जित ‘मेलोड्रामा’ को सिलसिला फिल्मको अन्तिम फाइटसम्मै जारी रहन्छ। संवेदनशील समुदायको कथामा देखिने यस्तो अतिरञ्जनाले धेरै ठाउँमा बिझाउँछ। नारायणको ‘फ्ल्यासब्याक’ वाला केही दृश्य र आमा-छोरीबीचका केही आत्मीय क्षणले दर्शकलाई बाँध्छ। फ्ल्यासब्याकले जोडे जस्तै मधुबाला र नारायणबीचको सुरुआती भेटका दृश्यहरूले भने जोड्न सकेका छैनन्।

लालीबजारलाई कलात्मक हिसाबले भन्दा व्यावसायिक साँचोमा ढाल्ने प्रयास नै फिल्मको कमजोरी हो। बादी समुदायविरुद्धको ऐतिहासिक, आर्थिक, जातीय र यौन शोषणको मूल कारणबारे फिल्म प्रवेश नै नगर्नु झन् ठूलो कमजोरी।

बादी समुदायलाई विगतमा यौन व्यवसायको दलदलमा कसरी फसाइयो? यो समस्या स्थापित नगरी उनीहरूको उन्मुक्तिको चाहनाको कथा भन्न खोज्दा लालीबजारले ऐतिहासिक सामाजिक सन्दर्भ स्थापित गर्न चुकेको छ।

सम्भवतः यस्तै कारणले फिल्मविरुद्ध बादी समुदायका प्रतिनिधिहरू अदालत पुगे। सामाजिक सञ्जालमा असन्तुष्टि पोख्दै छन् र सडकमा धर्नासमेत बसेका छन्।

धर्ना फिल्मको विपक्षमा मात्र भएन। फिल्मका पक्षमा कलाकार तथा सर्जकहरूसमेत सडकमा ओर्लिए।

लालीबजार प्रदर्शनमा अदालतले लगाएको रोकको विरोधमा कलाकारहरू। तस्बिर : बिक्रम राई

बादी समुदायबारे रचिएका सिनेमा वा साहित्यबारे यसअघि पनि सर्जक र अभियन्ताहरूको मत बाझिँदै आएको छ। बादी समुदायकै कथा भनिएको दीपक वली निर्देशित पण्डित बाजेको लौरी, सरस्वती प्रतीक्षाको उपन्यास नथिया, विवेक ओझाको ऐलानी उपन्यास सार्वजनिक भएपछि पनि बादी अभियन्ताहरू २०७५ सालमा अदालत पुगेका थिए।

राजनीति होस् वा कला, प्रतिनिधित्वको सवाल आजको समयमा पेचिलो मुद्दा हो। त्यत्तिकै बलियो पक्ष सिर्जनात्मक तथा अभिव्यक्ति स्वतन्त्रता पनि हो। त्यसैले अहिले लालीबजारका पक्ष-विपक्षमा मतविभाजन हुनु स्वाभाविक हो।

अहिलेको बहस, विवाद र मतमतान्तरले एउटा प्रश्न सतहमा ल्याइदिएको छ– अभिव्यक्ति स्वतन्त्रतालाई सीमान्तीकृत समुदायको मुक्तिसँग कसरी जोड्ने?

लालीबजारले यस प्रश्नको कस्तो जवाफ दिन्छ, दर्शकको बुझाइ फरक फरक हुन सक्छ।