काठमाडौँ
००:००:००
१४ माघ २०८२, बुधबार

१४ माघ २०८२
निर्वाचन आयोग। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

काठमाडौँ। महोत्तरी, तनहुँ र सोलुखुम्बुका सुरक्षा निकायले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा संवेदनशील मतदानस्थल पहिचान गरी निर्वाचन आयोगलाई ती स्थानबारे जानकारी गराएको छ।

महोत्तरी, तनहुँ र सोलुखुम्बुबाट हाम्रा समाचारदाताले जनाएअनुसार सोलुखुम्बुका १२४ मतदानस्थलमध्ये १० मतदानस्थललाई अतिसंवेदनशील र ४१ मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ। महोत्तरीका २५२ मतदानस्थल संवेदनशील मानिएका छन्।

जिल्लाका २५८ मतदानस्थलमध्ये १६३ लाई अतिसंवेदनशील भनिएको छ। स्थानीय प्रशासनले तनहुँका आठवटा मतदानस्थललाई अतिसंवेदनशील, ५२ वटा मतदानस्थललाई संवेदशील मानेको छ।

महोत्तरी क्षेत्र नं. ३ र ४ केही मतदानस्थल भारतसँगको सिमाना नजिक छन् । तिनलाई अतिसंवेदनशीलको सूचीमा समावेश गरिएको छ।

क्षेत्र नं १ का ५९ मतदानस्थलमा १३० मतदानकेन्द्र र क्षेत्र नं २ मा ६२ मतदानस्थलमा १३३, क्षेत्र नं ३ मा ७७ मतदानस्थलमा १४२ र ४ मा ६० मतदानस्थलमा १३१ मतदानकेन्द्र रहने जिल्ला सुरक्षा समितिले जनाएको छ । अघिल्लो निर्वाचनमा ४९९ मतदानकेन्द्र थिए।

दुई निर्वाचन क्षेत्र कायम भएको तनहुँमा १४४ वटा मतदानस्थलमा ३०९ मतदान केन्द्र रहने छन् । सोलुखुम्बुमा ८५ हजार ५१५ र तनहुँमा दुई लाख ५४ हजार ३९७ मतदाता कायम छन्।

दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँ क्षेत्र नं १ मा एक लाख ३६ हजार ११८ र क्षेत्र नं २ मा एक लाख १८ हजार २७९ मतदाता कायम छन्।