निर्वाचन
सबै जिल्ला प्रशासन कार्यालयमा पत्राचार
काठमाडौँ। आचारसंहिताका उल्लंघनका घटना रोक्न र निर्वाचन आचारसंहिता परिपालनामा कडाइ गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ।
यसअघि १३ माघमा निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवं विश्वसनीय रूपमा सम्पन्न गर्न निर्वाचन आचारसंहिता २०८२ को जिल्लास्तरमा अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन जारी गरेको थियो। जसमा आचारसंहिता कार्यान्वयनको सुनिश्चितता गर्न ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिकबाहेक अन्य विषयमा र प्रमुख कोष नियन्त्रक/कोष नियन्त्रकहरूलाई आर्थिकसँग सम्बन्धित विषयमा फरक-फरक कार्य जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको थियो।
गृहले सम्बन्धित जिल्लाभित्र निर्वाचन आचारसंहिता कार्यान्वयनका विषयमा प्राप्त जिम्मेवारीअनुरूप नियमित अनुगमन गरी प्रभावकारी रूपमा पालना गर्ने कार्य गर्न/गराउन र भएका कामको मन्त्रालयमा नियमित प्रतिवेदन पठाउन जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको हो।
२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ४ माघदेखि आचारसंहिता लागु भएकामा त्यसको १० दिन नबित्दै केही राजनीतिक दलका वरिष्ठ नेताहरूलाई आचारसंहिता उल्लघंन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको छ।